हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंमा एउटा जात्रा मनाइन्छ।
अन्य जात्राभन्दा फरक र अनौठो भएकाले यो जात्रालाई कहीँ नभएको भनिन्छ। यही कहीँ नभएको हाँडीगाउँको जात्रा बिहीबार धुमधामसँग मनाइएको छ।
हाँडीगाउँको जात्रा रथको आकार र त्यसमा प्रयोग गरिने सामग्रीका कारण पृथक र अलग छ।
यो जात्राका क्रममा ब्रह्मा, विष्णु र महेशको पूजा, आराधना गरी टोलटोलमा रथ घुमाएर मनाइन्छ।
'कहीँ नभएको जात्रा हाँडीगाउँमा' उखानका कारण देशभर चर्चित हाँडीगाउँको जात्रामा घुमाइने रथमा देवता माथिल्लो भागमा राखेर खट फनफनी घुमाइन्छ।
यो जात्रामा मैनबाट निर्मित फूलको प्रयोग हुन्छ। अर्कातिर अन्य जात्रामा गजुरलाई माथि र मूर्तिलाई तल राखिन्छ। तर यो जात्रामा त्यसको विपरीत अभ्यास हुन्छ।
त्यहीकारण यो जात्राको छुट्टै पहिचान छ। यो जात्रामा कमलासनका तीनवटा खट (रथ) हुन्छन्।
ती अन्य खटभन्दा फरक किसिमका हुन्छन् । अन्यत्रका खटमा गजुरलाई माथि आकाशतिर राखेर देवतालाई फेदमा प्रतिस्थापन गरिएको हुन्छ।
यो जात्राको खटमा गजुर अन्यत्रको भन्दा उल्टो फेदमा रहन्छ तर देवतालाई माथि आकाशतिर मान्द्राले बेरेर राखिन्छ। जसमा मैनले बनेका र अन्य फूलका हाँगाले घेरेर माझमा प्रतिस्थापन गरिन्छ। खटको त्यो भाग छाता आकारको हुन्छ। त्यसलाई जात्रामा तलबाट डोरीको सहयोगले दुई जनाले घुमाउँदै टोलमा डुलाउँछन्।
अन्य जात्राको भन्दा उल्टो गजुर फेदमा राखी छाता आकारको खटलाई घुमाउँदै चलाइने भएकाले यसलाई ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनिने गरिएको हो।
Shares
प्रतिक्रिया