नेपाली १९ वर्षमुनिको क्रिकेट टोली सेम्टेम्बर ५ तारिखबाट श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कप खेल्ने शनिबार त्यसतर्फ प्रस्थान गरेको छ।
प्रतियोगितामा टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन्। समूह 'बी'मा रहेको नेपालले समूह चरणमा बलिया टेस्ट राष्ट्रहरु आयोजक श्रीलंका र बंगलादेशसँगै यूएईको सामना गर्दैछ। यसअघि पनि यू-१९ स्तरमा भारत, बंगलादेश, न्युजिल्यान्ड, दक्षिण अफ्रिकाजस्ता टेस्ट राष्ट्रहरुलाई पराजित गर्दै 'सप्राइज' बन्दै आएको नेपाली टोलीले यसपटक पनि बलिया टोलीलाई 'सप्राइज' दिने प्रशिक्षक विनोद दास बताउँछन्।
शनिबार यू-१९ टोलीको बिदाई कार्यक्रममा दासले राखेको मन्तव्यको सम्पादित अंश:
हामीले पहिलो फेजमा तयारीका लागि अलि लामो समय मागेका थियौं। विविध समस्या, हरेक कुरामा आईएसीसीमा भर पर्नुपर्ने भएकाले त्यति तयारी गर्ने समय हामीले पाएका छैनौं। तर, हामीले जेजति समय (१२ दिन) पायौं त्यस समयमा हामीले ३० दिनमा गर्ने सोचेका कामहरु गर्ने प्रयास गरेका छौं। खेलहरु खेल्यौं, असहज अवस्थालाई पनि सहज मानेर अभ्यास गरेका छौं। त्योसँगै क्षमता विकासका लागि तीव्रगतिका बलर सामना गर्न प्लास्टिक बलले होस् या बलिङ मेसिनले होस् या स्पिन फेस गर्नलाई थ्रो डाउन्सहरु होस् त्यो सबै कम दिनमा पनि गर्ने प्रयास गरेका छौं। त्यो कत्तिको प्रभावशाली भयो भन्ने कुरा नतिजाले देखाउनेछ।
खेलाडीहरुको मेहनतप्रति आभारी छु। जति पनि हामीले उहाँहरुलाई काम दिएका थियौं। ती सबै खेलाडीहरुले जिम्मेवारीका साथ निर्वाह गर्नुभएको छ।
जहाँसम्म प्रतियोगितामा प्रदर्शनको कुरो छ हामीले बंगलादेश, श्रीलंका र यूएईसँग पनि केही अघि खेलेका छौं। हामी हाम्रो तर्फबाट चाहीँ पूर्ण तयार भएर जाँदैछौं। यूू–१९ टिममा हामीले सधैँ ठूला टिमहरुलाई सप्राइज दिँदै आएका छौं।
यसपाला पनि हामी सक्दैनौं भन्ने कारण छैन्। यही टिमले गतवर्ष बंगलादेशको यू–१९ टोलीलाई हराईसकेको छ। त्योसँगै दुईवर्ष अघि श्रीलंकासँगको खेलमा पनि हामी १ रनको मात्रै हार ब्यहोरेका थियौं। त्यसमा पनि हामीले हाम्रो प्रदर्शन देखाएका थियौं। यूएईसँग पनि भर्खरै एउटा खेल हारेका छौं तर मलाई विश्वास छ उनीहरुविरुद्ध हामी पक्कैपनि राम्रो प्रदर्शन गर्नेछौं। हामीले यसपटक पनि राम्राे गर्छाै भन्नेमा कुनै शंका छैन। हामीले हाम्रो स्तरभन्दा थोरै माथि उठेर खेल्न सकेको खण्डमा टिमबाट मेरो व्यक्तिगत आशा यसपटक हामी कम्तिमा सेमिफाइनलसम्मको यात्रा तय गर्न सक्छौं।
आशा गरौं, यो टुरसँगै नेपाली क्रिकेटले भर्खरैमात्रै सिनियर टिममा जुन निराशा ब्यहोरेको थियो, त्यसलाई पखाल्ने छ।
घरेलु मैदानमा १२ दिनमा अभ्यासका क्रममा हामीले तीनवटा अभ्यास खेल खेल्ने योजना बनाएपनि वर्षाले साथ नदिदा २ वटा खेल्यौं। निरन्तर खेलाडीहरुले खेलिरहेको भएकाले त्यतिधेरै समस्या छैन। केही क्षेत्रहरुमा अझैपनि सुधार्ने प्रयास गरिरहेका छौं। श्रीलंका गएर त्यसमा अझै काम गर्नेछौं।
घरेलु मैदानमा छोटो समयको तयारीमा गाह्रो भएको हो। हामी टेस्ट प्लेइङ राष्ट्रविरुद्ध खेल्दैछौं। राम्रो टिमविरुद्ध खेल्दा तयारी त्यही अनुसारकै हुनुपथ्र्यो। समय छोटोभएपनि हामीलाई जे जस्तो स्रोत साधन उपलब्ध थियो। त्यसको सदूपयोग गरेका छौं। एसीसीबाट स्वीकृति नपाएपछि हामीले पाएको समयमा जतिसक्दो म्याचहरु खेल्दै सदूपयोग गरौं। सबैले कम्तिमा ३ वटा इनिङ खेलेका छन्।
हाम्रो तयारीको ठूलो हिस्सा श्रीलंका भ्रमण हो। त्यहाँ तीनवटा अभ्यास खेल खेल्दैछौं। जसमध्ये सिंहहल्स स्पोर्टस जस्ता नाम चलेका क्लबहरुविरुद्ध छ। आशा छ उनीहरुबाट जुन अनुभव लिन्छौं, त्यसले हामीलाई एसिया कपमा फाइदा पुर्याउछ। मिडिल अर्डर, साझेदारी, टप अर्डर, लगायत खेलाडीलाई दिएको भुमिकामा सुधार ल्याउन श्रीलंकाको दश दिने तयारी महत्वपूर्ण हुनेछ।
अनुभवी खेलाडीहरु सन्दीप जोरा, आसिफ सेख र सुर्या तामाङले पुनरामगन गरेका छन्। कीर्तिपुरमा खेलेका तीनवटा म्याचमा उनीहरुले प्रदर्शन राम्रो गरेरै टिममा परेका हुन। आशा गरौं यी खेलाडीहरुले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्नेछन्। हामीलाई त्यो लेभलमा खेलाडीका खेलाडीहरुको अनुभव र कन्भिडेन्ट पनि चाहिन्छ। केही खेलाडीका लागि यो अन्तिम यू–१९ प्रतियोगिता पनि हो। उनीहरुका लागि अगाडीको क्रिकेटमा आफ्नो स्थान बनाउँने अन्तिम अवसर पनि भएकाले जिम्मेवारी पूर्वक खेल्ने आशा गरेका छौं।
टेस्ट नेशनसँग खेल्दा हामीले हाम्रो स्तरभन्दा माथि उठेर खेल्न सक्नुपर्छ। मलाई विश्वास छ। हामी यसपाला त्यो गर्न सक्छौं।
बंगलादेशलाई गतवर्ष बंगलादेशमा गएर पनि हराएका हौं। एसिया कपको तयारीका लागि बंगलादेश गएका बेला उनीहरुको मुख्य टिमलाई तीन खेलको शृंखला खेल्यौं। एउटामा हरायौं, एउटा एकदमै क्लोज गेम भयो। एउटा उनीहरुले जित्यो।
श्रीलंकासँग दुईवर्षअघि हामी एक रनले हार्दाखेरि हामी एकदमै क्लोज गएका थियौं। जसमा दीपेन्द्रले ९० प्लस स्कोर गरेका थिए। हामीले पछिल्लो समय ती टोलीहरुसँग खेलेको ती दुईवटा खेलनै हो। जसमा राम्रो छाप छाडेका छौं। हामीले आफ्नो स्तरभन्दा थोरैमाथि उठेर खेल्यौं भने हराउन सक्दैनौं भन्ने कारण नै छैन्। हामी आफ्नो स्तरभन्दा माथि उठेर खेल्छौं भनेर आफूलाई बलियो गरिरहेका छौं। त्यो गर्न सकेको खण्डमा अवश्यपनि यो सम्पूर्ण शृंखला रोमाञ्चक हुनेछ।
मेरो व्यक्तिगत आशा हामी सेमिफाइनलमा पुग्छौं भन्ने छ। हामीले यसो भनिरहँदा अन्य टिम हामीले भन्दा राम्रो तयारी गरेर आएको कुरा पनि बिर्सनुहुन्न। हामी अरु टिमलाई प्रतिस्पर्धा दिनलाई तयार छौं। नतिजाका लागि हामी पर्ख र हेरको स्थितिमा छौं।
यो पनि: च्याम्पियन बन्न अप्ठ्यारो अवस्था पार गर्नैपर्छ र गर्छाैँ पनिः विनोद दास (भिडियो)
प्रतिक्रिया