नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापति पदका लागि आक्रामक रुपमा तयारी गरिरहेका डा. शेखर कोइरालामाथि संस्थापन इतर समूहले पदाधिकारीमा प्रतिष्पर्धा गर्न दबाब दिएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा मंगलबार बसेको इतर समूहको बैठकमा नेताहरुले डा. कोइरालालाई १४ औं महाधिवेशनमा पदाधिकारीमा प्रतिष्पर्धा गर्न दबाब दिएका छन्।
सभापति पदका आकांक्षीहरुको बैठकमा वरिष्ठ नेता पौडेल, पूर्व सहमहामन्त्रीद्वय डा. रामशरण महत, अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य बलबहादुर केसीले कोइरालालाई पदाधिकारीमा प्रतिस्पर्धाका लागि आग्रह गरेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार पौडेलले उनलाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पराजित गर्नका लागि सवैले आफूलाई सघाउन आग्रह गरे।
उनले डा. कोइरालाले पदाधिकारीमा प्रतिष्पर्धा गरेर आफूलाई सभापति पदमा सघाए देउवालाई हराउन सहज हुनेसमेत आशय व्यक्त गरे।
तर, सभापति पदका बलियो उम्मेदवार मानिएका कोइरालाले पदाधिकारीमा प्रतिष्पर्धा गर्न अनिच्छा देखाएको बोहोराटार बैठकमा सहभागी स्रोतले जनाएको छ।
‘उहाँ (कोइराला)ले पदाधिकारीमा लड्दैन । लडे भने सभापतिमा लड्छु। होइन भने केन्द्रीय सदस्यमा मात्रै लड्छु भन्नुभयो,’ स्रोतले नेपालखबरसँग भन्यो।
बैठकमा पूर्वसहमहामन्त्री डा. महतले वरिष्ठ नेता पौडेल ‘सिनियर’ भएकाले उनको नेतृत्वमा महाधिवेशनमा जानुपर्नेमा जोड दिएको स्रोतको भनाइ छ।
‘उहाँ (डा. महत)ले सिनियर नेतालाई सभापति मानेर गयौं भने सबैलाई उहाँको छातामुनि बस्न मिल्छ,’ स्रोतले महतको भनाइ उद्धृत गर्दै भन्यो, ‘त्यसो हुन्न भने म पनि आकांक्षी हो। लथालिङ्ग बनाएर जाने हो भने सवै लथालिङ्ग पारौँ।’
बैठकमा पूर्वसहमहामन्त्री केसी र केन्द्रीय सदस्य केसीले पनि वरिष्ठ नेता पौडेल ‘सिनियर’ भएका कारण उनकै नेतृत्वमा महाधिवेशनमा प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिएको स्रोतको दाबी छ।
बोहोराटार बैठकमा पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीहरू डा. रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरु बलबहादुर केसी र डा. शेखर कोइराला सहभागी थिए।
यसअघि भदौ ७ गते पनि संस्थापन इतर समूहले साझा उम्मेदवार तय गर्ने विषयमा छलफल गरेको थियो।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले पार्टीको वडा अधिवेशन सुरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उमेदवार तय गर्ने समझदारी जुटाएको थियो।
आकांक्षीहरु धेरै हुँदा इतर समूहलाई महाधिवेशनमा उम्मेदवार टुंगो लगाउन कठिन भएको छ।
इतर समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला आकांक्षीका रुपमा देखिएका छन्।
इतर समूहमै रहेका पूर्वसहमहामन्त्रीहरु डा. महत र केसी पनि साझा उम्मेदवार तय नभए आफूहरु पनि सभापति पदमा उम्मेदवारी दिने बताउँदै आएका छन्।
कांग्रेसले आगामी मंसिर ९ देखि १३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी १८ भदौबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
पाँचौं पटक मिति सारेको कांग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ महाधिवेशन मिति तय गरेको छ।
Shares
प्रतिक्रिया