यो संविधानका मूलभूत तत्वहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष, समावेशिता हुन्। यो बाहेक यो संविधान नेपाली जनताका प्रतिनिधि आफैँले जारी गरेका हुन्।नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउनु आफैँमा महत्वपूर्ण विषय हो। यो राम्रो पक्ष हो। हामीले संविधानमा उल्लेख गरेका मौलिक अधिकारहरु विश्वका उन्नत संविधानभन्दा बढी नै विस्तृत छन्। यो बाहेक यसका थुप्रै सकारात्मक पक्ष छन्।
संस्कृत साहित्यमा एउटा भनाइ छ। त्यसको नेपाली अर्थ हुन्छः मेरा प्रतिद्वन्द्वीसँग म आभारी छु किन कि उनीहरुकै कारण म हमेसा सजग छु। जब म गल्ती कमजोरी गर्छु त्यतिबेला उनीहरुले मलाई सतर्क गराइदिन्छन्। अर्थात् आलोचनात्मक चेतसहित विषयवस्तुलाई हेरिनुपर्छ। हाम्रो चेतना निरन्तर गतिशील छ। त्यसैले संविधानमा रहेका कमजोर पक्ष म उजागर गर्न चाहन्छु।
संविधान भनेको ढुंगामा कुँदेको अक्षर होइन। समाजमा विद्यमान आर्थिक, सामाजिक राजनीतिक शक्ति सन्तुलनको दस्तावेज हो। समाज परिवर्तन हुँदै जाँदा वर्ग र सुमदायका इच्छा आकांक्षा परिवर्तन हुन्छन्, संविधान पनि परिवर्तन हुँदै जानुपर्छ। लोकतन्त्र पनि आफैँमा एउटा विकासशील प्रक्रिया हो। लोकतन्त्रको विश्व इतिहास हेर्ने हो भने पहिलो चरणको लोकतन्त्र व्यक्तिको स्वतन्त्रतामा आधारित थियो। दोस्रो चरणको लोकतन्त्र सामाजिक वर्ग समानता र अधिकारमा आधारित थियो। अहिले एक्कसौं शताब्दीको लोकतन्त्र व्यक्ति र वर्ग मात्र होइन लिंग, जाति, समुदाय र हाम्रो सन्दर्भमा भन्नुपर्दा दलित लगायत सबै उत्पीडितको समान अधिकारको लोकतन्त्र हो। यो तेस्रो चरणको लोकतन्त्र हाम्रो संविधानले अंगीकार गर्न खोजेको छ। त्यसमा हामी केही मात्रामा सफल भएका छौं तर धेरै मात्रमा चुकेका छौं।
संविधान निर्माणकै बेला हामीले केही त्रुटि गरेका छौं। त्यही कारणले गर्दा आज एकातिर पुरानै पञ्चायती शैलीमा अनिवार्य रुपमा दीपावली मनाउनु पर्ने, उपस्थित हुनुपर्ने फर्मान जारी गरिएको छ। अर्कोपट्टि यो संविधान केही होइन, यसलाई पूरै च्यातेर पुनःलेखन गर्नुपर्छ भन्ने आवाज देखिएको छ। यी दुवै थरि अतिवादी प्रवृत्ति लोकतन्त्रसम्मत, विज्ञानसम्मत छैनन्। सत्य सेतो र कालोमा हुँदैन, सत्य खैरो हुन्छ। त्यसैले यो संविधानका सबल पक्षको रक्षा गर्दै यसका दुर्बल पक्षमालाई छिटो संशोधन गरेर पूर्णता दिनुपर्ने आजर्कोे आवश्यकता हो।
संविधानको गिलास आधा खाली
संविधान जारी भएकै दिन मैले भनेको थिएँ, ‘यो संविधान आधी गिलास छ। आधा गिलास खाली छ। आधी भरिएको गिलासको रक्षा गरौं र खाली गिलासलाई संशोधन गरेर पूर्णता दिऔं।’
दुर्भाग्यबस चार वर्ष बित्दा पनि त्यो आधी गिलास भरिन सकेन, संविधान संशोधन हुन सकेन। हामीले प्रतिबद्धता जनायौं तर कार्यान्वयन गर्न अघि बढेनौं। यो विषयमा हामीले गल्ती गरिरहेका छौं। यदि यो संविधान सबैको स्वीकार्य भएन। हिमाल, पहाड, तराई मधेसमा बस्ने सबै आदिबासी जनजाति, महिला, दलित, मधेसी, थारु, खस आर्य, मुस्लिम सबैले स्वामित्व लिन सकेनन् र त्यसले विद्रोहको रुप लियो भने ठूलो दुर्घटना हुन सक्छ। त्यसैले संविधान संशोधनको मुद्दा हामीले छोड्नु हुन्न। धेरै मुद्दामा म जान चाहन्न।
पहिलो राज्यको संघीय पुनःसंरचना। त्यसलाई पहिचान र सामथ्र्यका गर्ने राज्य पुनःसंरचना गर्नुपर्छ भन्ने संविधान सभाको सुझाव समिति तथा आयोगले सिफारिश थियो। त्यो कार्यान्वयन भएन। आधारबिनाको संघीय ढाँचामा जाँदा त्यसले असन्तुष्टि, विकृति र विसंगति ल्याएको छ। यो कुनै पनि बेला विस्फोटक हुन सक्छ।
दोस्रो अहिले जुन विकृति, विसंगति देखिएको छ। सतहमा हामी आलोचना पनि गर्छौं। गुदीमा हामी शासकीय स्वरुप र निर्वाचन प्रणालीमा चुकेका कारण नै यो भइरहेको छ। शासकीय स्वरुप र निर्वाचन प्रणाली अन्तरविरोधपूर्ण छ। नेपालको विविधतालाई सुहाउँदो, नेपालको आर्थिक, सामाजिक व्यवस्था सुहाउँदो निर्वाचन प्रणाली हामीले सुधार गर्नैपर्छ। हामीले पूर्ण समानुपातिक संसद र पूर्ण प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय वा प्रमुख कार्यकारी प्रणालीमा नगएसम्म यी असन्तुष्टि रहिरहनेछन्। जतिसुकै दुई तिहाईको सरकार, तीन चौथाईको सरकार चलाए पनि परिणाम दिन सक्ने स्थिति आउने छैन।
भ्रस्टाचार सबैतिर छ। यसको स्रोत के हो? सत्तामा छँदा बिर्सने सत्ता बाहिर आएपछि त्यसलाई कोट्याउने नगरौं। यसको कारण पट्टि जाउँ त्यसले सही समाधान दिनेछ। सबै कालखण्डमा ठूल्ठूला भ्रस्टाचार भएका छन्। त्यसको मुख्य जरो हाम्रो आर्थिक, सामाजिक बनौट पनि हो, चेतना पनि हो। काम नगरी धन आर्जन गर्ने र रातारात धर्न आर्जन गर्ने व्यक्ति पुजिने कारण पनि एउटा होला। व्यक्तिले मात्र होइन त्यसको मुख्य जरो निर्वाचन प्रणालीमै छ। हामीले निर्वाचन खर्चिलो बनाएा छौं। प्रत्येकले चुनाब लड्दा करोडौं रुपैयाँ खर्च गर्नुपर्ने परिस्थिति छ। चुनाब लड्दा त्यसको निम्ति ठूला ठेकेदार र कमिसन एजेन्टबाट पैसा लिन्छौं र सत्तामा गएपछि तिनकै इसारामा नाच्छौं। हामी जानी नजानी भ्रस्टाचारमा फस्छौं। त्यसैले भ्रस्टाचारको कारण खोजौं। गुदी कारण खोजौं। त्यसको समाधान खोजौं। नत्र सतहमा कोट्याएर, दोसारोपण गरेर कहीँ पुगिँदैन।
आफ्नो अनुहार हेर्नुपर्छ
अहिले युवामा, आमजनतामा आक्रोश छ, असन्तुष्टि छ त्यसले गर्दा लोकतन्त्र नै धरापमा पर्ने हो कि भन्ने स्थिति देखिँदैछ। जिम्मेवार ठाउँबाटै लोकतन्त्र गणतन्त्र धरापमा पर्दैछ भन्दा चिन्ता पनि लाग्छ। हामीले यति मिहिनेत गरेर ल्याएको लोकतन्त्र त्यति सजिलै गुम्छ भन्ने लाग्दैन। हामीले परिणाम दिन सकेनौं, लोकतन्त्रलाई जनताको जीवनमा ढाल्न सकेनौं, विकास र समृद्धिमा परिणत गर्न सकेनौं, सबै तह र तप्काका हिमाल, पहाड र तराई मधेसका जनतालाई सन्तुष्ट पार्न सकेनौं भने यो गुम्न पनि सक्छ। प्रतिक्रान्तिकारी शक्ति आउन पनि सक्छ। गालीबले भनेका छन्, ‘धुल चेहेरे पर थिइ मै ऐना साफ करता रहा’। अर्थात् अरुलाई दोष दिएर मात्र समाधान हुँदैन। त्यसलाई रोक्ने हो भने हामीले आफ्नो अनुहार हेर्नुपर्छ।
लोकतन्त्रको प्रतिफल जनताले खोजेको विकास र समृद्धि नै हो। गत तीन वर्षयता लगातार ६ प्रतिशतमाथिको वृद्धिदर भएको छ। तर गहिरिएर अर्थतन्त्रको विश्लेषण गर्ने हो भने अर्थतन्त्रको संरचनात्मक परिवर्तन हुन सकिरहेका छैनौं। हामी तेस्रो विश्वबाट पहिलो विश्वमा पुग्नका निम्ति प्रत्येक वर्ष आगामी दुई दशकसम्म २ अंकको आर्थिक वृद्धिदर आवश्यक छ। डरलाग्दो व्यापार घाटा र बेरोजगारी समस्या समाधान गर्न सकिएको छैन। पूर्वाधारको निम्ति वैदेशिक लगानी आवश्यक छ। गत वर्ष १७ अर्बको वैदेशिक लगानी थियो यो वर्ष घटेर १३ अर्बमा झरेको छ। गत वर्ष व्यापार घाटा ९ खर्ब जति थियो अहिले १३ खर्ब पुगेको छ। यसरी अर्थतन्त्र उल्टो दिशातिर गइरहेछ। राज्यसत्ता प्रयोग गरी दोहन गर्ने अर्थतन्त्रको प्रकृति हुनु हुँदैन। त्यसो गर्दा केही मान्छे धनी हुनेछन्। तर समग्र देशको उत्पादन र सेवा स्तर बढाएर धन सिर्जना गर्दै संरचनागत परिवर्तन अहिलेको आवश्यकता हो।
(संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसदमा दिएको मन्तव्यको सम्पादित अंश)
प्रतिक्रिया