एसीसी प्रिमियर कपअन्तर्गत आज हुने भनिएको घरेलु टोली नेपाल र साउदी अरेबियाको खेल रद्द भएको छ।
बिहानैदेखि पानी परेर पिच भिजेपछि खेल हुने नहुने अनिश्चित थियो। बिहान ९ बजेदेखि हुने भनिएको खेल अनिश्चित भएपछि क्रिकेटहरु माथिल्लो मूलपानी मैदानमा पुगेका समर्थकहरुसँग सेल्फी लिन व्यस्त देखिन्थे।
पानी परेपछि बिहानैदेखि पिचलाई त्रिपालले छोपिएको थियो। दिउँसो २ बजे मात्रै खेल रद्द गर्ने तयारी थियो। तर पानी बढ्दै गएपछि आयोजकले मध्यान्ह साढे १२ मै खेल रद्द गरेका हुन्।
निरन्तर पानी परेपछि टस हुन नसकेको अवस्थामा खेल रद्द गरिएको हो। वर्षाका कारण मैदान भिजेकाले खेल रद्द गरिएपछि नेपाल ५ अंकसहित प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ।
आज नेपाल साउदीलाई हराउँदै सेमिफाइनलमा पुग्ने तयारीमा थियो। तर खेल रद्द भएपछि नेपाल पाँच अंकसहित सेमिफाइनल पुगेको हो।
खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडेका छन्। नेपाल समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। नेपालले समूह चरणको अन्तिम खेल अब कतारसँग खेल्ने छ।
Shares
प्रतिक्रिया