ad ad

छापा खबर


टाउको दुख्छ? यस्ता राेगकाे संकेत हुन सक्छ

टाउको दुख्छ? यस्ता राेगकाे संकेत हुन सक्छ

नेपालखबर
भदौ १७, २०७६ मंगलबार २:५७,

टाउकोको कुनै भागमा महसुस गरिने दुखाइलाई सामान्यतया टाउको दुखेको भनिन्छ। मस्तिष्कको आवरण, धमनी र मांसपेशीमा हुने पीडा नै टाउको दुख्नु हो, यो संवेदनशील हुन्छ। टाउको दुख्नु साझा समस्या हो।

अधिकांश व्यक्तिले कहीँ न कहीँ टाउको दुखिरहेको गुनासो गरिरहेका हुन्छन्। खासगरी टाउको दुखाइ पनि विभिन्न प्रकारका हुन्छन्। मेडिकल भाषामा टाउको दुखाइलाई प्राइमरी र सेकेन्डरी गरी दुई भागमा वर्गीकरण गरिएको छ। आजको नयाँ पत्रिकामा डा. दीपेश शाक्यले यसबारे जानकारी दिएका छन्। 

प्राइमरी हेडेक
प्राइमरी हेडेकअन्तर्गत टेन्सन हेडेक, माइग्रेन, कलस्टर आदि पर्छन् । करिब ६५ प्रतिशतमा टेन्सन अर्थात् तनावका कारण टाउको दुख्ने गर्छ । जति तनाव बढ्दै जान्छ, त्यति मात्रामा टाउ को कस्सिएको जस्तो महसुस हुन्छ । टेन्सन हेडेक दुई/तीन दिनसम्म रहन सक्छ । रमाइलो माहोलमा जाँदा वा अलि शान्त स्थानमा जाने हो भने टेन्सेन हेडेक आफैँ ठीक भएर जान्छ । माइग्रेन कडा खालको टाउको दुखाइ हो । यो ३ घन्टा देखि ७२ घन्टासम्म हुन सक्छ ।

माइग्रेन हुनुअघि औडाहा हुने गर्छ । यो प्रकारको दुखाइमा टाउकाको कुनै एक भागमा समस्या देखिन्छ । वाकवाकी लाग्ने, बान्ता हुने, उज्यालोमा हेर्न असहज हुनेजस्ता लक्षण देखिन्छन् । माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखिने गर्छ । माइग्रेन खासगरी अनिद्रा पर्दा, घाममा हिँड्दा, भोक लाग्दा, प्रदूषणका कारण, महिलामा महिनावारी हुनुभन्दा अगाडि–पछाडि, ठूलो भिडभाड आदि विभिन्न कारणले हुने गर्छ । कतिपयमा वंशाणुुगत गुणका कारण पनि हुन्छ।

हरेक व्यक्तिमा एउटै मौसममा झन्डै एकै समयमा समस्या देखिनु कलस्टर हो । उदाहरणका लागि, यदि कुनै व्यक्तिमा वर्षायामको बीचतिर टाउको दुख्ने समस्या छ भने अको वर्ष पनि सोही मौसमको सोही समयमा टाउको दुख्ने गर्छ । यस्तो समस्या एक महिनासम्म रहन सक्छ । यो अचानक टाउको दुख्ने समस्या हो, जुन लगातार ३ देखि ४ घन्टासम्म रहन सक्छ। आँखा रातो हुने, आँसु बग्ने, नाकबाट पानी बग्ने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन्।

सेकेन्डरी हेडेक
दिमागमा कुनै खालको ट्युमर भएमा, संक्रमण भएमा, दाग र नसा फुटेर प्रेसर बढेमा सेकेन्डरी हेडेक हुने गर्छ । यो निकै कम व्यक्तिमा हुने समस्या हो । जुन निकै घातक पनि हुने भएकाले कारण पत्ता लगाएर सकेसम्म छिटो उपचार गर्नुु आवश्यक हुन्छ।

के गर्ने?
अधिकांशमा टाउको दुख्ने सामान्य समस्या हो भन्ने भ्रम व्याप्त छ। टाउको दुखाइ अन्य रोगको लक्षण पनि हुन सक्ने भएकाले समयमै परीक्षण गर्नुपर्ने हुन्छ। सामान्य खालको टाउको दुखाइले पनि स्वास्थ्यमा अन्य गम्भीर समस्या ल्याउन सक्छ। जथाभावी रूपमा पेनकिलरको प्रयोग भने गर्नुहुँदैन। स्वास्थ्यमा अन्य असर पार्न सक्ने भएकाले चिकित्सकको सल्लाहमा मात्रा औषधि प्रयोग गर्न गर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .