नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा शेरबहादुर देउवाले फेरि सभापति बन्न उम्मेदवारी दिने तयारी गरिरहेका छन्।
७६ वर्षीय देउवालाई सभापतिमा चुनौती दिन कस्सिएका रामचन्द्र पौडेल ७७ वर्षका भइसकेका छन्।
देउवा र पौडेलको विकल्पमा विकल्पमा सभापतिकै उम्मेदवारी दिने तयारीमा रहेका अधिकांश नेता पनि ६५ हाराहारीका छन्।
देउवा र पौडेललाई पहिलो पुस्ताको नेता भन्दै दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताइरहेका शेखर कोइराला, सुजाता कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र शंशाक कोइराला छन्। कृष्ण सिटौलाले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्। तर, पहिलो पुस्तालाई विस्थापन गरेर दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरेका उनीहरु आफैँ ६३ वर्षमाथिका हुन्।
‘कांग्रेसमा ७० वर्षमाथिका बुढापाकाहरुले फेरि नेतृत्व गर्ने तयारी गरिराखेका छन्,’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिले नेपालखबरसँग भने, ‘हुन त कांग्रेसमा युवा भनिएका दोस्रो पुस्ता नै ६५ देखि ६७ वर्षका छन्। मेरो समर्थन यिनै दोस्रो पुस्ताका युवा नेताहरुलाई छ।’
नेता गिरिले कांग्रेसमा नेतृत्व हस्तान्तरण हुनुपर्छ र युवा पुस्ता आउनुपर्छ भनेर आफूहरु लागिरहेको बताए।
‘देउवा र पौडेलबाट कांग्रेसलाई मुक्ति दिनुपर्छ, दोस्रो पुस्ताका नेताहरुले कांग्रेस हाँक्न सक्छन्,’ उनले थपे।
कृष्ण सिटौला, ७२
२००६ कात्तिक २४ गते तेह्रथुममा जन्मिएका कृष्ण सिटौला कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने तयारीमा छन्।
सिटौला अगामी कात्तिकमा ७३ लाग्दैछन्।
यदि उनको उम्मेदवारी परे पौैडेल र देउवापछि सबैभन्दा वृद्ध उम्मेदवार उनी नै हुनेछन्।कांग्रेसको १३ औँ महाधिवेशनमा देउवासँगै पौडेल र सिटौलाको पनि उम्मेदवारी परेको थियो।
सिटौला तेस्रो मात्रै भए। बाँकी दुई उम्मेदवारले पनि बहुमत ल्याउन नसक्दा फेरि दोस्रोपटक निर्वाचन भएको थियो। त्यसबेला भने सिटौलाले देउवालाई समर्थन गरे, जसकारण देउवा सभापति बने।
कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने तय भएको छ। महाधिवेशनमा सभापति बन्न सिटौला जुटेका छन्। गौशालामा उनले सम्पर्क कार्यालय खोलेका छन्।दैनिक जिल्ला तहका नेताहरु र क्रियाशील सदस्यहरुसँग सिटौलाले त्यही सम्पर्क कार्यालयमा भेट गरिरहेका छन्।
उनले आफूनिकटका नेताहरुसँगको छलफलमा क्रियाशील सदस्यता टुंगो लागेपछि मात्र उम्मेदवारी घोषणा गर्ने बताएका छन्। क्रियाशील सदस्यको विवाद असार मसान्तसम्ममा टुंग्याउने नेताहरुको भनाइ छ।
सिटौलाले निकटस्थहरुसँग अघिल्लो पटक (१३ औँ महाधिवेशनमा) तयारी गर्न नपाएको स्वीकार गर्दै अहिले धेरै मिहेनत गरिएको बताउने गरेका छन्।
अहिले महाधिवेशनको तयारी राम्रोसँग भएकैले उनी सभापतिको उम्मेदवारी दिने कसरतमै रहेको निकटस्थलाई बताउँछन्।
‘उमेरको हिसाबले उहाँले सभापतिमा दाबी गर्ने यो नै अन्तिम पनि हुनसक्छ,’ उनी निकट एक नेताले भने, ‘अघिल्लो पटक भन्दा तयारी राम्रो भएकोले यो पटक पनि उहाँको सभापतिमा उम्मेदवारी पर्छ।’
शेखर कोइराला, ७१
सभापतिमा उम्मेदवारी घोषणा गर्ने दोस्रो तहका नेतामा पर्छन् शेखर कोइराला। हाल केन्द्रीय सदस्य रहेका उनी महाधिवेशनअघि अर्थात भदौ ६ गतेबाट ७२ वर्षमा लाग्दैछन्। शेखर २००७ भाद्र ६ गते विराटनगरमा जन्मिएका हुन्।
कांग्रेसको पहिलो पुस्ता (पौडेल–देउवा) हटाएर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरिरहेका उनको उमेर सिटौला भन्दा एक वर्ष कम मात्र छ।
७५ वर्षपछि सक्रिय राजनीति नगर्ने घोषणा गरेका उनले १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्नैपर्ने बाध्यात्मक अवस्था रहेको बताउने गरेका छन्।
‘उहाँले सभापति भए पनि नभए पनि क्रियाशील राजनीति गर्ने यो अन्तिम पटक भनिरहनुभएको छ,’ कोइरालाका प्रेस संयोजक दिनेशचन्द्र थपलियाले नेपालखबरसँग भने, ‘सभापति भए ठीकै छ, अन्य पदमा उहाँको रुचि छैन।’
उमेरका हिसाबले अन्तिम पटक नेतृत्व गर्ने शेखरको चाहना रहेको थपलियाले बताए।
सभापति बन्ने योजनाले नै शेखरले धेरै जिल्लाको भ्रमण गरी त्यहाँको वस्तुस्थिति र नेताहरुको अवस्था अध्ययन गरिसकेका छन्।
सुजाता कोइराला, ६७
६७ वर्षीया सुजाता कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेकी छन्। प्रभावशाली नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी उनी २०१० साल माघ २७ गते विराटनगरमा जन्मिएकी हुन्।
अहिले कांग्रेसकी केन्द्रीय सदस्य रहेकी उनले केही हप्ताअघि वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग लन्च बैठक गरेकी थिइन्।
प्रकाशमान सिंह, ६६
२०१२ चैत २१ गतेका प्रकाशमान सिंह पनि कांग्रेसको सभापति पदका आकांक्षीमध्येका एक हुन्।अहिले ६६ वर्ष भएका सिंह, कांग्रेसका संस्थापकमध्येका एक गणेशमान सिंहका छोरा पनि हुन्।
काठमाडौं क्षेत्र नम्बर १ बाट पटकपटक प्रतिनिधि सभा निर्वाचन जित्दै आएका सिंह रामचन्द्र पौडेल निकट भए पनि अहिले आफैँले सभापतिको दाबी गरिहेका छन्।
विमलेन्द्र निधि, ६५
कांग्रेसका प्रभावशाली नेता तथा तत्कालीन महामन्त्री महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि पनि सभापतिको दौडमा छन्।
२०१३ आश्विन १० मा जनकपुरमा जन्मिएका उनी कांग्रेसका उपसभापति छन्। उनी आगामी असोज १० बाट ६६ लाग्नेछन्।
लामो समयसम्म सभापति शेरबहादुर देउवाकै साथमा रहेका निधिले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिनेग तयारी गरेका उनका प्रेस संयोजक रामजी दाहालले बताए।
‘१३ औँ महाधिवेशनमा सभापति देउवाले निधिलाई १४ औँ महाधिवेशनमा सभापति बनाउने प्रतिबद्धता जनाउनुभएको थियो, त्यही भएर निधिले तयारी थालिसक्नुभयो,’ दाहालले भने, ‘अहिले कांग्रेसका प्रभावशाली नेतापुत्रहरुमध्ये उहाँ पनि सभापतिको दाबेदार हुनुहुन्छ।’
शशांक कोइराला, ६३
कांग्रेसका संस्थापकमध्येका सबैभन्दा प्रभावशाली नेता बीपी कोइरालाका छोरा शशांक कोइराला सभापतिको उम्मेदवारी घोषणा गर्नेमध्ये सबैभन्दा कान्छा हुन्।
हाल महामन्त्री रहेका उनी २०१५ कात्तिक ८ मा भारतको पटनामा जन्मेका हुन्। अहिले उनी ६३ वर्षका भए।
महामन्त्री रहेकाले उनको सभापतिमा दाबी स्वभाविक रहेको निकट नेताहरु बताउँछन्। पछिल्ला दिन विमलेन्द्र निधि, प्रकाशमान सिंह र कोइरालाबीचमा महाधिवेशनकै विषयमा केन्द्रित रहेर छलफल हुने गरेको छ।
उनीहरुबीच असार ४ गतेदेखि असार १५ गतेसम्म तीनै नेताको निवासमै लञ्चसहितको छलफल पनि भइसकेको छ। आगामी महाधिवेशनमा तीनै जना मिलेर अघि बढेको अवस्थामा पहिलो पुस्तालाई चुनौती दिनसक्छन्।
कांग्रेसमा युवामध्ये गगन थापा र विश्वप्रकाश शर्मा निकै लोकप्रिय छन्। तर, कांग्रेसका नेताहरुले पत्याउनै गाह्रो पर्ने केन्द्रीय सदस्य गिरिको भनाइ छ।
‘हुन त गगन र विश्वप्रकाशले नेतृत्व गरिराख्छु भनिरहेका छन्,’ गिरिले भने, ‘उनीहरुको बोली पनि बिक्छ। उनीहरुको बोली लोकलाई रिझाउने खालको छ। तर, कांग्रेसकै अरु नेताहरुले यिनीहरुलाई पत्याउलान र?’
नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला कांग्रेस उमेरले भन्दा पनि एजेन्डाले चल्नुपर्ने बताउँछिन्।
‘राजनीति उमेरले होइन, एजेन्डाले हाँक्नुपर्छ,’ संग्रौलाले नेपालखबरसँग भनिन्, ‘सबै पुस्ताको सहभागिताले कांग्रेस यहाँसम्म आइपुगेको हो, अहिले उमेरतिर लागियो भने त्यसले ग्याप गराउन सक्छ।’
कांग्रेसकै कतिपय नेताहरु उमेर बढेसँगै क्रियाशीलतामा शिथिलता आउने भएकाले युवाहरु राजनीतिमा आउनुपर्ने बताउँछन्।
केन्द्रीय सदस्य गुरु घिमिरेले नयाँ पुस्ताका नेताहरु नेतृत्वमा नआउने हो भने कांग्रेसले अबको राजनीतिमा प्रतिस्पर्धा गर्नै कठिन हुने बताए।
उनका अनुसार अहिले दोस्रो पुस्ताका नेताहरुले नेतृत्वको अवसर पाए त्यसपछि तेस्रो र युवा पुस्तालाई नेतृत्व लिने ढोका खुल्ने उनको भनाइ छ।
Shares
प्रतिक्रिया