ad ad

राजनीति


कांग्रेसको १४औं महाधिवेशनका लागि प्रारम्भिक खाका तयार

कांग्रेसको १४औं महाधिवेशनका लागि प्रारम्भिक खाका तयार

केशव सावद
साउन १३, २०७८ बुधबार १३:३२,

नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनअन्तर्गत आठै तहका अधिवेशनका लागि प्रारम्भिक खाका तयार पारेको छ। केन्द्रीय निर्वाचन समितिले खाका बनाएको हो।

महादेव यादवको संयोजकत्वमा रहेको निर्वाचन समितिले अधिवेशनका लागि प्रारम्भिक खाका बनाएर पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा पेससमेत गरिसकेको छ। 

खाका पार्टीले अनुमोदन भने गरिसकेको छैन। निर्वाचन समितिका संयोजक यादवले अधिवेशनका लागि तयार खाका पार्टीलाई  बुझाइसकेको र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्न बाँकी रहेको जानकारी दिए। 

‘हाम्रो तर्फबाट तयार भइसकेको छ। एप्रुभ्ड भएको छैन। केन्द्रीय समितिले अनुमोदन गर्छ,’ नेपालखबरसँग उनले भने, ‘फाइनल भएपछि हामी अधिवेशनका लागि तालिका बनाउँछौं।’

क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता वितरण र नवीकरण सकेर पार्टीलाई सूची बुझाइसकेका कारण अब छिट्टै निर्वाचन कार्यतालिका बनाइने जानकारी पनि संयोजक यादवले दिए।

‘पार्टीले क्रियाशील सदस्यता फाइनल गरेपछि तालिका दिन्छ। पार्टीले दिएको तालिकाअनुसार बनाउँछौं,’ उनले भने, ‘बाधा त छ तर हाम्रो तर्फबाट होइन।’

आगामी भदौ १६–१९ मै केन्द्रीय महाधिवेशन सम्भव छ भन्ने नेपालखबरको प्रश्नमा संयोजक यादवले त्यसकै लागि निर्वाचन समितिले तयारी गरिरहेको दाबी गरे।

‘वर्षा–बाढी, कोरोना छ। कति सम्भव कति असम्भव भन्न सहज छैन,’ उनले भने, ‘हामी अधिवेशन सम्पन्न गर्ने तयारीमै छौं।’

निर्वाचन समितिले पार्टीलाई बुझाएको निर्वाचनको प्रारम्भिक खाकामा प्रक्रिया सुरु गरेको १९औं दिनमा वडा तहमा अधिवेशन गर्न सकिने उल्लेख छ। निर्वाचन निर्देशिका छपाइका लागि ५ दिन र निर्देशिका, विधान, नियमावली, प्रमाणपत्र प्याकिङका लागि ३ दिन लाग्ने समितिले जनाएको छ।

यस्तै जिल्लामा पु¥याउन ४ दिन, जिल्लामा छलफल गर्न २ दिन, जिल्लाबाट वडामा पु¥याउन ५ दिन लाग्ने प्ररम्भिक खाकामा उल्लेख गरिएको छ।

निर्वाचन समितिले प्रक्रिया सुरु भएको २३औं दिनमा पालिकाको, २८औं दिनमा प्रदेशसभा क्षेत्रीय कार्यसमितिको, ३०औं दिनमा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको, ३३औं दिनमा दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको र ३८औं दिनमा प्रदेश सभा अधिवेशन  गर्न सकिने खाकामा उल्लेख छ।

समितिले प्रक्रिया सुरु गरेको ५३औं दिनमा केन्द्रीय महाधिवेशन आयोजना गर्न सकिने जनाएको छ। ‘प्रक्रिया सुरु भएको ५१ देखि ५३ दिनमा केन्द्रीय अधिवेशन आयोजना गर्ने गरी निर्वाचनको खाका हामीले पार्टीमा बुझाएका छौं,’ निर्वाचन समितिका एक सदस्यले भने।

गत असार ४ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको हो। 

कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२, गाउँ/नगरपालिका अधिवेशन साउन १६ र प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते गरिने उल्लेख छ। 

यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाका अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाका अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गतेलाई निर्धारण गरिएको छ। 

तर गत शनिबार सभापति शेरबहादुर देउवाको निवास (बूढानीलकण्ठ) मा बसेको पदाधिकारी/पूर्वपदाधिकारी बैठकले साउन १२ गते गर्ने भनिएको गाउँ÷नगर वडा अधिवेशन स्थगन गरेको हो।  

बैठकपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता छानबिन समितिले  सभापति देउवालाई प्रतिवेदन बुझाइसकेपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर नयाँ कार्यतालिका निर्धारण गर्ने जानकारी दिए। 

कार्यतालिकाबारे छलफल गर्न आज (बुधबार) कांग्रेस पदाधिकारी/पूर्वपदाधिकारी बैठक बस्दै छ। सभापति देउवाको निवासमा बस्ने बैठकले क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन र अधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने बताइएको छ।  

क्रियाशील सदस्यता विवाद नसुल्झिएका कारण साउन १२ मा हुने भनिएको गाउँ/नगर वडा अधिवेशन स्थगन भएसँगै नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्योलमा परेको छ। 

गाउँ/नगर वडा अधिवेशन रोकिएपछि अन्योलमा परेको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न विकल्प खोजी भइरहेको छ। कांग्रेस भदौ १९ सम्म महाधिवेशन सक्नैपर्ने संवैधानिक बाध्यतामा छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा पार्टीको केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने अडानमा रहे पनि संस्थापनइतर समूह र संस्थापन पक्षमै रहेका दोस्रो तहका नेता भने विकल्पको खोजीमा जुटेका हुन्।

कांग्रेसका सांगठनिक संरचनालाई टोलस्तरदेखि केन्द्रसम्म आठ तहमा हुनेगरी विधानमा व्यवस्था गरिएको छ। विधानअनुसार सबैभन्दा तल टोल कार्यसमिति, त्यसपछि क्रमशः वडा कार्यसमिति, नगर/गाउँ कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्र कार्यसमिति, प्रतिनिधि सभा निर्वाचन क्षेत्र कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति पर्छन्। 

संविधानमा हरेक साढे ५ वर्षभित्र सबै राजनीतिक दलले केन्द्रीय अधिवेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । कांग्रेसको विधानले ४ वर्षको कार्यकाल तोकेको छ । यस अवधिभित्र महाधिवशेन हुन नसके एक वर्ष थप्न सकिने प्रावधान छ । संविधानले ५ वर्षभित्र गर्न नसके कारण खुलाएर थप ५ महिना बढाउन सकिने व्यवस्था गरेको छ । भदौ १९ देखि संविधानले दिएको थप ६ महिना पनि सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .