आज (बिहीबार) हरितालिका अर्थात् तीज पर्व। हिन्दू धर्मावलम्बी नेपाली महिलाले महादेवको पूजा आराधना गरी हर्षोल्सासपूर्वक मनाउँदै छन्।
तीजका लागि सरकारले आज महिला कर्मचारीलाई बिदा दिएको छ।
तीजमा व्रत बसेर महादेवको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
तीजको अघिल्लो दिन मिठोमसिनो परिकारसहितको दर खाने चलन छ। तीजमा विशेषगरी माइती एवं दाजुभाइले विवाहित छोरीचेली, दिदीबहिनीलाई बोलाई मिठोमसिनो खानेकुरासहितको दर खुवाउने परम्परा छ।
दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व तीनदिन अर्थात् ऋषि पञ्चमीसम्म मनाइन्छ।
कोरोना महामारीका कारण यस वर्ष पनि तीज पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारले आग्रह गरेको छ। यसैकारण यसपटक पनि काठमाडौंस्थित पशुपतिनाथ मन्दिर खुला गरिएको छैन। कोरोना संक्रमण बढेपछि गत वैशाख पहिलो सातादेखि नै पशुपतिनाथ मन्दिर बन्द छ।
तीजका दिन पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्र परिसरमा भने भक्तजनलाई जान निषेध नगरिएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताएका छन्।
पशुपति क्षेत्रमा जाँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न उनले आग्रह गरेका छन्।
हेर्नुहोस्, बिहीबार बिहान बन्द पशुपतिनाथ मन्दिर परिसरमा तिजको पूजाआजाका केही दृश्यः
Shares
प्रतिक्रिया