सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)सँग गरिएको ‘विचारधारात्मक छलफल’ले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव पारेको जनाएको छ।
नेकपाका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जारी गरेको विज्ञप्तिमा यस ढंगले दुई देशका पार्टीको तहमा संयुक्त रूपमा यो पहिलो कार्यक्रम भएको उल्लेख गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा यही असोज ६ र ७ गते काठमाडौंमा ‘विचारधारात्मक छलफल’ कार्यक्रम भएको थियो।
विज्ञप्तिमा भनिएको छ- ‘चिनियाँ राष्ट्रपति महामहिम सी चिनफिङ नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहको सन्दर्भका बीच आयोजित यस विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव पारेको छ।’
साथै यस क्रममा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच आपसी सम्बन्धलाई अझ मजबुत आधार प्रदान गर्न संयुक्त सहमति पत्रमा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
‘नेकपाका विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले उक्त सहमतिमा असोज ७ गते हस्ताक्षर गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसले दुई पार्टीलाई भविष्यमा अझ घनिष्ट र आशंकारहित सम्बन्धमा आबद्ध गर्ने विश्वास गरिएको छ।’
सी चिनफिङ विचारधाराबारे नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफलका रूपमा कार्यक्रम सम्पन्न गरिएको नेकपाले जनाएको छ।
प्रतिक्रिया