आज माघे सङ्क्रान्ति तथा माघी पर्व। विशेषगरी थारू समुदायले माघे संक्रान्तिलाई माघी पर्वको रूपमा मनाउने गर्छन्।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ। पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारू समुदायले माघीलाई नयाँ वर्षको रूपमा मनाउँछन्।
आजदेखि उत्तरायण सुरु भएकाले दिन लामो र रात छोटो हुँदै जान्छ। आज देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका नदीमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्छ। ती ठाउँमा मेला पनि लाग्ने गर्दछ।
नेपाली समाजमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने प्रचलन छ।
थारु समुदायमा माघीमा आफ्ना चेलीबेटीलाई उपहार दिने चलन छ। माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ।
माघी पर्वलाई नयाँ वर्षको रूपमा लिने थारू समुदायले पुस मसान्तसम्म आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने प्रचलन छ।
माघी पर्वको अवसरमा आज (सोमबार) थारू राष्ट्रिय माघी महोत्सव-२०८० मूल आयोजक समितिले काठमाडौँमा र्याली प्रदर्शन लगायतका कार्यक्रम गरेको छ।
थारू समुदायले पुस २९ र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाउने यसअघि नै पत्रकार सम्मेलनमार्फत समितिले जनाएको थियो।
तस्बिरमा हेर्नुस् काठमाडौँमा माघीको रौनक-
Shares
प्रतिक्रिया