ad ad

विचार


ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि...

ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि...

साइमन कुपर
कात्तिक १६, २०७७ आइतबार ११:५२,

सन् १९७४ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले राजीनामा दिएपछि वाटरगेट काण्ड सेलायो। सोही कारणले अमेरिकामा एक दम्पतीको सम्बन्धविच्छेद भयो। किनभने वाटरगेट काण्ड पटाक्षेप भएपछि उनीहरुबीच कुराकानीको कुनै विषय बाँकी थिएन। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प पराजित भए हामीमध्ये थुप्रैले त्यस्तै शून्यता महसुस गर्ने सम्भावना छ।

ट्रम्प हारे भने के होला? यसबारे हामीले खासै कल्पना गरेका छैनौँ। तर, सबैभन्दा बढी सम्भावना भएको परिदृश्य भनेको ट्रम्पले चुनाव हार्नेछन्। केही दिन रुवाबासी गर्नेछन्, त्यसपछि ह्वाइट हाउस खाली गर्नेछन्। ट्रम्पको बहिर्गमनपछि उनका समर्थक र विरोधीले गफगाफ गर्ने विषय फेला पार्लान् त? के उनीहरुले आफ्नो पहिचान बदल्लान्? के ट्रम्पवाद जीवित रहला? के ट्रम्पको बहिगर्मनले विश्वभर फुल्दै गएको पपुलिजमको बेलुन फुटाउला?

आधुनिककालका हरेक अमेरिकी राष्ट्रपति विश्वभरका मानिसको दिमागमा बस्छन्। तर, मानिसहरुको दिमागमा ट्रम्पले जत्रो विशाल घर अरु कसैले बनाएका थिएनन्। वास्तवमा भन्ने हो भने विश्वव्यापी चेतनामा ट्रम्पले जति ठूलो प्रभाव इतिहासमै अरु कसैले पारेको थिएन। उदारवादीहरु ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’बाट ग्रस्त भएको उनका समर्थकहरुको आरोप छ। यस्तो असर नपरोस् पनि किन? चार वर्षसम्म संसारका सबैभन्दा शक्तिशाली यी व्यक्तिले झुठ, गालीबेइज्जती र घृणा ओकलेर हाम्रो दिमागलाई प्रदुषित तुल्याए। उनको कुरा सुन्ने सबैलाई उनले मुर्ख र विक्षिप्त महसुस गराए।

‘ट्रम्प सधैँ अनियन्त्रित अवस्थामा हुन्छन्। उनले त्यो समस्या हामी सबैमा सारिदिएका छन्,’ ट्रम्पको ‘दि आर्ट अफ द डिल’ पुस्तकका गुप्त लेखक (गोस्ट राइटर) टोनी स्वार्ज भन्छन्। बाराक ओबामाले समेत भनेका छन्, ‘ट्रम्प गए भने हामी यति थाक्ने छैनौँ। बिनाबहस पारिवारिक जमघट सम्भव हुनेछ।’

अति उत्तेजक नेतालाई निरस नेताले विस्थापित गर्ने स्वभाविक प्रवृत्ति देखिन्छ। रोनाल्ड रिगनलाई जर्ज एचडब्लू बुसले विस्थापित गरे। मार्गरेट थ्याचरलाई जोन मेजर र रिचर्ड निक्सनलाई जेराल्ड फोर्डले विस्थापित गरे।

यतिबेला अमेरिकीहरु एक निरस नेताको खोजीमा छन्, जसले कमसेकम आफूलाई आफ्नै देश र जनताविरुद्धको जैविक हतियारमा नबदलोस्। राष्ट्रपतीय निर्वाचनमा उठेर असफल भएका डेमोक्रेटिक सिनेटर माइकल बेनेटले यो भावनालाई सही ढंगले प्रकट गरेका थिए। उनले भनेका थिए, ‘यदि तपाईंहरुले मलाई राष्ट्रपति चुन्नुभयो भने म बाचा गर्छु, तपाईंहरुले एक पटकमा दुई सातासम्म मेरो बारेमा सोच्नुपर्ने छैन।’

जो बाइडेन नयाँ जेराल्ड फोर्डजस्तै देखिन्छन्। जसलाई विरासतमा पाएको राष्ट्रिय संकटले पराजित गर्छ। संरचनात्मक रुपमै प्रगतिशील कानुन पारित गर्न असम्भव छ। किनभने सिनेट र सर्वोच्च अदालतमा डेमोक्रेटहरुको बहुमत छैन। बाइडेनले अदालतमा आफ्नै न्यायाधीश नियुक्त गरे भने सो संस्थाले आधा अमेरिकीबीच आफ्नो वैधानिकता गुमाउनेछ।

ट्रम्पको बहिगर्मनपछि डेमोक्रेटिक पार्टीका मतदाताको संख्या घट्नेछ। उदार पत्रपत्रिकाले उत्कृष्ट स्टोरी पाउने छैनन्। समाचारको मन्दी छाउने खतरा छ। ग्रिन न्यु डिलका केही अंश पारित गर्न संसदमा हुने किचलोको कथा प्रथम पृष्ठमा छापेर द न्युयोर्क टाइम्सले दशौं लाख नयाँ पाठकलाई टिकाइराख्न सक्ने छैन।

अमेरिकीहरुले पनि निजी जीवनमा ध्यान केन्द्रित गर्नेछन्। जोन अपडाइकको सन् १९९२ मा प्रकाशित उपन्यास ‘मेमोरिज अफ द फोर्ड एड्मिनिस्ट्रेसन’ यस्तै विषयमा केन्द्रित छ। उपन्यासमा इतिहासकार कथावाचक फोर्डको नाम विरलै लिन्छ। बरु ऊ आफ्ना अवैध सम्बन्धहरुको नालिबेली विस्तारमा बताउँछ। ‘के फोर्ड प्रशासन कहिल्यै अस्तित्वमा थियो? यसको प्रमाण साह्रै कम छ,’ ऊ भन्छ।

ट्रम्पले जेल जानबाट आफूलाई निश्चय नै जोगाउने छन्। सामान्यतयाः धनीमानी अमेरिकी र पूर्वराष्ट्रपतिहरु जेल जाँदैनन्। ट्रम्पको कम्तीमा १.१ अर्ब डलर ऋण छ। तर, यसअघि ६ पटक टाट पल्टिँदा पनि उनी रोकिएनन्। अमेरिकी जीवनशैलीमा नामलाई दाममा परिणत गर्ने अनेक उपाय छन्। हारेपछि ट्रम्प आफ्नो पुरानो योजनामा फर्किन सक्छन्। अर्थात् उनी ट्रम्प टीभी सुरु गर्न सक्छन्।

सफल व्यापारी बन्ने सपना नराखुञ्जेल ट्रम्प पैसा कमाइरहन सक्छन्। त्यसका लागि उनले आफ्नो खुबी तल्लो स्तरको मनोरञ्जन प्रदान गर्नु हो भनेर स्वीकार्न सक्नुपर्छ। उनी अझै लामो समय बाँच्न सक्छन्। पूर्व राष्ट्रपतिहरुको आत्मविश्वास एकदमै उच्च हुन्छ। त्यसमाथि उनीहरुले पाउने स्वास्थ्य सेवा पनि संसारकै उत्कृष्ट हुने गर्छ। पछिल्लो पटक मृत्यु भएका तीन जना पूर्व राष्ट्रपतिहरु ९० वर्षभन्दा धेरै बाँचेका थिए। जिम्मी कार्टर ९६ वर्षको उमेरमा पनि अझै सक्रिय छन्।

ट्रम्पपछि पनि ट्रम्पवाद जीवित रहने छ। तर, यसले सम्भवतः अर्को चुनाव भने जित्ने छैन। यसको पहिलो कारण होः ट्रम्पवाद व्यक्तिपूजक सम्प्रदाय हो, तर अब सो व्यक्ति रहने छैन। दोस्रो, श्वेत राष्ट्रवाद अमेरिकामा अहिले नै कमजोर बन्न थालिसकेको छ। रिपब्लिकन पार्टी बन्धनमा छ। यो पार्टीसँग थोत्रो भइसकेको सांस्कृतिक मुद्दा र अलोकप्रिय आर्थिक मुद्दा मात्रै छ। रिपब्लिकन पार्टी धनीहरुलाई कर छुट दिने र अस्ताउँदो जैविक इन्धन उद्योगलाई छुट दिने कुरा गर्छ। ट्रम्पको प्रमुख राजनीतिक विरासत भनेकै दक्षिणपन्थी मिलिसिया हुन्, जसलाई उनले उत्प्रेरित गरेका थिए।

अमेरिकामा भन्दा बाहिर उग्रराष्ट्रवादीहरुको भविष्य उज्जवल छ। तिनले कसरी निर्वाचित हुने भनेर ट्रम्पको सन् २०१६ को अन्त्यन्त मनोरञ्जक, सम्भ्रान्तविरोधी चुनावी अभियानको अध्ययन गर्नेछन्। तर, त्यसपछिको ट्रम्पको चार वर्षे शासनकाललाई कसरी शासन नगर्ने भनेर तिनले उदाहरण मान्नेछन्। राष्ट्रपति बनेपछि ट्रम्पले टीभी हेरेर, ट्विट गरेर र गल्फ खेलेर समय बिताए। जबकि हंगेरीका भिक्टर अर्बानजस्ता व्यावसायिक तानाशाहले भने मिडिया, अदालत, कर्मचारीतन्त्र र ठूला व्यवसाय कब्जा गरे।

ट्रम्पले मात्र केही न्यायाधीश नियुक्त गरे। निश्चय नै राज्यलाई नियन्त्रणमा लिन हंगेरीमा भन्दा अमेरिकामा निकै कठिन छ। न त ट्रम्प सक्षम शासनको हिसाबले नै सफल देखिए। आआफ्नो जनसंख्याको अनुपातमा हंगेरीको तुलनामा अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चार गुणा बढी छ। अझै पनि सरल राष्ट्रवाद, आधारभूत सक्षमता र राज्यमाथिको नियन्त्रण राजनीतिको सबैभन्दा अचुक विधि रहनेछ।

(फाइनान्सियल टाइम्सबाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .