लुम्बिनी सरकारको मन्त्री बनेको ३ हप्तापछि अजय शाहीले विभागीय जिम्मेवारी पाएका छन्।
नवलपरासी १ ‘ख’ का प्रदेश सभा सदस्य रहेका शाही लुम्बिनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका हुन्। शाही हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चिन्ह लिएर चुनाव जितेका थिए।
एमाले छाडेर कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै उनी साउन २८ गते मन्त्री बनेका हुन्। एमालेले भने उनलाई कारवाही गरेको बताए पनि सभामुखले कारवाहीको सूचना दिएका थिएनन्।
उनीसँगै कुलप्रसाद केसी नेतृत्वको सरकारमा ६ जना मन्त्री भएका थिए। शाहीले जिम्मेवारी पाएपनि उनी सँगै विना विभागीय मन्त्रीमा नियुक्त भएका सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले अझै जिम्मेवारी पाएका छैनन्।
केही दिन अघि लुम्बिनी सरकारले मन्त्रालयको संख्या १० बाट बढाएर १३ पुर्याएको थियो। थपिएका मन्त्रालयहरुको संरचना अनुसार मन्त्रिपरिषदको कार्यविभाजन र हेरफेरसमेत गरिएको छ।
मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्यविभाजन गरेका हुन्।
जस अनुसार मुख्यमन्त्री कुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय सहित ९ वटा मन्त्रालय आफूसँग राखेका छन्।
डिल्लीबहादुर चौधरीले पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालय, कृष्णध्वज खड्काले आर्थिक मामिला तथा सहकारी मन्त्रालय, सहश्रराम यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। अजय शाहीले आजै नयाँ जिम्मेवारी पाएका हुन्।
मन्त्रालयको संख्या बढाए पनि ३ हप्तासम्म मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।
प्रतिक्रिया