आइतवारदेखि साउन महिना लागेको छ। व्रतको महिनाका रुपमा परिचित साउन सप्तरङ्गी इन्द्रेणीको मौसम पनि हो।
यो महिनालाई सबैतिर हरियाली, रंगचंगी फूल र सप्तरङ्गी इन्द्रेणीको याम पनि मानिन्छ।
साउनको हरियाली मौसमसँग घुलमिल हुने गरी महिलाहरु पनि सजिने गर्छन्।
प्रकृतिले दिएको साउनको रंगीचंगी मौसमसँग रमाउँदै महिलाहरुले हरिया राता चुरादेखि पोसाकसमेत किन्ने गर्छन्।
यो महिना हरियो, रातो र पहेँलो रंगमा महिलाहरु सजिन्छन्। यिनै कुरा किन्न यतिबेला काठमाडौंका असनसहितका स्थानमा महिलाहरुको भिड लाग्न थालेको छ।
साउनमा महिलाहरु खासगरी हरियो र रातो रंगमा सजिन्छन्। हरियो रंग प्रेम र वातावरणको मानिन्छ। रातोलाई सौभाग्य र पहेँलोलाई पवित्रताको विम्ब मानिन्छ।
यो महिना हरिया राता चुरा, पोते र मेहेन्दीमा सजिने रहर महिलालाई हुन्छ। बर्खे बाली लगाइसक्ने भएकाले यो महिना फुर्सदिला हुन्छन्। यही फुर्सदको समयमा साउने ब्रत बसेर महिलाहरु शिव मन्दिरमा पनि धाउँछन्।
चुरा पोते र साडीसहितका पोशाक किन्न महिलाहरु असन क्षेत्रमा पुग्ने गर्छन्। तर असन क्षेत्रका व्यापारीहरुले ग्राहकको खासै चहलपहल बढिनसकेको बताएका छन्।
Shares
प्रतिक्रिया