ad ad

राजनीति


कास्की उपनिर्वाचनः कांग्रेसको विवाद छताछुल्ल,नेकपाका बलिया प्यासीलाई प्राविधिक समस्या

कास्की उपनिर्वाचनः कांग्रेसको विवाद छताछुल्ल,नेकपाका बलिया प्यासीलाई प्राविधिक समस्या

वाशुदेव मिश्र
कात्तिक ५, २०७६ मंगलबार १४:२०,

पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनलाई ‘मिनी जनमत संग्रह’को उपमा दिँदै एकजुट भएर चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए पनि कास्की कांग्रेसमा उम्मेदवार छनौटदेखि नै ‘फुट’ देखिएको छ।

पार्टीको आधिकारिक उम्मेदवार छनौट गर्न बसेको कास्की क्षेत्र नम्बर २ को बैठककै क्रममा आकांक्षीहरुले अर्काको अस्तित्व नै अस्वीकार गर्दै टसमस नगरेपछि यो अवस्था आएको हो। उम्मेदवारीको लागि १० हजार रुपैयाँ तिरेर फाराम भरेकाहरुले नै ३ जनाको नाम मात्र सिफारिस गर्ने क्षेत्रीय समितिको प्रयास विफल बनाएर चुनावको क्रममा पनि अर्काको अस्तित्व अस्वीकार गर्ने संकेत गरेका हुन्।

तीन पटक बसेको क्षेत्रीय समितिको बैठक उम्मेदवारहरुको दवावकै कारण अनिर्णयको बन्दी बन्न पुग्यो। उम्मेदवारमध्ये ११ जनाले सबै नाम केन्द्रमा पठाउनु पर्ने माग दायर गरे। उनीहरुले आफूमध्ये जसलाई उम्मेदवार बनाए पनि सहयोग गर्ने वचनवद्धता जनाए तर उम्मेदवारको बलियो दावेदार देवराज चालिसेको पक्षमा उनीहरु उभिएनन्।

देवराज चालिसेलाई उम्मेदवार बनाउनुपर्छ भनेर हस्ताक्षर गर्ने ३१ जनाले पनि अध्यक्ष बास्तोलाको रोहवरमा बैठक बसेर आफ्नो निर्णय पारित गराउने तत्परता देखाएनन्।

क्षेत्रीय सभापति माधव बास्तोला ‘मधु’ले दवावका बीच कुनै निर्णय नै गर्न सकेनन्। अन्ततः आफूले उम्मेदवार छनौट गर्न नसकेको भन्दै क्षेत्रीय समितिले जिल्लालाई पत्र लेख्यो।आफूसमेत उम्मेदवारको आकांक्षी रहेका उनले अन्ततः उम्मेदवार बन्न खोज्ने १६ जनाकै नाम र दुबै समूहले पठाएको पत्र जिल्लामा पठाएर आफू चोखिए।

कांग्रेस जिल्ला समितिको बैठकले पनि आफूलाई केन्द्रले दिएको निर्देशन अनुसार उम्मेदवार छान्ने अधिकार नभएको भन्दै क्षेत्रीय समितिको निर्णयलाई मंगलबार केन्द्रमा पठाउने निर्णय गर्‍यो। ‘हो, हामीले क्षेत्रीय समितिले पठाएको दुबै पत्र, यहाँको वर्तमान अवस्थाबारे राय लेखेर केन्द्रलाई पठाउने निर्णय गर्‍यौँ’, कांग्रेस सचिव सुदीपमोहन भट्टराईले भने,‘अब जे गर्छ, केन्द्रीय कमिटीको बैठकले गर्छ।’

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो १० गते बस्दैछ। सबैको नाम केन्द्रमा पुगेपछि आकांक्षीहरुले केन्द्रीय नेतालाई प्रभावमा पार्ने कसरत सुरु भएको छ। केन्द्रबाट जसले टिकट ल्याए पनि छनौटमा देखिएको विवादले कांग्रेस चुनावमा एकजुट नहुने संकेत देखिएको छ। कांग्रेसबाट खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य, देवराज चालिसे, माधव बास्तोला‘मधु’, महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्कीसहित वीरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य, केशव निर्दोषीले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।

यसैगरी कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेसहित खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारीको नाम केन्द्रमा सिफारिस भएको छ।

यता, बलियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने कांग्रेस भित्रको कचिँगलोलाई नजिकबाट नियाली रहेको छ। ‘हामी सत्तामा छौँ र पछिल्ला केही घटनाले अलोकप्रिय पो छौँ कि भन्ने भएको थियो’, नेकपाका एक जिल्ला नेताले कांग्रेसका पछिल्ला गतिविधिप्रति संकेत गर्दै भने, ‘कम्तिमा बलियो प्रतिद्धन्द्धीसँग लडौँ भनेको त्यो पनि नहुने पो भयो त!’

नेकपा यतिबेला संगठन सुदृढीकरण अभियानमा छ। पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेका तल्लो कमिटीहरुलाई एकजुट बनाउनेतर्फ नै नेकपा केन्द्रित रहेको ती नेताले बताए। नेकपामा टिकट कसले पाउने भन्नेमा तँछाड–मछाड् पनि छैन। नेकपाबाट स्वर्गीय रवीन्द्र अधिकारीको धर्मपत्नी विद्या भट्टराईको नाममा चर्चामा भए पनि उनले आफू चुनाव लड्ने/नलड्ने प्रष्ट पारेकी छैनन्।

बाँकी नामहरुमा पछिल्लो समय सोमनाथ प्यासीको नाम अग्रपंक्तिमा छ। पूर्वएमालेलाई नै सो क्षेत्रको टिकट दिनुपर्छ भन्ने मान्यता रहेको अवस्थामा प्यासी पहिलो दावेदार बन्न सक्छन्। तर, उनी उम्मेदवार बन्न प्राविधिक समस्या छ। किनकि, उनी यसअघि समानुपातिक सूचिमा परेका व्यक्ति हुन्। उपनिर्वाचन भएकोले उनी उम्मेदवार बन्नको लागि पार्टी केन्द्रीय समितिले निर्णय गरेर समानुपातिकबाट उनको नाम निकाल्न निर्वाचन आयोगलाई सिफारिस पठाउनुपर्छ। निर्वाचन आयोगले समानुपातिकबाट नाम हटाएपछि मात्र उनी उम्मेदवार बन्ने बाटो खुल्छ।

उनीपछि पूर्वएमालेबाट तुलबहादुर गुरुङ, श्रीनाथ बराल, धनराज आचार्य, भीम कार्कीलगायको नाम चर्चामा छ। यी सबै चर्चासँगै यतिबेला नेकपा कास्कीको इन्चार्जको जिम्मेवारीमा रहेका राजकाजी गुरुङ ‘करन’ पनि सम्भावित उम्मेदवार हुन्। तर, उनी आफैले भने उम्मेदवारीमा चासो देखाएका छैनन्।

पार्टीको जिम्मेवार पदमा बसेका पूर्वएमाले र माओवादी केन्द्रलाई मिलाउने दायित्व उनकै भएकाले पनि उनी मौन रहेको उनी निकट स्रोतले बतायो। ‘उहाँ (करन) लाई आफ्नो जिम्मेवारी के हो भन्ने राम्रोसँग थाहा छ’, उनी निकट स्रोतले भन्यो,‘ उहाँले अहिलेको आफ्नो दायित्व भनेको नेकपालाई जिताउनु हो भन्ने मात्रै बुझ्नु भएको छ।’

उम्मेदवार छनौटको लागि नेकपाले सम्भवतः आउँदो ९ गते बैठक राख्ने ती नेताले बताए। उनका अनुसार कार्तिक ८ गते उपल्लो तहका नेताहरुको भेला बस्नेछ ९ गते बस्ने बैठकले कास्कीबाट उम्मेदवार चयन गरि केन्द्रलाई पठाउनेछ। यता, चुनावमा खुबै चासो दिएको साझा पार्टीले बुधबार उम्मेदवार घोषणा गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .