यतिबेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामु दुई मुख्य जिम्मेवारी छन्ः गठबन्धनमा रहेका राजनीतिक दलहरुलाई मिलाएर सत्ता सञ्चालन गर्नु र पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नु।
महाधिवेशनको तयारी गरिरहेको नेपाली कांग्रेस मुलुककै पुरानो पार्टी हो। जहानियाँ राणा शासन उन्मुलन गरेर प्रजातान्त्रिक व्यवस्था कायम गर्न गठन गरिएका ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’बीच एकीकरण भएर यो पार्टी जन्मेको थियो।
राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस दुवैको लक्ष्य एउटै थियो– राणा शासनको अन्त्य। तर, दुवैको बाटा अलग थिए। अहिंसात्मक आन्दोलनबाट राणा शासनलाई च्यूत गर्ने राष्ट्रिय कांग्रेसको लक्ष्य थियो। अर्कोतिर हिंसात्मक आन्दोलनबाट मात्रै राणा शासन ढाल्न सकिने प्रजातन्त्र कांग्रेसको ठम्याइ थियो।
यी दुईबीच एकता कसरी सम्भव भयो त?
अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसले २००३ माघ १२ र १३ गते कलकत्तामा आयोजना गरेको अधिवेशनले राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो। बीपी कोइराला, गणेशमान सिंहलगायत २ सय प्रतिनिधिको उपस्थितिमा सम्पन्न अधिवेशनले नेपालको जेलमा बन्दी जीवन बिताइरहेका प्रजा परिषद्का सभापति टंकप्रसाद आचार्यलाई दलको अध्यक्षमा मनोनित गरेको थियो।
‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ नामक पुस्तकका लेखक डा. राजेश गौतमका अनुसार नेपालका राजनीतिक दलहरुको इतिहासमा विधिवत् रुपले गठन र स्थापना भएका राजनीतिक दलमध्ये राष्ट्रिय कांग्रेस पहिलो थियो।
यस्तै, अहिंसात्मक आन्दोलनले मात्रै जहानियाँ राणा शासन ढाल्न नसकिने निष्कर्षका साथ २००५ साउन १ गते कलकत्तामा प्रजातन्त्र कांग्रेस स्थापना गरिएको थियो।
संविधानसभा सदस्य तथा ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ नामक पुस्तकका लेखक पुरुषोत्तम बस्नेतकाअनुसार सुवर्ण शमशेर, महावीर शमशेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम सिंह, रामेश्वरीप्रसाद उपाध्यायको पहलमा सो दल स्थापना गरिएको थियो।
२००६ चैत २७ गते कलकत्ताको चौरंगीमा रहेको महावीर शमशेरको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन आयोजना गरेर यी दुई दलबीच एकीकरण भएको थियो। राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसबीच एकता गराउन भारतीय समाजवादी दल र भारतीय कांग्रेसको सहयोग पनि देखिन्छ।
एक–अर्काको लोकप्रियताको ‘डर’ले पार्टी एकीकरण
प्रजातन्त्र कांग्रेसका नेताहरु छिटोभन्दा छिटो राणा शासन समाप्त गरी नेपालमा प्रजातन्त्रिक व्यवस्था कायम गर्न चाहन्थे। नेपालमा प्रजातान्त्रिक व्यवस्था कायम गर्न उनीहरु राष्ट्रिय कांग्रेससँग एकीकृत हुन पनि चाहिरहेका थिए।
तर, प्रजातन्त्र कांग्रेसका नेताहरुलाई राष्ट्रिय कांग्रेस (बीपी समूह)ले अबलम्बन गरेको अहिंसात्मक नीतिप्रति विश्वास थिएन।
‘अहिंसात्मक आन्दोलनबाट राणा शासनलाई अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने कुरामा उनीहरु सहमत थिएनन्,’ डा. गौतमको भनाइ छ।
राष्ट्रिय कांग्रेसप्रति नेपाली जनताको बढ्दो आशा र विश्वास अनि भारतीय नेताहरुको सहानुभूतिले प्रजातन्त्र कांग्रेसलाई पार्टी एकीकरणका लागि प्रेरित गरेको डा. गौतमले लेखेका छन्।
‘नेपाली जनताको बीचमा राष्ट्रिय कांग्रेस प्रसिद्ध भइसकेको थियो। यी सबैले गर्दा आफू पछाडि पर्ने हो कि भन्ने डर प्रजातन्त्र कांग्रेसका नेता सुवर्ण शमशेर, महावीर शमशेरलाई भइरहेको थियो,’ पुस्तकमा भनिएको छ।
अर्कोतिर राष्ट्रिय कांग्रेसका नेता बीपी कोइराला पनि प्रजातन्त्र कांग्रेसको गतिविधिलाई सूक्ष्म रुपमा नियालिरहेका थिए। प्रजातन्त्र कांग्रेसले हिंसात्मक कारबाहीको तयारी धेरै अगाडि बढाइसकेको थियो।
डा. गौतमकाअनुसार प्रजातन्त्र कांग्रेसको तयारीले आफू पछि पर्ने डर बीपीमा परेको थियो।
‘यिनै कारणहरुले गर्दा राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसका नेताहरुले मिल्ने कुरा गर्न छाडेका पनि थिएनन्, तर मिल्न पनि सकिरहेका थिएनन्,’ उनले भनेका छन्।
बीपीको त्यो वक्तव्य जसले एकता नजिक ल्यायो
एकअर्काको लोकप्रियता बढ्ने ‘डर’मा रहेका दुवै दललाई मिलनविन्दुमा ल्याउने मुख्य भूमिका चाहिँ बीपीले खेलेका थिए। बीपीले २००६ साल (असार–साउन) मा जारी गरेको वक्तव्यले दुई दललाई मिलनविन्दुमा ल्याएको जानकारहरुको भनाइ छ।
‘स्वार्थी राणाहरुबाट सुधारको आशा गर्नु थारी गाईबाट दूध पाउने आशा गर्नु समान हुनेछ। त्यसैले नेपालीहरुले पापबाट मुक्त हुनका लागि सम्झौताको विचारमा नलागी संघर्षतर्फ नै अग्रसर हुनुपर्दछ,’ सन् १९४७ को सेप्टेम्बरमा प्रकाशित ‘नेपाल टुडे’ नामक पत्रिकामा प्रकाशित बीपीको वक्तव्यमा भनिएको थियो।
‘वक्तव्यले राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसलाई एकत्रित गराउने कुरालाई ठूलो सघाउ पु¥यायो र उनीहरु मिलनको नजिक हुन पुगे,’ लेखक डा. गौतमले उल्लेख गरेका छन्।
दुई दलका बीचमा नीतिको कार्यान्वयन पक्षमा भिन्नता देखिए पनि उनीहरुको अन्तिम लक्ष्य एउटै थियो।
‘दुई दलका नेताहरुको एकआपसमा कुनै विरोध थिएन, कुनै समस्या थिएन,’ डा. गौतमले लेखेका छन्, ‘यदि थियो भने उनीहरुको उदेश्यको कार्यान्वयनको पक्षमा थियो।’
यसरी राखियो पार्टीको नाम नेपाली कांग्रेस
कलकत्ताको चौरंगीमा दुई दिनसम्म चलेको सम्मेलनले दुवै कांग्रेसको बीचमा रहेको शब्द हटाएर नेपाली कांग्रेस नामक राजनीतिक दलको स्थापना गरेको थियो। सम्मेलनमा नेपाली राष्ट्रिय कांग्रेसको रेग्मी समूह भने सहभागी भएको थिएन।
नयाँ दलको सभापतिमा बीपी समूहका अध्यक्ष मातृकाप्रसाद कोइरालालाई सभापति र नेपाली प्रजातन्त्र कांग्रेसका सभापति महेन्द्रविक्रम शाहलाई महामन्त्री छानिएको थियो।
दुवै पार्टीका चार–चार जना गरी आठ जनालाई नवगठित नेपाली कांग्रेसका केन्द्रीय सदस्य छानिएको थियो।
‘राष्ट्रिय कांग्रेसबाट बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरी र प्रजातन्त्र कांग्रेसबाट सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेर र कुँवर कल्लु सिंह नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा छानिए,’ डा. गौतमले लेखेका छन्।
एकीकरणअघि दुई दलबीच पटक–पटक अनौपचारिक छलफलहरु भएका थिए। पार्टी एउटै बनाउने निर्णय भएपछि २००६ चैत १४ गते दुवै दलले संयुक्त वक्तव्य निकालेका थिए।
वक्तव्यमा राष्ट्रिय कांग्रेसका तर्फबाट अध्यक्ष मातृकाप्रसाद कोइराला र प्रजातन्त्र कांग्रेसका तर्फबाट अध्यक्ष महेन्द्रविक्रम शाहले हस्ताक्षर गरेको बालचन्द्र शर्माद्वारा लिखित पुस्तक ‘नेपालको ऐतिहासिक रुपरेखा’मा उल्लेख छ।
वक्तव्य जारी भएको १३ दिनपछि २००६ चैत २७ गते टाइगर सिनेमा हलमा सम्मेलन आयोजना गरी औपचारिक रुपमा एकीकरण गरियो। त्यसअघि नै नेताहरुले एकीकृत पार्टीको नाम नेपाली कांग्रेस राख्ने सैद्धान्तिक सहमति गरिसकेका थिए।
नेताहरुले एकीकृत पार्टीको संस्थापक नेता आफूहरुलाई नै घोषणा गर्ने र सुवर्ण शमशेरलाई कोषाध्यक्ष बनाउने निर्णय २००६ चैत महिनाको सुरुवा तिर भएको अनौचारिक सहमतिका क्रममा गरेका थिए।
उक्त सहमतिका बारेमा भोला चटर्जीको लेख साभार गर्दै ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ पुस्तकमा बीपीको भनाइ उल्लेख गरिएको छः
‘उक्त छलफलमा तीन मुख्य बुँदाहरु थिए। (१) पार्टीको नाम के राख्ने? (२) कस्तो बनाउने? (३) यसको अध्यक्ष को हुने? मैले एमपी (मातृकाप्रसाद) कोइरालालाई अध्यक्षमा प्रस्ताव गरेँ। जब उनी (प्रजातन्त्र कांग्रेसका नेता)हरुले यो स्वीकार गरे मैले उनीहरुको झण्डा राख्न जोड गरेँ। पार्टीको नामका सम्बन्धमा हामीले नेपाली राष्ट्रिय कांग्रेस (बीपी समूह) बाट राष्ट्रिय शब्द हटाउने निर्णय गर्यौं भने उनीहरुले नेपाली प्रजातन्त्र कांग्रेसबाट प्रजातान्त्रिक शब्द हटाउने निर्णय गरे। यसरी त्यो पार्टी नेपाली कांग्रेस भयो।’
गणेशमानको चाहना एकीकृत पार्टीको नाम– नेपाली राष्ट्रिय कांग्रेस
नेपाली कांग्रेसको संस्थापक नेतामा पर्छन् गणेशमान सिंह। दुई कांग्रेसबीचको एकीकरणको सुरुवातमा उनी एकीकृत पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस राख्नुपर्ने अडानमा थिए।
राष्ट्रिय कांग्रेसको इतिहास बनिसकेको र संघर्षशील पार्टीको छवि प्राप्त गरिसकेको तथ्य प्रस्तुत गर्दै उनले एकीकृत पार्टीको नाम नेपाली राष्ट्रिय कांग्रेस नै राख्नुपर्ने जोडबल गरेको देखिन्छ।
जसका बारेमा २०४७ चैत १२ मा ‘पुनर्जागरण’ साप्ताहिक पत्रिकामा प्रकाशित ‘नेपाली कांग्रेसको नाम यसरी रहेको थियो’ शीर्षकको गणेशमानको लेखमा उल्लेख गरिएको छ। लेखमा उनले देशभित्र र बाहिरमात्र नभएर राणाहरुका बीचमा पनि राष्ट्रिय कांग्रेस चर्चित भइसकेका कारण सोही नाम कायम राख्न आग्रह गरेको भनेका छन्।
लेखअनुसार गणेशमानको जोडबलमा प्रजातन्त्र कांग्रेसका अध्यक्ष शाह असहमत देखिएका छन्। एकीकृत पार्टीको नाम गणेशमानले भनेअनुसार राखिए प्रजातन्त्र कांग्रेस राष्ट्रिय कांग्रेसमा संलग्न भएको देखिने र आफू निकटका कार्यकर्ताको भावनामा ठेस लाग्ने, उनीहरुको जाँगर र उत्साह मर्ने उनको तर्क देखिन्छ।
छलफलका क्रममा शाहले नयाँ नाम राख्न गरेको प्रस्तावमा सूर्यप्रसाद उपाध्यायले सहमति जनाएको गणेशमानको लेखमा उल्लेख छ।
‘निकै लामो छलफलपछि दुवै पार्टीबाट बीचको भाग जुन विशेषणजस्तो थियो, हटाउने निर्णय भयो,’ लेखमा भनिएको छ।
लेखमै गणेशमानले ‘राष्ट्रिय’ र ‘प्रजातन्त्र’ हटाउने निधो भए पनि मातृका नेतृत्वको पार्टीको अगाडिको नाम ‘नेपाली’ र शाह नेतृत्वको पार्टीको अगाडिको नाम ‘नेपाल’ मध्ये कुन राख्ने भन्नेमा पनि चर्काचर्की भएको उल्लेख गरेका छन्।
छलफलमा सहभागी रहेकामध्ये गणेशमानले ‘नेपाली’ राख्नुपर्ने अर्को अडान दोहो¥याए भने उनीबाहेकका अन्य नेताहरु ‘नेपाल कांग्रेस’ राख्न राजी देखिए। उनीहरु राजी देखिनुमा बीपी तटस्थ बस्नु कारण थियो।
नाम जुनसुकै राखे पनि बीपीलाई कुनै वास्ता नरहेको लेखमा भनिएको छ। तर, गणेशमान भने भाषागत रुपमा शुद्ध पनि ‘नेपाली’ हुने जिकिर गर्दै एकीकृत पार्टीको नाम ‘नेपाली कांग्रेस’ राख्नुपर्ने पक्षमा थिए।
गणेशमानले भनेका छन्, ‘मेरो चाहिँ नेपाली कांग्रेस नै रहनुपर्ने अडान रह्यो। म कांग्रेसको अगाडि राष्ट्रिय पनि हटाउन तयार थिइनँ। तर, सबैले हात–खुट्टा छाडेकाले नेपालबाट नेपालीमा मेरो अडान झरेको थियो। त्योभन्दा तल ओर्लन म तयार हुन सकिनँ। आखिर मेरो आग्रह सबैले स्वीकार गरे र नयाँ पार्टीको नाउँ नेपाली कांग्रेस राख्ने निधो भयो।’
Shares
प्रतिक्रिया