नेपालको उत्तरी छिमेकी मुलुक चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भइसकेको छ। अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र चीनले अहिले ठूला सहरहरूसँग गाउँलाई जोडिरहेको छ।
विशाल राजमार्ग निर्माण, रेल सञ्जाल विस्तार, व्यवस्थित सहरको विकास र कृषि उद्यमको व्यापकता चीनका मुख्य आन्तरिक प्राथमिकता विषय हुन्।
चीनले खासगरी ठूलो जनघनत्व रहेका पूर्वी र दक्षिणी क्षेत्रको विकासमा अर्बौँ डलर लगानी गरिरहेको छ। नेपालमा खासगरी पहाडी र हिमाली गाउँहरू रित्तिँदै गर्दा चीनले भने अलग्गै अभ्यास गरिरहेको छ।
कृषि उद्यमलाई आक्रमक बनाएको चीनले अहिले ठूला सहरहरूसँग धमाधम गाउँलाई जोडिरहेका छ।
यसका लागि उसले तीव्र गतिको रेल सञ्जाल, १० लेनसम्मका विशाल सडक, विद्युत् सञ्जाल, ग्रामीण सडक, ढल निकाससहितका पूर्वाधार धमाधम बनाइरहेको छ।
चीनले ग्रामीण बासिन्दालाई ठूला सहरसम्मको पहुँचका लागि टोल टोल र गल्लीमा समेत दुई पांग्रे सवारी गुड्ने पक्की बाटो बनादिएको छ।
ग्रामीण बस्तीका ती साना सडकबाट दुई पांग्रे र तीन पांग्रे जस्ता साधनमार्फत कृषिउपज र अन्य सामान किसानहरूले सजिलै सहरसम्म पुर्याउन सम्भव भएको छ।
तीव्र सहरीकरणको दिशामा अघि बढिरहेको युन्नान प्रान्तस्थित बाओसाननजिकै एउटा स्थानीय गाउँ छ। जसलाई यिलु गाउँका रुपमा चिनिन्छ।
विस्तारै सहरीकरणको असर देखिन थालेको यो गाउँका बासिन्दा खेतीपातीमै आश्रित छन्। उनीहरूका अधिकांश घर पनि नेपालकै शैलीका कच्ची चुच्चो धुरी भएका छन्।
यहाँका किसानहरू मकै, फलफूल र सब्जी खेती गर्छन्। उनीहरूले उत्पादन गर्ने खाद्य सामग्री र फलफूल बेच्ने बजार बाओसानमै चीन सरकारले व्यवस्थापन गरिदिएको छ।
सम्बन्धित समाचार
- नेपालीका लागि सम्भावनाको ढोका खोल्दै युन्नान
- बागमतीलाई सम्झाउने कुनमिङ सहरबीचको पाङ्लोङ (तस्बिरहरू)
- जहाँ रुखको उपचार गरिन्छ, टेको लगाएर जोगाइन्छ (तस्बिरहरू)
- चीनका अल्पसंख्यक : नेपाली आदिवासी जस्तै भूमिपूजा गर्छन्, ढोलझ्याम्टा बजाउँदै नाच्छन्
यो गाउँमा अलिक हुनेखानेले आफ्नो घरको कम्पाउन्डमा ठूलो तामाको ढोका बनएका छन्। आर्थिक अवस्था केही कमजोर हुनेका घरमा स्टिल र काठ मिसाएर ठूला ढोका राखिएको छ।
यो गाउँमा चीन सरकारले खानेपानी, बिजुली र दुई पांग्रे सवारी गुड्ने गरी पक्की बाटो पनि बनाइदिएको छ। त्यही बाटो हुँदै दुई पांग्रे साधनमा राखेर यो गाउँबासी आफ्ना छोराछोरीलाई बाओसानस्थित स्कुलमा बिहान साढे ६ बजे नै पुर्याइसक्छन्।
अहिले पनि यो गाउँका किसानहरू बिहानैदेखि खेतबारीमा काम गरिरहेका भेटिन्छन्। नेपालकोभन्दा लामो आकारको बिँड भएको कोदालो र कुटेले उनीहरू बारी खनिरहका भेटिन्छन्।
पानी प्रशस्त भएकाले यहाँ अन्न र सागसब्जी पनि राम्रै उत्पादन हुन्छ। सहरीकरण बढ्दै गए पनि गाउँलेले कुवा र परम्परागत धारा पनि जोगाएका छन्।
औसत १५ देखि २५ डिग्री तापक्रम हुने बाओसान नजिकैको यो गाउँका हरेक घरमा मानिसहरूको बसोबास छ।
गाउँमै सबै सुविधा आइपुगेकाले उनीहरू सहरतिर छिरिसकेका छैनन्, त्यहीकारण गाउँमा चहलपहल बाक्लो देखिन्छ।। बरू गाउँमै उनीहरुले आफ्नो पुरानो ढाँचाका घरहरूलाई नयाँ र आधुनिक स्वरुपमा निर्माण गरिरहेका पनि भेटिए।
Shares
प्रतिक्रिया