नेकपा एमाले अब माधवकुमार नेपाल र झलनाथ खनालबिना नै अगाडि बढ्ने भएको छ। गत पुस ५ पछि वरिष्ठ नेता नेपालको पक्षमा लागेका १० जना स्थायी कमिटी सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमै राख्न सफल भएका छन्।
मंगलबार तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटी बैठक विचार मात्रै नभएर मन नै मिलेको सन्देश दिन खोजियो।
त्यसका लागि एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले तुल्सीलाल अमात्यको शालीकमुनि २६ जना स्थायी कमिटी सदस्यहरुको सामूहिक फोटो खिच्ने कार्यक्रम मिलाए।
त्यहाँ नेता नेपालको साथ छाडेर आएका १० नेतासहित अध्यक्ष ओली पनि मुस्कुराइरहेका देखिन्थे। आफ्ना प्रमुख प्रतिद्वन्द्वीका सहयोगीहरुलाई एमालेमै राख्न सफल भएपछि बैठकको सुरुदेखि नै ओली प्रसन्न मुद्रामा देखिन्थे।
माधव पक्षका १० जना स्थायी कमिटी सदस्य आठ महिनापछि बैठकमा सहभागी हुँदा माओवादीबाट आएका चार जना सदस्य पनि सोही बैठकमा सहभागी थिए।
२०७५ जेठ २ अघिको पार्टी संरचना अनुसार सबै नेता कार्यकर्ताको जिम्मेवारी फर्काएको एमालेले २०७७ पुस ५ पछि आएका माओवादी नेताहरुलाई पनि एकसाथ स्वीकारेको छ।
दुवै कुरा एकै पटक अघि बढेपछि अध्यक्ष ओलीले अन्य स्थायी कमिटी सदस्यहरुसँग मुस्कुराउँदै सामूहिक फोटो खिचाए मन मिलेको सन्देश दिने गरी।
तर दुई दशकभन्दा लामो समयमा उनका सहयात्री नेपाल र झलनाथ खनाल भने नयाँ पार्टी निर्माणमा होमिएका छन्। उनीहरुले भोलि नै नयाँ पार्टीको प्रमाणपत्र पाउने सम्भावना छ।
Shares
प्रतिक्रिया