ad ad

छापा खबर


कोही किन भ्रष्ट हुन्छ? यसो भन्छन् मनोविद्

कोही किन भ्रष्ट हुन्छ? यसो भन्छन् मनोविद्

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार १:३७,

बेलायती इतिहासविद्, लेखक तथा राजनीतिज्ञ जोन एक्टनको प्रसिद्ध कथन छ, ‘शक्ति (सत्ता) भ्रष्ट हुन्छ, पूर्ण शक्तिले पूर्ण भ्रष्टाचार गर्छ।’

यहाँ एक्टनले भनेको शक्ति सत्ता वा पदको हो । पदमा नरहँदा इमानदार लाग्ने हाम्रा नेता र कर्मचारी जति माथिल्लो निकायमा पुग्छन्, उति भ्रष्ट हुने सम्भावनाबाट गुज्रिन्छन्। यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्।

अघिल्लो साता मात्रै पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार मन्त्रीविरुद्ध अख्तियारले ललिता निवास प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर गर्‍यो । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीविरुद्ध अकुत सम्पत्तिको अनुसन्धान गर्न प्रतिनिधिसभा राज्यव्यवस्था समितिले गत साता मात्रै सरकारलाई सिफारिस गरेको छ।

यो प्रसंग सेलाउन नपाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ घूस मागेको अडियोले बजार तताएको छ।

आमबुझाइ के छ भने, गच्छदार र बाँस्कोटाहरू मौका, परिस्थिति बिग्रनाले उजागर हुन पुगेका भ्रष्ट प्रवृत्तिका पात्र मात्रै हुन्, छानबिन हुने हो भने पद दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउनेहरूको सूची धेरै लामो हुन्छ।

बाँस्कोटाले केही दिनअघि मात्रै संसद्मा आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताएका थिए । बोली र व्यवहारमा यस्तो अन्तर आउनुलाई मनोविज्ञानले एक विकारका रूपमा अर्थ्याउने गरेको छ ।

‘परिवार चलाउन र सामान्य जीविकोपार्जन गर्न खाइपाइ आएको तलबले नपुगेर कसैले बाध्यतावश केही पैसा गडबडी गरेर कमाउँछ भने त्यो सामान्य मानवीय प्रवृत्ति हो,’ मनोविद् भरत गौतमले भने, ‘तर भोग गरेरै नसकिने करोडौं सम्पत्ति जोड्न खोज्नुचाहिँ मानसिक विकार हो जुन समाजमा हुर्काइका क्रममा विकसित हुन्छ।’

मनोविश्लेषक सिग्मन्ड फ्रायडको सिद्धान्त यहाँ लागू हुने उनी ठान्छन् । उनका अनुसार हुर्कने क्रममा घर, परिवार र समाजमा भएको भ्रष्ट प्रवृत्ति र राजनीतिमा लाग्ने क्रममा आदर्श मानेका नेताहरूमा हुने भ्रष्टताले अन्य नेता, कार्यकर्ताको अवचेतन मनमा पदमा पुगेपछि कमाउनुपर्छ भन्ने मनोभाव विकास गराउँछ।

‘शक्तिमा पुगेपछि मान्छेमा एकैपटक धेरै ठूलो स्रोतको पहुँच हुन्छ,’ अर्का मनोविद् माधव खतिवडाले भने, ‘यस्तो बेला वर्षौंदेखि दमित इच्छाले मानिसलाई आसक्त पार्छ र त्यसको पूर्ति गर्ने क्रममा भ्रष्टाचार, दुराचारलगायतका अनैतिक काम हुन पुग्छन्।’

गौतमझैं उनी पनि मनको यो अवस्थालाई विकृत नै मान्छन् र यस्तो विकार आमरूपमा नेता, कर्मचारी र समाजका लब्धप्रतिष्ठित धेरैजसोमा भएको ठान्छन्।

पश्चिमा मनोवैज्ञानिक आरोन बेकले भ्रष्टाचार अपराधभन्दा पनि एउटा रोग हो जसले पूरै समाजलाई पिरोल्छ भनेका छन् । उनका अनुसार यसबाट पार पाउन पूरै समाज स्वस्थ हुनुपर्छ र त्यसका लागि बच्चाहरू हुर्काउने क्रममै दमित इच्छाहरू अवचेतन मनमा पस्न नपाओस् भनेर असल वातावरण तयार पार्नुपर्छ।

योगीहरू भने अध्यात्मको कमी हुँदा व्यक्ति भ्रष्ट हुने तर्क गर्छन् । ‘अज्ञानताका कारण भौतिक सुखसयल नै जीवन हो भन्ने भाव मानिसमा हुन्छ, शरीरलाई नै आफू ठान्छन् उनीहरू र यसैलाई खुसी पार्न हुने नहुने अनेकथरी कर्म गर्छन्,’ तीन दशकदेखि गुरुकुलीय शिक्षाको प्रचार गर्दै आइरहेका अरबिन्दो आश्रमका संस्थापक रामचन्द्र भुसालले भने, ‘आफू भन्नाले शरीर मात्रै होइन, चेतना, मन र मानवीय सत्ता छ भनेर बुझ्यो भने व्यक्तिले आफूभन्दा जगतलाई फरक देख्दैन, यस्तो बेला उसलाई आफ्ना लागि मात्रै थुपारौं भन्ने भाव आउँदैन र कुनै भ्रष्टाचार हुन पाउँदैन।’

मान्छेका इच्छाको अन्त हुँदैन, भोगको कुनै सीमा छैन र एक दिन यो संसारबाट सबै छाडेर मरेर जानुपर्छ भन्ने सत्यलाई हृदयकै तहबाट मनन गर्‍यो भने पनि पद दुरुपयोग गरेर सम्पत्ति थुपार्ने काम हुन नसक्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .