ad ad

राजनीति


सरकारले पूर्णता नपाउँदै गठबन्धनमा गडबड

सरकारले पूर्णता नपाउँदै गठबन्धनमा गडबड

सागर न्यौपाने
भदौ १७, २०७८ बिहिबार २१:४, काठमाडौँ

आगामी चुनावसम्मै गठबन्धन कायम राख्ने सहमति गरेका सत्ता साझेदार दलबीच गडबड सुरु भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने प्रस्ताव र चीनसँगको सीमा विवादबारे अध्ययन गर्न टोली गठन गर्ने निर्णय गरेपछि गठबन्धनमा खटपट देखिएको हो।

देउवालाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीको समर्थन छ। उनी असार २९ प्रधानमन्त्री बनेका थिए। 

तर, उनी प्रधानमन्त्री भएको ५२ दिनमै गठबन्धनमा असन्तुष्टि देखिन थालेको हो। अहिलेसम्म सरकारले पूर्णता समेत पाउन सकेको छैन। अहिले कांग्रेसबाट ४ र माओवादी केन्द्रबाट २ जना मात्र सरकारमा छन्। 

यद्यपि यी विषयले अहिले नै विवादको स्वरुप भने लिइनसकेको नेताहरुले बताएका छन्। 

गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसी अगाडि बढाउन नहुने बताउँदै आएका छन्। कांग्रेस एमसीसी पास गर्नुपर्ने पक्षमा छ भने जसपाले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन। 

अमेरिकाको दबाबपछि प्रधानमन्त्री देउवा एमसीसी संसदबाट अनुमोदन गर्न हतारिएका छन्। भदौ १५ गते बसेको गठबन्धनको बैठकमा देउवाले खुलेर एमसीसी पास गर्नुपर्ने बताएका थिए। 

बैठकमा सहभागी एक नेताका अनुसार एमसीसी जसरी पनि अनुमोदन गर्ने पक्षमा देउवा देखिन्थे। तर, अन्य दलले उनको प्रस्ताव अस्वीकार गरे। 

गठबन्धन बन्दा देशलाई अहित गर्ने विषयमा सम्झौता नगर्ने सहमति बनेको र सहमति तोडेर एमसीसी पास गरे त्यसले राम्रो नगर्ने माओवादी केन्द्रका एक नेताले बताए।

‘पाँच दलीय गठबन्धनको आधार भनेकै राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै लोकतन्त्रको विकास गर्नु हो,’ ती नेताले भने, ‘त्यो सहमतिविरुद्ध गयो भने गठबन्धनको औचित्य के हुन्छ?’

उनका अनुसार पाँच दलीय गठबन्धनमा एमसीसीलाई तत्काल अघि नबढाउने समझदारी बनेको थियो।

‘त्यही भएर न्यूनतम साझा कार्यक्रममा त्यो विषय परेन,’ ती नेताले भने। 

तर, प्रधानमन्त्री देउवानिकट नेताहरू भने पहिला नै एमसीसी पास गरेर जाने सहमति भएकोले अहिले झगडा गर्न आवश्यक नरहेको बताउँछन्।

‘पहिला हुन्छ भनेर सहमति गर्ने अनि अहिले झगडा गरेर बस्नु बेकार हो,’ देउवा निकट कांग्रेसका एक नेताले भने, ‘पास गरेर जानुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा चेन्ज भएको छैन।’

२०७७ फागुन अन्तिम साता सरकारको नेतृत्व गर्न तयार भएका देउवाले एमसीसी पास गर्न गठबन्धनले सहयोग गर्नुपर्ने बताएका थिए। त्यसमा उनले गठबन्धनबाटै एमसीसी संसदबाट पास गराउन ग्रिन सिग्नल पाएका थिए। 

ओलीलाई हटाउन हतारिएका चारवटै दल तत्कालका लागि देउवाको सर्त मानेर जान राजी भएको कांग्रेस नेताहरु बताउँछन्।

तर, गठबन्धनमा एमसीसी मुलुकको हितमा नभएकाले यसलाई छलफलमा लैजानै नहुने मत बलियो छ। 

‘राष्ट्रिय स्वाधिनता प्रतिकूल हुनेगरी कुनै काम अगाडि नबढाउने सहमति गरेर पो गठबन्धन बनेको हो,’ गठबन्धनबाट सरकारको न्युनतम कार्यक्रम बनाउन गठन गरिएको कार्यदलमा रहेका एक सदस्यले भने, ‘एमसीसीलाई अगाडि नबढाउने भनेर नेताहरुले दसौँ पटक बोल्नुभएको छ, त्यसविरुद्ध कसरी जानु होला र?’

एमसीसी अनुमोदनकै लागि मद्दत माग्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि गठबन्धनमा तरंग पैदा भएको हो।

एमसीसीकी उपाध्यक्ष फातिमा सुमार यही साता नेपाल भ्रमणमा आउँदै छिन्। उनी आउनुअघि नै गठबन्धनमा सहमति गराउने देउवाको योजना छ।

तर, गठबन्धनको साथ नपाएका देउवाले एमालेसँग यही विषयमा साथ खोजेको चर्चा चलेपछि सत्ता साझेदारहरू झस्किएको नेताहरु बताउँछन्।

अर्कोतिर, चीनसँगको सीमामा विवाद रहेको ठहर गर्दै छानबिन गर्न सरकारले बुधबार समिति बनाउने निर्णय ग¥यो। जबकि अहिलेसम्म सरकारले चीनसँग सीमा विवाद नरहेको बताउँदै आएको थियो। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चीनसँग सीमा विवाद अध्ययन गर्न भन्दै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति बनाएको छ। 

अचानक छानबिन समिति गठन गरेर देउवाले कूटनीतिक अपरिपक्वता प्रदर्शन गरेको र यसले चीनसँगको सम्बन्धमा दीर्घकालीन असर गर्न सक्ने चिन्ता गठबन्धनका नेताहरुको छ। देउवाले एमसीसी र सीमा अध्ययन समिति दुवै अनावश्यक रुपमा अघि सारेको उनीहरुको बुझाइ छ।

त्यस्तै, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन फुस्काइदिएपछि महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीका बारेमा सरकारले उचित कूटनीतिक पहल नगरेको विषयले पनि गठबन्धनका नेताहरु असन्तुष्ट छन्। 

भदौ १४ गते बसेको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जयसिंह धामी प्रकरणमा सरकारले भारतीय समकक्षीसँग कुराकानी गर्नुपर्ने बताएका थिए।

उनले तत्काल त्यो प्रक्रिया सुरु नगरिएकोमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .