ad ad

छापा खबर


सुनकोसीमा बस दुर्घटना : १७ को मृत्यु, एकै गाउँका ८ जना

सुनकोसीमा बस दुर्घटना : १७ को मृत्यु, एकै गाउँका ८ जना

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ०:३१,

सुनकोसी नदीमा यात्रुवाहक बस खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेनजिकैबाट नदीमा खस्दा पाँच बालबालिकासहित १७ जनाको मृत्यु भएको हो। दुर्घटनामा ५१ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा १२ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए। १५ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो। नदीमा केही यात्रु बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरी अनुमान छ। बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको छ।

आइतबार साँझसम्म १० जनाको सनाखत भएको छ। दुर्घटनामा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ की ३० वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी, दोलखा भीमेश्वर नगरपालिका–९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३ की ५० वर्षीया रत्नकुमारी राउत, उनका २८ वर्षीय छोरा किरण राउत, सोही ठाउँकी तीन महिनाकी शिशु सिसन तामाङ, शैलुङ –५ का रितेश खड्का र शैलुङ–७ की कविता राउतको घटनास्थलमा मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए । ४ महिला र ४ पुरुषको सनाखत हुन सकेको छैन।

बनेपास्थित सिर मेमोरियल अस्पतालमा शैलुङ–४ की ६ वर्षीया बालिका सलिना तामाङ र धुलिखेल अस्पतालमा ५२ वर्षीया चेतकुमारी बस्नेतको मृत्यु भएको थियो।

घाइते ५१ जनालाई धुलिखेल अस्पताल लगिएको छ। गम्भीर दुईजनालाई काठमाडौं रिफर गरिएको धुलिखेल अस्पतालले जनाएको छ। चालक धनबहादुर श्रेष्ठ गम्भीर घाइते छन्।

उद्धारका लागि रिसोर्टका र्‍याफ्टिङ बोट पनि प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए। साँझसम्म खोजी जारी राखिएको छ।

एकै गाउँका ८ जनाको मृत्यु
बस दुर्घटनामा दोलखाको एकै गाउँका ८ जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका–५ काटाकुटी गाउँका ८ जनाको मृत्यु भएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए। घटनाको जानकारी पाएलगत्तै सुकुटे पुगेका अध्यक्ष दुलालका अनुसार काटाकुटी गाउँका ८ जनाको मृत्यु भएको हो। ‘गाउँबाट फोन आउँदा सबैको रुवाबासीमात्र सुन्छु’, अध्यक्ष दुलालले मलिन स्वरमा भने ।

‘घाइते र शव खोज्दै दिनभर कहिले सुकुटे, कहिले धुलिखेल पुगेँ। सिन्धुपाल्चोकको बाह्रविसेमा थप शवको पहिचान गर्न जाँदै छु,’ उनले भने। शैलुङ गाउँपालिकाकै मागापौवाका २ जनाको पनि मृत्यु भएको उनले भने। युवराज पुरी (सिन्धुपाल्चोक) र रवीन्द्र गौतम (गोरखा) ले लेखेका यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

सनाखत भएका मृतक
त्रिपुरासुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी ३० वर्षीया चमेली श्रेष्ठ, त्रिपुरासुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोककी ६ वर्षीय शाइरानी श्रेष्ठ, भीमेश्वर नगरपालिका–९, दोलखाकी २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका–३,दोलखाकी ५० वर्षीया रत्नकुमारी राउत, शैलुङ गाउँपालिका–३,दोलखाकी २८ वर्षीय किरण राउत, शैलुङ गाउँपालिका–३,दोलखाका तीन महिने शिशु शिषन तामाङ, शैलुङ गाउँपालिका–५, दोलखाका रितेश खड्का, शैलुङ गाउँपालिका–७,दोलखाकी कविता राउत, शैलुङ गाउँपालिका–४, दोलखाकी ६ वर्षीया बालिका शलिना तामाङ र ५२ वर्षीया चेतकुमारी बस्नेतको ठेगाना खुल्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .