ad ad

छापा खबर


भयानक संकटमा नेकपा: ४८ घण्टाभित्र के होला?

भयानक संकटमा नेकपा: ४८ घण्टाभित्र के होला?

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार २३:४१,

आ–आफ्नो समूहमा आन्तरिक तयारी र छलफल गरिरहेका नेकपाका दुवै समूह ‘पर्ख र हेर’को रणनीतिमा प्रवेश गरेका छन्।

सोमबारसम्म ‘पर्ख र हेर’को चरण बनाउने र त्यसपछि एकले अर्काको कदम हेरेर अगाडि बढ्ने उनीहरूको पछिल्लो योजना छ। दुवै पक्षले एक–अर्काले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्।

तर, सम्भावित दुर्घटनाको अपजस लिन नपरोस् भन्नेमा दुवै पक्ष सचेत देखिएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

सचिवालयका बहुमत सदस्यको लिखित प्रस्तावलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सीधै अस्वीकार गरेपछि नेकपा विवाद ४८ घन्टा अर्थात् दुई दिनसम्म ‘पर्ख र हेर’को चरणमा प्रवेश गरेको छ । तर, शनिबार रातिसम्म कुनै समूह पनि पछाडि हट्ने मनस्थितिमा छैन।

योसँगै नेकपाको आन्तरिक विवाद निर्णायक चरणमा प्रवेश गरेको छ । अब कुनै पनि समूहले चाल्ने एउटा कदमले नेकपालाई भयानक संकटमा लैजाने खतरा जीवित नै छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत नेताले प्रधानमन्त्री ओलीलाई शनिबार दुई पेज लामो लिखित अनुरोधपत्र बुझाउँदै ४८ घन्टाभित्र सहमतिको औपचारिक बैठक बोलाउन आग्रह गरेलगत्तै नेकपाको आन्तरिक विवाद निर्णायक चरणमा प्रवेश गरेको हो।

तर, अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले वैधानिक व्यवस्थाअनुसार सहमतिका आधारमा प्रस्ताव तयार नभएसम्म बैठक बोलाउनुको औचित्य नहुने जवाफ दिएका छन् ।

प्रचण्डसहितका शीर्ष नेताहरूको अनुरोधको कुनै प्रस्ट जवाफ नदिएपछि बैठक माग गर्ने नेताहरू ‘पर्ख र हेरको अवस्था’मा पुगेका छन् । एकपछि अर्को कदम चालेर असन्तुष्ट नेताहरूले आफूमाथि दबाब बनाइरहेको बुझाइमा रहेका ओली पनि प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आगामी कदम हेरेर अगाडि बढ्ने मनस्थितिमा छन्।

बहुमतको औपचारिक बैठक बसे त्यही नै पार्टी फुटको बिन्दु र घोषणा हुने ओलीले चेतावनी दिँदै आएका कारण उनीहरूले लिखित अनुरोधपत्रको सुनुवाइ नभए कस्तो कदम चाल्ने भन्ने स्पष्ट पारेका छैनन्।

यद्यपि उनीहरूबीच ओली सहमतिमा नआएको अवस्थामा बहुमतको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने तहसम्मका अनौपचारिक छलफल हुँदै आएको छ।

‘हामीले भोलि (आइतबार) या पर्सि (सोमबार)सम्म बैठक बसेर सबै विषयमा गम्भीरतापूर्वक छलफल गरौँ । एकताबद्ध बनाउने, विधि र पद्धतिका आधारमा पार्टी चलाउने र पार्टीको निर्णय सबैले मान्ने अवस्था सिर्जना गरौँ भन्नेमा जोड दिएका छौँ,’ पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

सचिवालयका बहुमत सदस्यले गरेको लिखित आग्रहसमेत प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नमानेको खण्डमा के गर्नुहुन्छ? प्रवक्ता श्रेष्ठले अहिलेसम्म त्यसरी नसोचिएको बताए । ‘अब हामी त्यसरी सोच्दैनौँ । भएन भने के गर्ने भनेर सोच्ने यो वेला होइन । बैठकमा यो सम्पूर्ण विषयमा छलफल गरेर निष्कर्ष निकाल्नु आजको आवश्यकता हो भन्ने हामीले ठानेका छौँ,’ उनले भने।

लिखित अनुरोधपत्र बुझाउनुअघि तयारीका लागि प्रचण्डसहित वरिष्ठ नेताहरू नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले धुम्बाराहीमा केहीबेर छलफल गरेका थिए । त्यसलगत्तै उनीहरू ओलीलाई भेट्न बालुवाटार गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .