देशको पहिलो र एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला यतिबेला अन्तर्राष्ट्रिय मान्यता गुमाउने संघारमा छ।
एएफसीका प्रतिनिधिले रंगशाला खेल्न अयोग्य रहेको प्रतिवेदन बुझाएसँगै रंगशालाको अन्तर्राष्ट्रिय पहिचान खतरामा परेको छ।
सन् १९८४ मा भएको पहिलो, १९९९ मा आठौँ र सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुद आयोजना भएको यो रंगशालाले गर्विलो इतिहास बोकेको छ।
तर पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) को एकअर्काप्रतिको तिक्तताका कारण रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने अवस्थामा छ।
वि.सं.२०७२ सालको भूकम्पले भत्किएको दशरथ रंगशाला सन् २०१९ मा भएको १३औँ एसियाली खेलकुदका लागि पुनर्निर्माण भएको थियो।
रंगशालामा फुटबलबाहेकका अन्य खेलसँगै मेला र महोत्सवले प्राथमिकता पाउन थालेपछि मैदान खराब बनेको छ। एएफसीको पछिल्लो प्रतिवेदनले मैदानको अवस्थामा सुधार भए पनि खेल्न भने अयोग्य नै रहेको बताएको थियो। मैदानसँगै फ्लडलाइट र सुरक्षाको चुनौती पनि पछिल्लो समय एएफसीले उठाएको छ।
एन्फा आन्तरिक समस्यासँग जुधिरहँदा पछिल्लो समय नेपाली फुटबल गुमनामजस्तै छ। एन्फाले ग्रासरुटदेखिका फुटबलमा लगानी बढाउन नसक्दा अन्तर्राष्ट्रिय प्रतियोगिताको भरमा सिनियर टोलीका खेलाडी छन्।
नेपालका महिला र पुरुष राष्ट्रिय टोली फिफा, एएफसी र साफले आयोजना गर्ने प्रतियोगिताकै भरमा छन्।
यसरी बनेको थियो दशरथ रंगशाला
नेपालका वीर सहिद दशरथ चन्दको नामबाट रंगशालाको नामकरण गरिएको हो।
त्यसअघि सानो टुँडिखेलको नामले परिचित दशरथ रंगशाला तत्कालीन राजा महेन्द्रको राज्याभिषेकभन्दा अघि सुरु भएको बताइन्छ।
वि.सं. २०२० सालमा राजा महेन्द्रले २ सय रोपनी जग्गा रंगशालाका लागि दिएका थिए। रंगशालाको निर्माणको जिम्मा तत्कालीन प्रधानसेनापति किरण शमशेरलाई दिइएको थियो।
रंगशालाको दोस्रो चरणको निर्माण कार्य वि.सं. २०२२ सालमा सुरु गर्ने प्रयास गरिएको थियो। तर आर्थिक अभावमा सफल हुन सकेन।
सोही वर्ष नेपाल र चीन सरकारबीच रंगशाला निर्माणका लागि पहिलो पटक सम्झौता भएको थियो। त्यो समयमा राजदरबारले खेलकुद परिषद् सञ्चालनका लागि १० हजार रुपैयाँ सहयोग गर्दै आएको थियो। तर खर्च धान्न नसकेपछि निर्माणको काम बीचमा नै रोकियो।
परिषद्को सदस्यसचिवमा सुशील शमशेर थिए। उनको सक्रियतामा नै राजा महेन्द्रले त्रिपुरेश्वरको २ सय रोपनी जग्गा परिषद्लाई दिएका थिए। यो जग्गाको लालपुर्जा वि.सं. २०३७ सालमा परिषद्ले मालपोत कार्यालबाट आफ्नो नाममा गरेको थियो। त्यतिबेला यो जग्गा १ सय ३२ रोपनीमा सीमित भयो।
२०२४ सालमा राखेप बोर्ड पुनर्गठन भयो। कुमार खड्ग विक्रम शाह परिषद्को नयाँ सदस्यसचिव बने। वसुन्धरा विक्रम शाह अध्यक्ष थिए। २०२७ सालमा प्यारापिट तयार पारेर कभर्डहल तयार भयो। २०२८ सालमा उद्घाटन भयो।
२०३४ सालमा शरदचन्द शाह राखेपको सदस्यचिवमा नियुक्त भए। रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन २०३५ देखि २०३७ सालसम्म काम गरियो। रंगशाला निर्माणसँगै वि.सं २०३८ सालमा यही रंगशालामा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो।
त्यसको दुई वर्षपछि २०४० सालमा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना भयो।
त्यो कालो दिन
२०४४ सालको फागुन साल दशरथ रंगशालाका लागि कालो दिन हो। ठूलो हावाहुरीका कारण भागाभाग गर्ने क्रममा ७१ जनाको निधन भयो।
एन्फाको आयोजनामा भएको त्रिभुवन च्यालेन्ज शिल्डको फाइनलमा हावाहुरी चल्दा दर्शकले भरिएको रंगशालामा भागदौड भएको थियो।
७१ जनाको मृत्यु र २ सयभन्दा बढी घाइते हुँदा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशर बहादुर विष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए।
सन् १९९९ मा आठौँ दक्षिण एसियाली खेलकुद आयोजना गर्ने निर्णय भएसँगै चीन सरकारले आधुनिक रंगशाला निर्माणमा सहयोग गरेको थियो। आठौँ साफकै सन्दर्भमा चीनले रंगशालामा फ्लड लाइट र स्कोर बोर्ड राखिदिएको थियो।
त्यसपछि निरीक्षण नै नभएको फ्लडलाइटमा अहिले अन्तर्राष्ट्रिय मान्यता पनि पूरा गर्न सकेन।
गत वैशाख २१ र २२ गते एएफसीका प्रतिनिधिले गरेको निरीक्षणमा फ्लडलाइट १२ सय लक्स हुनुपर्नेमा करिब ७ सय लक्स मात्र रहेको प्रतिवेदन बुझाएका छन्। फ्लडलाइटसँगै सेफ्टी सर्टिफिकेट पनि पाउन नसक्दा नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला अन्तर्राष्ट्रिय मान्यता गुमाउने संघारमा छ।
थप तस्बिर
Shares
प्रतिक्रिया