ad ad

राजनीति


चुनावी प्रक्रिया छोट्याएर महाधिवेशन गर्ने कांग्रेसकाे तयारी

चुनावी प्रक्रिया छोट्याएर महाधिवेशन गर्ने कांग्रेसकाे तयारी

केशव सावद
साउन ४, २०७८ सोमबार १८:५९,

सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन चुनावी प्रक्रिया घटाएर गर्ने तयारी भइरहेको छ। पार्टीका तल्लो तहका केही समितिहरुको अधिवेशन थाँती राखेर महाधिवेशन गर्ने योजनामा कांग्रेस जुटेको हो। 

कांग्रेसका एक नेताले वडा, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको बताएका छन्। संवैधानिक व्यवस्थाअनुसार आगामी भदौमा महाधिवेशन गर्नुपर्ने बाध्यताले पार्टीमा केही तहका अधिवेशन रोकेर  अघि बढ्ने तयारीमा कांग्रेस जुटेको हो। 

कांग्रेसको विधानमा टोलदेखि केन्द्रसम्म आठ तहका संचरना हुने गरी व्यवस्था गरिएको छ। विधानअनुसार सबैभन्दा तल टोल कार्यसमिति, त्यसपछि क्रमशः वडा कार्यसमिति, नगर÷गाउँ कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिसहतिका संरचना छन्।

महाधिवेशन मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यता वितरण र नवीकरण ढिलाइ भइरहेको अवस्थामा पाँच तहका अधिवेशन नगरी महाधिवेशन तयारी भइरहेको सभापति पदका आकांक्षी एक नेताले नेपाल खबरलाई बताए।
कांग्रेसको गत असार ४ गतेको केन्द्रीय कार्यसमिति बैठकले १४ औँ महाधिवेशन यही भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। 

उक्त कार्यतालिकाअनुसार गाउँ÷नगर, वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ। 

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ।

कांग्रेसमा अहिलेको तयारीअनुसार अधिवेशन गरिए साउन १२ का लागि निर्धारित वडा अधिवेशन, साउन २३ का लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र भदौ १६ गते तय भएको केन्द्रीय महाधिवेशनमात्रै गरिने भएको छ। 

यद्यपि, कांग्रेस नेताहरुले उक्त कार्यतालिका फेरि संशोधन हुने सम्भावना रहेको बताउँदै आएका छन्। उनीहरुका अनुसार केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत राखेर अन्य तहका कार्यसमितिको अधिवेशन मिति संशोधन गरिने छ। 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत राखेर तल्लो तहको अधिवेशन तालिका हेरफेर हुन सक्ने प्रतिक्रिया दिएका छन्। 

क्रियाशील सदस्यता प्रतिवेदन भोलि

कांग्रेसले महाधिवेशन तयारीका लागि गठित क्रियाशील सदस्यता छानविन समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिले बारा र सप्तरीबाहेकका जिल्लाको कार्यप्रगति समेटेर बनाएको प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका देउवालाई बुझाउने तयारी गरेको हो। 

समितिका प्रवक्ता प्रदीप पौडेलले सभापति देउवालाई मंगलबार प्रतिवेदन बुझाइने जानकारी दिए। समितिले बारा र सप्तरीबाहेक ७५ जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरण टुंगो लगाइसकेको छ।

बारा र सप्तरीमा पार्टीको आन्तरिक समायोजनबारे विवाद देखिएका कारण क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रियामा ढिलाई भएको बताइएको छ। 

समिति संयोजक रमेश लेखकले गत शुक्रबार बालुवाटारमा बसेको पदाधिकारी बैठकपछि बारा र सप्तरीको विवाद केन्द्रीय नेतृत्वले टुंग्याउने गरी प्रतिवेदन बुझाइने बताएका थिए।

क्रियाशील सदस्यता छानबिन समितिका अनुसार अहिलेसम्म कांग्रेसका नयाँ र पुराना गरी आठ लाख ५३ हजार सदस्यको नाम ‘इन्ट्री’ भइसकेको छ। समितिले विदेशस्थित जनसम्पर्क समितिबाट आउने नामावलीसमेत गरेर झण्डै नौ लाख क्रियाशील सदस्य हुने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .