नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला नाडा अटो शो राजधानी काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेलाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका हुन्।
हरेक वर्ष आयोजना हुँदै आएको अटो शोको यो चौधौँ संस्करण हो। १५ गतेसम्म आयोजना हुने शोमा यसपटक १ सय ६० वटा स्टल र ब्लकहरु रहेका छन्। उद्घाटनसँगै अर्थमन्त्री डा. खतिवडाले अटो शोको स्टलहरुको अवलोकन समेत गरेका छन्। नेपालीहरुको ठूलो चाड दशैँअघि सवारीसाधन प्रदर्शनी भएको हो।
प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिको सेवा बीमासम्बन्धी छुट्टाछुट्टै स्टलहरु रहेका छन्। यससम्बन्धी जानकारी दिने म्यागजिन, पत्रपत्रिकाका लागि पनि साझा मिडिया स्टल राखिएको छ। प्रदर्शनीमा अन्तर्रा्ष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहेको छ।
१४औँ संस्करणको शोमा २३ ब्रान्डका चारपांग्रे सवारीसाधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, नौ ब्रान्डका टायर, पाँच ब्रान्डका ब्याट्री, १४ पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरु समेत सहभागी भएका छन्। विगतका प्रदर्शनीभन्दा यसपटक व्यवस्थापनलाई अझै व्यवस्थित बनाइएको आयोजकको दाबी छ।
६ दिनसम्म चल्ने शोमा ७५ हजार मानिसले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ। प्रदर्शनीमा ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जीपीएक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटरसाइकल टिकटको लक्की ड्र गरी भाग्यशाली विजेतालाई उपहारको व्यवस्था समेत गरिएको छ।
Shares
प्रतिक्रिया