मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने र चतुर्दशीका दिन अर्थात् भोलिपल्ट बिहान शतबीज छर्ने प्रचलनले यस वर्ष पनि निरन्तरता पाएको छ।
काठमाडौंको पशुपतिनाथ मन्दिर वरपर बेलुकी दीपदान गरेर श्रद्धालु भक्तजनहरुले बिहान शतबीज छरेका हुन्। कोरोनाको कारण यो वर्ष मानिसहरुको कम उपस्थिति रहेको थियो।
पशुपति क्षेत्र विकास कोषले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी यो वर्ष दीपदानमा सहभागी नहुन भने पनि मानिसहरु पशुपतिपरिसरमा दीपदान गर्न पुगेका हुन्। यद्यपि भौतिक दूरी कायम गरी शतबीज छर्न भने दिने कोषले जनाएको थियो। सोही कारण बिहान शतबीज छर्नेको बाक्लै उपस्थिति थियो।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेका थिए। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिवालयमा दीपदान गरेका थिए। कैलाशडाँडामा शतबीज छर्न निषेध गरिए पनि मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा भने शतबीज छर्न दिइएको थियो।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान शतबीज भने छर्न दिएकाे थियाे। बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ ।
शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ।
Shares
प्रतिक्रिया