विश्वव्यापी गैरआवासीय नेपाली संघ (जीएनआरएनए) हङकङको पहलमा हङकङका उद्यमी/व्यवसायी यतिखेर नेपालको भ्रमणमा छन्।
जीएनआरएनए हङकङका उपाध्यक्ष आकाश बन्जाराको नेतृत्वमा शुक्रबार हङकङबाट नेपाल आएको चिनियाँ व्यवसायी लगायतको टोली आज पोखरा पुगेको छ।
टोलीमा हङकङमा हस्पिटालिटी, ट्रेडिङ, सूचना प्रविधि (आईटी) लगायत क्षेत्रका व्यवसायी छन्।
‘परिवर्तनको लागि नयाँ सुरुआत’ भन्ने नारालाई अंगीकार गर्दै जीएनआरएनएले २० जना भन्दा बढीको टोलीलाई नेपाल घुमघामको पहल गरेको हो।
‘पर्यटक नेपाल भित्रिँदा एक त पर्यटन व्यवसायलाई टेवा पुग्छ नै,’ उपाध्यक्ष बन्जारा भन्छन्, ‘अर्कोतर्फ व्यवसायीलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सकियो भने यसले देशको आर्थिक उन्नतिमा पनि टेवा पुग्नेछ भन्ने उद्देश्य संस्थाले राखेको छ।’
नेपालमा वैदेशिक लगानीयोग्य क्षेत्रको सम्भाव्यता अध्ययनको सिलसिलामा टोली पोखरा पुगेको हो। पोखरापछि टोली कास्कीकै घान्द्रुक र त्यसपछि चितवन पुगेर काठमाडौँ फर्कनेछ। नेपालमा लगानी भित्र्याउनका लागि टोलीलाई जीएनआरएनए हङकङले पूर्ण सहयोग गर्ने उपाध्यक्ष बन्जारा बताउँछन्।
त्यसो त उपाध्यक्ष बन्जारा स्वयं पनि स्थापित व्यवसायी हुन्। हस्तकला सामग्रीका व्यवसायी उनको काठमाडौँमा फ्याक्ट्री छ भने यहाँ उत्पादित सामग्री विशेषतः भियतनाम, ताइवान, चीनको गोन्जाओ, थाइल्यान्ड लगायतका देशमा निर्यात हुने गरेका छन्।
शुक्रबार (१६ चैत) मा हङकङबाट काठमाडौँ प्रस्थान गरेको टोलीलाई जीएनआरएनए हङकङका संस्थापक त्रिलोक गुरुङ, अध्यक्ष पूर्णबहादुर राना, महासचिव सागर थापा लगायतले बिदाइ गरेका थिए।
Shares
प्रतिक्रिया