ad ad

छापा खबर


रमण श्रेष्ठको तर्क : निर्दोष आलमलाई फसाउन राज्य, मिडिया र सामाजिक सञ्जाल सबै लागे

 रमण श्रेष्ठको तर्क : निर्दोष आलमलाई फसाउन राज्य, मिडिया र सामाजिक सञ्जाल सबै लागे

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १:३०,

इँटाभट्टामा जिउँदै मान्छे जलाउने गम्भीर अपराधमा संलग्न मोहम्मद अफ्ताब आलमको पक्षमा बहस गरिरहेका नेपाल बारका पूर्वमहासचिव रमण श्रेष्ठले आलमलाई फसाउन राज्य, मिडिया र सामाजिक सञ्जाल योजनाबद्ध ढंगले लागेको जिकिर गरेका छन्।

पटकपटक चुनाव जितेर मन्त्री भएका लोकप्रिय नेता आलमलाई राजनीतिक रूपमा हराउन नसकेपछि विरोधीहरूले बम विस्फोट गराएर हत्या गरेको झुटा तानाबाना बुनेको श्रेष्ठले दाबी गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

‘आलम पटकपटक चुनावबाट निर्वाचित भए । मन्त्री भए । उनका विरोधीले यो देख्न सकेनन् । राजनीतिक रूपमा हराउन नसकेपछि आलमलाई फसाउन झुटा घटना रचना गरियो । त्यसैले विस्फोटको घटना नै पूरापूर झुटा र काल्पनिक हो । तानाबाना बुनिएका हुन्,’ बुधबार जिल्ला अदालत गौरमा आलमको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले भने।

बुधबार वरिष्ठ अधिवक्ता श्रेष्ठसँगै अधिवक्ताहरू सञ्जीवकुमार मल्लिक, अजय पटेल र लालबाबु यादवले आलमविरुद्ध राज्य लागेको र मिडिया प्रयोग भएको तर्क गरेका थिए ।

काठमाडौंबाट गएका वरिष्ठ अधिवक्ता श्रेष्ठले एक घन्टा राज्य, मिडिया र सामाजिक सञ्जालविरुद्ध बहस गरे ।

‘आलमविरुद्ध मिडिया प्रयोग भयो । सामाजिक सञ्जाल पनि त्यत्तिकै प्रयोग भयो । मिडिया र सामाजिक सञ्जाल मुद्दा प्रभावित गर्न लागे । राज्यले यसमा उनीहरूलाई साथ दियो । एउटा व्यक्तिविरुद्ध मिडिया, सामाजिक सञ्जाल र राज्य प्रयोग हुनु गलत हो । यसरी मुद्दा प्रभावित तुल्याउनु गलत हो,’ श्रेष्ठले भने।

त्यसपछि बल्ल उनी बम विस्फोटको विषयमा प्रवेश गरेका थिए । उनले २७ चैत ०६४ मा राजपुरमा बम विस्फोट नै नभएको दाबी गरे । विस्फोट नै नभएकाले आलममाथि लागेको व्यक्तिहत्याको आरोप झुटो रहेको तर्क पेस गरे ।

‘बम विस्फोट भएको ठाउँ कहिले घर भनिएको छ । कहिले गोठ भनिएको छ । यो विषय नै विवादित देखियो । फसाउन खोजिएकोजस्तो देखिन्छ,’ श्रेष्ठले अगाडि भने, ‘विस्फोटका घटना नै नभएको पाइएपछि यस्ता तानाबाना बुनिएको देखिन्छ । विस्फोट नभएपछि कसरी हत्या हुन्छ रु यो सबै झुट हो । आलमलाई फसाउन खोजिएको हो।’

एक बजे सुरु भएर ३ बजेसम्म बहस गरेका उनले पटकपटक चुनाव जितेका र मन्त्री भएका लोकप्रिय नेता आलमको इष्र्या गर्नेहरू उनको पृष्ठभूमि सक्न षड्यन्त्रमा उत्रिएको श्रेष्ठको तर्क थियो ।

बहसमा उत्रिएका अन्य अधिवक्ताले पनि आलमविरुद्ध ‘मिडिया ट्रायल’ भएको तर्क गरेका थिए । उनीहरूले पनि विस्फोट नै नभएको र कसैको हत्या नभएको भन्दै आलमको बचाउ गरे ।

बम विस्फोटका घाइतेलाई समेत इँटाभट्टामा हालेर जलाएको अभियोग लागेका आलमको पक्षमा बारका तीन पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी तथा पूर्वमहासचिवद्वय रमण श्रेष्ठ र सुनील पोखरेलसहित ३३ अधिवक्ताले वकालतनामा भरेका छन् ।

मंगलबार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, यदुनाथ खनाल र सतीश झाले बहस गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .