प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको आदेशले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने योजना किन बनाए?
आइतबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा देउवाले विश्वासको मत लिँदै छन् भन्ने खबर बिहानैदेखि फैलिएसँगै यो प्रश्न पनि एकाएक उठ्यो।
***
शुक्रबार सिंहदरबारमा सत्ता साझेदार कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो।
त्यो बैठकमा सांसद संख्याबारे हिसाब नै भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
‘हामीले बैठकमा सांसद संख्याको हिसाब नै गरेका थियौँ’, ती नेताले भने, ‘निर्णायक अवस्थामा रहनुभएका माधव नेपाल पक्षबाट सांसद संख्या बढ्ने सूचना आयो।’
यस्तै शनिबार साँझ भने गठबन्धनको बैठक बसेको थियो। सो गठबन्धनमा सत्ता साझेदार दलसहित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए।
‘त्यस बैठकमा जसपाको उपेन्द्र यादव पक्षमा रहेका सांसद संख्या बढेको जानकारी गराइयो’, सहभागी अर्का एक नेताले नेपालखबरसँग भने, ‘हामीले संख्या हिसाब गर्दा विश्वासको मत लिने उपयुक्त समय संसद बैठक बसेको पहिलो दिन हुने निष्कर्ष निस्कियो।’
हो, यिनै दुई बैठकका निर्णयले देउवा आजै विश्वासको मत लिने निर्णयमा पुगेका हुन्।
प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेता नेपाल उत्रिएका थिए।
उनले ओली कदमको विरोध गर्दै प्रतिनिधि सभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
देउवालाई विश्वासको मतका लागि निर्णायक माधव कुमार नेपाल पक्ष छन्।
तर, दुई दिनको बैठकमा देउवाको पक्षमा १ सय ४५ भन्दा बढी सांसदको समर्थन प्राप्त हुने देखिएको नेताहरु बताउँछन्।
‘हामीले सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेदेखिको अवस्थाको समीक्षा गरेका थियौँ’, देउवानिकट एक नेताले भने, ‘शनिबार बेलुकासम्म १ सय ४५ भन्दा बढी सांसदको समर्थन पाइने देखिएपछि विश्वासको मत लिने तयारी भएको हो। त्यही आधारमा दलका नेताहरुलाई सर्कुलर जारी गरिएको हो।’
त्यसो त एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेताहरु पार्टी मिलाउन सक्रिय भएपछि कांग्रेसले छिटो गर्न चाहेको हो।
‘देउवाजीलाई विश्वासको मतका लागि माधवजी निर्णायक हुनुहुन्छ, उहाँलाई भड्काउलान् भनेर छिट्टै गरिएको हो’, देउवाका निकट ती नेताले भने।
Shares
प्रतिक्रिया