ad ad

छापा खबर


‘सी विचारधारा’ को पहिलो परीक्षण नेपालमा

‘सी विचारधारा’ को पहिलो परीक्षण नेपालमा

नेपालखबर
असोज ८, २०७६ बुधबार २:४६,

चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तर्क्रिया गर्ने क्रमको थालनी नेपालबाट गरेको छ।

यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिस्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनैको नाममा अगाडि सारिएको कार्यदिशामाथि पार्टीगत अन्तर्क्रिया गरिएको हो।

तत्कालीन एमाले र माओवादी पार्टीबीच एकीकरण भएपछि पनि छुट्टाछुट्टै माध्यमबाट आपसी सम्बन्ध रहँदै आएकामा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच मंगलबार औपचारिक समझदारीसमेत कायम भएको छ।

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले पार्टीगत सहयोग, भ्रमण आदानप्रदानसँगै विचार आदानप्रदानका विषयमा समझदारीमा हस्ताक्षर गरेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको उपस्थितिमा उक्त समझदारीमा हस्ताक्षर भएको हो । यसले दुई पार्टीबीचको सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको नेताहरूको दाबी छ।

दुई मुलुकबीच हुने सम्झौताकै झल्को दिने गरी दुई पार्टीबीचको सहमतिलाई सार्वजनिक गरिएको छ । विगतमा सामान्य ढंगले चलिरहेको सम्बन्धलाई अहिले किन यति धेरै महत्त्व दिइयो ? ‘दुइटा कम्युनिस्ट पार्टीले भाइचारा सम्बन्धलाई मजबुत बनाइरहेको देखिन्छ,’ चीन मामिलाका जानकार एवं चीनका लागि पूर्वराजदूत महेश मास्केले भने, ‘यो कार्यक्रम पार्टी–पार्टी सम्बन्धको पहिलो ठूलो अभिव्यक्ति हो।’

सीपीसीले यसअघि कम्युनिस्ट पार्टीहरूसँग राख्ने सम्बन्ध यति धेरै खुला हुँदैनथ्यो । पार्टीगत सम्बन्धका आधारमा भ्रमण, प्रशिक्षण आदानप्रदान गरिन्थे ।

औपचारिक रूपमा दुईपक्षीय समझदारी र विचारधारामाथि बहस सञ्चालन गर्ने गरी यस पटक सीपीसी नेपाल आउनुलाई नेकपाकै नेताहरूले पनि नौलो अभ्यास ठानेका छन् ।

‘उनीहरू विगतमा यति भिजिबल भएर आउँदैनथे । उनीहरूले हामीसँगको सम्बन्धलाई अझै गहिरो बनाउन चाहेका छन्,’ द्विपक्षीय हस्ताक्षर समारोहमा सहभागी नेकपा वरिष्ठ नेता झलनाथ खनालले भने, ‘यसले चिनियाँहरू थप खुलापनमा जान थालेका छन् र आफ्नो सम्पर्क सम्बन्धको प्रभाव पनि विस्तार गर्न चाहन्छन् भन्ने देखाउँछ ।’

चीनले दुई वर्षअघिको १९औं महाधिवेशनबाट ‘चिनियाँ विशेषतासहितको समाजवाद’ भन्दै सी चिनफिङ विचारधारा अंगालेको थियो । यससँगै विश्वव्यापी सम्पर्क सञ्जाल विस्तार गर्ने गरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को रणनीति पनि अगाडि सारेको छ ।

नेपाल बीआरआईको सदस्य राष्ट्र हो भने यहाँको सत्तारूढ दलले सी विचारधाराप्रति पनि सकारात्मक सहकार्य गर्ने नीति लिएको छ । यही पृष्ठभूमिमा चिनियाँ प्रस्तावमा सी विचारधारामा केन्द्रित दुईदिने वैचारिक अन्तर्क्रिया राजधानीमा आयोजना गरिएको हो ।

यसअघि नेपाली नेताहरू चीन भ्रमणमा जाँदा पार्टीका गतिविधिबारे जानकारी दिने, पार्टी संगठन निर्माण, अनुशासनलगायत विषयमा छलफल गर्ने गर्थे । प्रधानमन्त्री ओलीले गत वर्ष चीन भ्रमणमा जाँदा सीपीसी केन्द्रीय स्कुललाई सम्बोधन गरेका थिए । अहिले चिनियाँ नेताहरू नै आफ्नो मार्गनिर्देशक सिद्धान्त बुझाउन काठमाडौं आएका छन् ।

राजधानीको एउटा होटलमा सोमबार र मंगलबार भएको सी चिनफिङ विचारधारामाथि चलेको छलफल त्यसैको उदाहरण हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .