ad ad

राजनीति


तीन सातामा पनि देउवाले किन गर्न सकेनन् मन्त्रिमण्डल विस्तार?

तीन सातामा पनि देउवाले किन गर्न सकेनन् मन्त्रिमण्डल विस्तार?

सागर न्यौपाने
साउन १४, २०७८ बिहिबार २१:४१,

सरकार गठन भएको तीन साता हुन लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्। 

सरकारलाई पूर्णता दिन सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक पनि दैनिकजसो बसिरहेको छ। प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग यसै विषयमा दैनिक छलफल गरिरहे पनि सरकारलाई पूर्णता दिन भने सकिरहेका छैनन्।  

नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनको समर्थन पाएका देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए।सर्वाेच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। 

जसअनुसार देउवाले यही साउन ३ गते ४ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्। जसमा कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन्। 

संवैधानिक व्यवस्थाअनुसार राज्यमन्त्री समेत २५ जनाभन्दा बढी मन्त्री बनाउन पाइँदैन। बाँकी २० जना मन्त्री नियुक्तिमा भने पाँच दलीय गठबन्धनमा कुरा मिल्न नसकेको नेताहरु बताउँछन्। 

आइतबारसम्ममा सरकारले पूर्णता पाउने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का बताउँछन्। 

‘शीर्ष नेताहरु परामर्शमा भएकाले शुक्रबार सरकारले पूर्णता पाउने सम्भावना कम छ,’ खड्काले भने, ‘प्रधानमन्त्री देउवाले अपर्झट गर्नुभयो भने अलग्गै कुरा हो नत्र अझै दुई÷तीन दिन लाग्ने देखिन्छ।’

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी नहुने बताइसकेको छ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको माधव नेपाल पक्षबाट मन्त्री बनाउने तयारी भए पनि कुन दलले कति मन्त्रालय लिने भन्ने विषयमासहमति हुन नसकेको नेताहरु बताउँछन्। 

मन्त्रालयको भागबण्डा, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा साझा सहमति कायम गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ७ सदस्यीय कार्यदल पनि बनाइएको छ। 

सो कार्यदलले प्रतिनिधि सभामा रहेको सिट संख्यालाई आधार मानेर मन्त्रालय छुट्याउनुपर्ने समझदारी गरेको थियो। 

६१ सिट रहेको कांग्रेसलाई ८, ४९ सिट रहेको माओवादी केन्द्रलाई ७ मन्त्रालय दिने बताइएको थियो। तर, एमालेको माधव नेपाल समूहले सरकारमा सहभागी हुने विषयमा अहिलेसम्म ठोस निर्णय गर्न सकेको छैन। नेपाल समूह सरकारमा नआए जसपाले ७ मन्त्रालय पाउने देखिन्छ।

मन्त्रीहरुको नाम टुंगो लगाउने जिम्मेवारी सत्ता गठबन्धनमा रहेका दलहरुको शीर्ष नेतालाई दिइएको छ। जसआधारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादवले अन्तिम नामावली तयार पार्नेछन्।

बिहीबार प्रचण्डले एमाले वरिष्ठ नेता नेपालसँग भेट गरी सरकारमा जाने नजाने शुक्रबारसम्म निर्णय गर्न आग्रह गरेका छन्। 

नेपाल पक्षलाई सरकारमा ल्याउन कांग्रेस र माओवादी मन्त्रालयको विषयमा लचिलो हुन तयार रहेको प्रचण्डले बताएका छन्।

कांग्रेसमा चर्को दबाब
मन्त्रीका आकांक्षी धेरै हुँदा कांग्रेसमा चर्को प्रतिस्पर्धा देखिएको छ। आकांक्षी धेरै तर मन्त्रालय थोरै हुँदा प्रधानमन्त्री देउवा दबाबमा छन्। त्यसमाथि उनले सबै गुटको व्यवस्थापन गर्नुपर्ने चुनौती छ। 

उनले पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष, कृष्ण सिटौला पक्ष र स्वयं आफ्नै पक्षको नेताहरुको व्यवस्थापन गर्न  उनलाई हम्मेहम्मे परेको छ। 

पौडेल पक्षबाट केन्द्रीय सदस्य सुजाता कोइराला, प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र डा. मिनेन्द्र रिजालको नाम देउवालाई पठाइएको छ। तर, उनीहरुलाई कति मन्त्रालय दिने भन्ने निर्णय गर्न देउवाले सकेका छैनन्। महाधिवेशन नजिकै आएकोले उनी कुनै पक्षलाई पनि चिढ्याउने पक्षमा छैनन्। 

देउवाले सिटौला पक्षमा रहेका गगन थापा लगायतका सांसदहरुलाई मन्त्री बनाउनैपर्ने जनदबाब छ। 

उता आफ्नै पक्षमा रहेकामध्ये पुष्पा भुसाल, किशोरसिंह राठौर, नारायण खड्का आकांक्षी छन्। 

माओवादीमा झन् समस्या 
साउनको ९ गते मन्त्री बन्ने आकांक्षी धेरै भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले ठूलो आतङ्क महसुस गरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। ४९ जनै सांसदले मन्त्री बन्न प्रस्ताव गरेको भन्दै उनले ठूलो दबाब खेप्नुपरेको बताएपछि अहिले उनलाई भेट्न जानेहरुको संख्या त घटेको छ। तर, विभिन्न च्यानलमार्फत मन्त्री बनाउन लबिङ भने भइरहेको छ।

उनले आफूसँग सम्पर्कमा रहेका नेताहरुलाई मन्त्रालयको सिट संख्या टुंगो नलागेको जवाफ दिने गरेका छन्।

साउन ३ गते २ मन्त्री सरकारमा पठाएका प्रचण्डलाई सातै प्रदेशबाट मन्त्री बनाउनुपर्ने बाध्यता छ। उनी सकभर नयाँलाई सरकारमा अवसर दिने योजनामा छन्। त्यसमा पनि समावेशी बनाउनुपर्ने बाध्यता छँदैछ।

अहिलेसम्म नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, मात्रिका यादव, अञ्जना बिसङ्खे, सुरेशकुमार राई, सुदन किराती लगायतका आकांक्षी देखिएका छन्।

जसपामा पनि सकस 
भरखरै मात्र आधिकारिकता पाएको जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव–डा. बाबुराम भट्टराईले पनि मन्त्री बन्नेहरुको नाम टुंगो लगाएका छैनन्।

जसपाले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादव, डा. भट्टराई र राजेन्द्र श्रेष्ठ गरी तीन जनालाई दिएको छ। 

मन्त्री बन्नेमा अध्यक्ष यादव, राजेन्द्र श्रेष्ठ, डा. मोहम्मद इस्तियाक राई, महेन्द्र राय यादव र रेणु यादवको नाम चर्चामा छ।  

यस्तै, महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्रतिर खुलेका केही नेतालाई मन्त्री बनाउनुपर्ने उनलाई दबाब छ। 

नेपालको अलमल
एमालेभित्र विद्रोह गरेर कांग्रेस सभापति देउवालाई विश्वासको मत दिएका माधव नेपालसहितका २२ सांसदहरुलाई सरकारमा सहभागी हुनुपर्ने दबाब छ। 

तर, नेपाल स्वयंले यसबारे निर्णय गर्न सकेका छैनन्। उनी केही समय कुरेर भए पनि पार्टीको अवस्था स्पष्ट गरेर मात्र आगामी कदम चाल्ने पक्षमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .