नेकपा एमालेले अर्को बैठकमा असन्तुष्ट भनिएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सहभागी हुने जनाएको छ। नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार अपरान्ह बसेको संसदीय दलको बैठकपछि बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्को पटक सहभागी गराउने गरी माधव पक्षसँग छलफल भइरहेको जानकारी दिए।
उनले केही नेताहरु असन्तुष्ट समूह भनेर बैठकमा नआएको कुरालाई एमालेले गम्भीरतापूर्वक लिएको बताए। 'हाम्रो दलका केही सांसद र केही नेताहरु असन्तुष्ट समूह भनेर बैठकमा अनुपस्थित रहेको कुरालाई हामीले गम्भीरतापूर्वक लिएका छौँ', उनले भने, 'असार २७ गते नै हामीबीच कार्यदलस्तरमा १० बुँदे सहमति भइसकेको छ।'
उनले उक्त निर्णयलाई आज बसेको स्थायी कमिटीले अनुमोदन गरिसकेको पनि जानकारी दिए। 'कार्यदलले गरेको निर्णयलाई स्थायी कमिटीले सर्वसम्मतिले अनुमोदन गरेको छ', भट्टराईले भने, 'आज असन्तुष्ट भएर अनुपस्थित भएका सांसदहरुलाई अर्को बैठकमा उपस्थित हुने गरी वातावरण मिलाइँदैछ। हामी त्यसका लागि आवश्यक छलफल र संवाद गरिरहेका छौँ।'
Shares
प्रतिक्रिया