ad ad

राजनीति


पूर्वमन्त्री पोखरेलको प्रश्न : नेपालको वास्तविक क्षेत्रफल कति हो?

पूर्वमन्त्री पोखरेलको प्रश्न : नेपालको वास्तविक क्षेत्रफल कति हो?

नेपालखबर
साउन ३२, २०७८ सोमबार १७:६, काठमाडौँ

पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य  गिरिराजमणी पोखरेलले नेपालको वास्तविक क्षेत्रफल कति हो भनी प्रश्न गरेका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै पोखरेलले गतवर्ष नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटेर प्रकाशन गरेपनि हालसम्म वास्तविक क्षेत्रफल निश्चित नगर्दा अन्यौल भइरहेको बताए। 

सुगौली सन्धी भएको २०४ वर्षपछि नेपालले गतवर्ष २०७७ साल जेठ ७ गते नेपालको नक्सा अध्यावधिक गरी प्रकाशन गरेकोमा हालसम्म वास्तविक क्षेत्रफल निर्धारण नगरिएको उनले बताए। विद्यार्थीले नेपालको क्षेत्रफल कति हो भनेर प्रश्न गर्दा शिक्षक नाजवाफ हुनुपर्ने अवस्था रहेको उनको भनाई थियो। 

‘अहिले विद्यार्थीले नेपालको क्षेत्रफल कति हो भनेर प्रश्न गर्दा शिक्षकहरू नाजवाफ छन्’ उनले भने, ‘पहिलेको क्षेत्रफल भनुँ नक्सा अध्यावधिक भएर चुच्चे नक्सा आईसकेको छ। नयाँ भनुँ सरकारले घोषणा गरिसकेको छैन। 

वर्तमान सरकारले आफ्नो साझा नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दालाई कूटनीतिक माध्यमबाट सुल्झाउने उल्लेख गरेको सन्दर्भमा नेपालको क्षेत्रफल यकिन गरी सार्वजनिक गर्न पोखरेलले माग गरे।

‘सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममा समेत लिम्पयाधुरा, सलपुलेक र कालापानी भूभाग समावेश गरेको अवस्थामा कुटनैतिक वार्ता र सीमाङ्कन गर्नका लागि पनि आफ्नो क्षेत्रफल सुनिश्चित गर्न जरुरी छ, सरकारले यसलाई उच्च प्राथमिकतामा राखोस्’ उनले भने।

नेता पोखरेलले आफू  शिक्षामन्त्री भएको बेलामा विज्ञ टोलीले गरेको अध्ययनबाट नेपालको क्षेत्रफलमा ४६०.२८ वर्गकिलोमिटर वृद्धि भएको पनि जानकारी दिए।

यस्तै, उनले दार्चुलामा भारतीय एसएसबीले तुइनबाट खसालेर बेपत्ता पारेका जयसिंह धामीको अवस्था स्पष्ट पार्न, बेलायतमा १० दिनदेखि आन्दोलन भूपूगोरखा सैनिकको समस्या समाधानका लागि पहल गर्न र अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि ठोस पहल गर्न पनि सरकारसँग माग गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .