ad ad

राजनीति


कास्की उपनिर्वाचनमा साझाकी उम्मेदवार रजनी

कास्की उपनिर्वाचनमा साझाकी उम्मेदवार रजनी

वाशुदेव मिश्र
कात्तिक ६, २०७६ बुधबार १०:२०,

साझा पार्टीले हल्लालाई सत्य सावित गर्दै कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रजनी केसीलाई उम्मेदवार घोषणा गरेको छ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, केन्द्रीय सदस्यहरु तथा गण्डकी प्रदेश संयोजक महेश भण्डारीको उपस्थितिमा प्रवक्ता डाक्टर सूर्यराज आचार्यले रजनी केसीलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको घोषणा गरे।

नेपाल विद्यार्थी संघको राजनीतिपछि जागिरे बनेकी रजनी गएको वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासकबाट राजीनामा दिएर भदौमा साझा पार्टीमा सामेल भएकी थिइन्। उनलाई साझाले त्यसलगत्तै केन्द्रीय सदस्य बनाएको थियो।

सुन्दरी प्रतियोगिताकी विजेता समेत रहेकी रजनीले आफ्नो विगतलाई अनुभवको रुपमा लिँदै देश परिवर्तनको लागि साझाको तर्फबाट उम्मेदवार बनेको दावी गरिन्। उम्मेदवारी घोषणा कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै उनले भनिन्,‘देश बनाउने अभियानमा होमिएको हुँ, म जीतको लागि मैदानमा ओर्लेको हुँ।’ रजनी साझामा प्रवेश गर्दा नै उपनिर्वाचनमा उम्मेदवार बन्ने हल्ला चलेको थियो।

बीचमा वामदेव गौतमले कास्कीबाट चुनाव लडे रवीन्द्र मिश्रलाई नै उम्मेदवार बनाउने कि भन्ने हल्ला चले पनि रजनीले केही समयअघिदेखि आफ्ना शुभचिन्तकसँग भोट माग्न थालिसकेकी थिइन्। ७१ हजार ८ सय ७१ जना मतदाता रहेको कास्की क्षेत्र नम्बर २ को अघिल्लो चुनावमा विवेकशील साझाले ८ सय ४३ मत पाएको थियो। त्यो चुनावमा साझा तेस्रो पार्टी बनेको थियो। यतिबेला साझासँग विवेकशील छैन।

मुलुकको राजनीतिलाई नयाँ सन्देश दिनको लागि कास्कीलाई प्रस्थानबिन्दु मानेर आफूहरु चुनावमा होमिएको प्रवक्ता आचार्यले जिकिर गरे। कार्यक्रममा बोल्दै साझाका संयोजक रवीन्द्र मिश्रले कास्कीका जनताले न त विरासतको राजनीति स्वीकार्छन्, न त विकृत राजनीति नै स्वीकार्छन् भन्ने विश्वास भएकोले आफूहरुको जीत सुनिश्चित भएको दावी गरे। उनले विरासत र विकृत शब्दावली कसको लागि भन्ने प्रष्ट त पारेनन्। र

वीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भण्डारी नै चुनाव उठ्ने चर्चाको बीचमा उनले विरासत शब्द प्रयोग गरेका हुन्। मिश्रले निर्वाचन आयोगले तोकेको खर्चको सीमाभित्र नै रहेर आफ्ना चुनावी कार्यक्रम गरिने जिकिर पनि गरे। उम्मेदवार घोषणासँगै कास्की क्षेत्र नम्बर २ को मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवारी घोषणा गर्ने साझा पहिलो पार्टी बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .