प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजनको असर सुदूरपश्चिम प्रदेशमा पनि देखा परेको छ। माधव कुमार नेपाल एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी दर्ताको प्रक्रिया थालेसँगै सुदूरपश्चिमका एमाले नेता, कार्यकर्ता आ–आफ्नो ‘कित्ता क्लियर गर्न’ छलफलमा जुटेका छन्।
सुदूरपश्चिमका एमाले नेताहरुले एमालेमै रहने वा नेकपा एकीकृत समाजवादी पार्टीमा जाने भनेर छलफललाई तीव्रता दिएका हुन्।
मध्यमार्गी भूमिका निर्वाह गरिरहेका एमाले उपाध्यक्ष डा. भीम रावल लगायत सहभागी स्थायी कमिटी बैठकले एकता कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेसँगै नेताहरुले पनि आफ्नो कित्ता क्लियर गर्न थालेका छन्।
मंगलवार बसेको एमालेको पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय समिति, प्रदेश र जिल्ला सहित सबै तहका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्व क्रियाशील हुन निर्देशन दिने निर्णय पनि गरेको थियो।
२०७५ जेठ २ पूर्वको जिल्ला कमिटी पदाधिकारीमा एमाले अध्यक्ष केपी शर्मा ओली कमजोर छन्। प्रदेशका ९ जिल्लामध्ये ३ जिल्ला (बैतडी, दार्चुला, बाजुरा) मा मात्रै ओली निकट नेताको नेतृत्व थियो। बाँकी ६ जिल्ला (कञ्चनपुर, कैलाली, डोटी, बझाङ्ग, डडेल्धुरा, अछाम) मा नेपाल समूहको नेतृत्व थियो।
एमालेमा देखिएको ध्रुविकरणले गर्दा गत चैत २० गते नेपाल निकट सुदूरपश्चिमका ६ जिल्लाका अध्यक्षलाई हटाइएको थियो।
नेपाल निकट अध्यक्ष तारालामा तामाङ्ग (कञ्चनपुर), दीर्घ सोडारी (कैलाली), डा. तारा जोशी (डडेल्धुरा), चक्र मल्ल (डोटी), शेरबहादुर कुँवर (अछाम) र दील बहादुर सिंह (बझाङ्ग) लाई जिम्मेवारीबाट हटाइएको थियो।
त्यसपछि नेपाल समूहले चैत्र २५ गते ६ जिल्लामा उनीहरुकै नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको थियो। बैतडीमा महादेव भट्ट, बाजुरामा गगन रावललाई नेपाल समूहले अध्यक्ष बनाएको थियो।
पछिल्लो प्राप्त विवरण अनुसार २०७५ जेठ २ पूर्वको अवस्थाका जिल्ला कमिटी अध्यक्षमध्ये ४ जना एमाले र ५ जना नेपालको पार्टीमा लाग्ने देखिन्छ।
कञ्चनपुर
एमाले कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष तारा लामा तामाङ माधव कुमार नेपाल निकट हुन। उनी अहिले पनि नेपालकै पक्षमा खुलेका छन्। तामाङ प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको भेलामा सहभागी समेत भएका थिए।
२०७५ जेठ २ मा फर्किनु भन्नु नौटङ्की मात्रै भएको उनले टिप्पणी गरेका छन्। ‘जेठ २ मा फर्किने भन्ने कुरा आएको छ। लिखित केही भएको छैन। यसमा हामीले कसरी विश्वास गर्ने?’ प्रश्न गर्दै उनले भने, ‘यो नौटङ्की मात्रै हो।’
२०७७ चैत्र २० गते अध्यक्ष ओलीले नेपाल समूह निकट अध्यक्ष तामाङको जिम्मेवारी खोसेका थिए। त्यस पछि एमाले कञ्चनपुरको अध्यक्षको जिम्मेवारी वीरबहादुर थापा (पाताल) लाई दिइएको थियो। उनी माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए।
माओवादी केन्द्र र एमालेको एकीकरण पछि बनेको तत्कालीन नेकपाको कञ्चनपुर अध्यक्ष बनेका थापा प्रतिनिधि सभा विघटनपछि ओलीको पक्षमा उभिएका थिए।
तामाङ भने नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएका थिए। नेपाल समूहले उनलाई समानान्तर कमिटी गठन गर्दा कञ्चनपुरको अध्यक्ष बनाएको थियो।
यस्तै एमाले कञ्चनपुरका सचिव सुरेन्द्र विष्ट संस्थापन पक्षमै छन्। उनी भीमदत्त नगरपालिकाका मेयर समेत हुन। गत पुस ५ मा पहिलो पटक संसद विघटन पछि तत्कालीन नेकपाको ध्रुविकरणमा उनी ओलीको पक्षमा खुलेका थिए।
कैलाली
एमाले कैलालीका अध्यक्ष एवम् सुदूरपश्चिम प्रदेश सांसद दीर्घ सोडारी प्रस्तावित नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन्। नेपाल समूहबाट उनी अध्यक्ष निर्वाचित भएका थिए।
गत चैत्रमा सोडारीलाई अध्यक्षबाट हटाएर ओली निकट रतन थापालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो। थापा एमाले कैलालीका उपाध्यक्ष थिए। अहिले उनी संस्थापन पक्षमै छन्।
यस्तै सचिव रण बहादुर चन्द एमालेमै छन्।
डडेल्धुरा
एमाले डडेल्धुरा जिल्ला कमिटीमा नेपाल समूहको बाहुल्यता छ। उनीहरु नेकपा एकीकृत समाजवादीमै जाने सम्भावना बढी रहेको नेताहरु बताउँछन्।
नेपाल निकट डा. तारा जोशीलाई अध्यक्षबाट हटाएर डडेल्धुराको अध्यक्षमा प्रकाश साउँदलाई राखिएको थियो। साउँद ओली निकट मानिन्छन्।
सुरुवातदेखि नै नेपाललाई साथ दिएकोले अब पनि नेपाल नेतृत्वकै पार्टीमा जाने सम्भावना बढी रहेको डा. तारा जोशी बताउँछन्।
‘साथीहरुसँग छलफल, समन्वय गर्दैछौँ। पार्टी कमिटीमा ८० प्रतिशत हाम्रो उपस्थिती छ।’ उनले भने, ‘माधव कमरेडलाई नै साथ दिने भन्ने कुरा भएको छ। त्यसैले उहाँको पार्टीमा जानेको संख्या बढी हुने देखिन्छ।’
एमाले डडेल्धुराका सचिव धन बहादुर साउँद पनि नेपाल निकट हुन।
डोटी
एमाले डोटीका अध्यक्ष चक्र मल्ल संस्थापन पक्षमै रहने भएका छन्। उनी नेपाल निकट थिए। तर उनले पार्टी विभाजनमा नेपालको साथ छोडेका छन्।
मल्ललाई पनि चैतमा अध्यक्षबाट हटाएर रामबहादुर ऐरलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो। ऐर ओली निकट हुन। उनी यस अघि एमाले डोटीको सचिव थिए। नेपाल समूहले मल्ललाई डोटीमा समानान्तर कमिटीको अध्यक्षको जिम्मेवारी दिएको थियो।
बैतडी
बैतडीमा माधव कुमार नेपाल कमजोर देखिएका छन्। अध्यक्ष सुरेन्द्र पाल र सचिव लिलाधर भट्ट दुवै जना एमालेमै छन्। यी दुवै जना ओली निकट हुन्।
जिल्ला कमिटीमा आफूहरुको बाहुल्यता रहेको सुदूरपश्चिम प्रदेश सांसद समेत रहेका लिलाधर भट्ट बताउँछन्।
‘७३ जनाको जिल्ला कमिटीमा ७÷८ जना बाहेक अरु सबै एमालेमै छौँ।’ उनले भने, ‘७/८ जना मात्रै विभाजनमा जानु भएको छ।’
बझाङ्ग
एमाले बझाङ्गका अध्यक्ष दील बहादुर सिंह र सचिव दवन भण्डारी नेपाल समूहका हुन्। उनीहरु दुवै जना नेकपा एकीकृत समाजवादीमा जाने सक्ने सम्भावना रहेको नेताहरुको बुझाई छ।
अध्यक्ष सिंह र सचिव भण्डारी मंगलवार जिल्ला कमिटीले राखेको बैठकमा पनि अनुपस्थित रहेका थिए।
नेपाल समूह निकट सिंहलाई अध्यक्षबाट हटाएर अफिलाल ओखेडालाई जिम्मेवारी दिएको थियो। ओखेडा ओली निकट हुन्।
दार्चुला
दार्चुलाका अध्यक्ष रामदत्त जोशी एमालेमै रहेका छन्। उनी ओली निकट मानिन्छन्।
सचिव ज्ञानेन्द्र घर्ती भने नेपाल निकट हुन्। तर अहिले नेकपा एकीकृत समाजवादीमा जाने वा एमालेमै रहने उनको अझै स्पष्ट भइसकेको छैन।
अछाम
एमाले अछामका अध्यक्ष एंवम् राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर नेकपा एकीकृत समाजवादीमा लागेका छन्। उनी नेपाल निकट नै थिए। कुँवर नेकपा (एकीकृत समाजवादी)को भेलामा पनि सहभागी भएका थिए।
गत चैत्रमा कुँवरलाई हटाएर ओली निकट चन्द्र बोहरालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो।
यस्तै सचिव यज्ञ बोगटी एमालेमै छन्।
बाजुरा
माधव कुमार नेपाल बाजुरामा पनि कमजोर देखिएको छ। एमाले अध्यक्ष काली बहादुर शाही र सचिव बलदेव रेग्मी दुवै जना एमालेमै छन्।
अध्यक्ष शाही र सुदूरपश्चिम प्रदेश सांसद समेत रहेका रेग्मी दुवै जना ओली निकट हुन।
सुदूरपश्चिममा माधव नेपालको शक्ति भीम रावलमा ‘निर्भर’
सुदूरपश्चिमका ६ जिल्लामा खोसियो नेपाल-खनाल निकट अध्यक्षको जिम्मेवारी
Shares
प्रतिक्रिया