लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी तोकिएको स्थान दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सम्पर्क कार्यालय राख्ने भएको छ।
शुक्रबार साँझ बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले दाङको राप्ती गाउँपालिका २ लालमटियामा प्रदेशको सम्पर्क कार्यालय रहने गरि पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयले भौतिक पूर्वाधारको व्यवस्था गर्ने निर्णय गरेको हो।
साथै दाङमा रहेको उक्त मन्त्रालयलाई प्रदेश राजधानी व्यवस्थापनको कार्य जिम्मेवारी तोकको छ। मन्त्रालयलाई राजधानी व्यवस्थापनको कार्यालय, अभिलेख, सम्पती, दायित्व, जनशक्ति सहित हस्तान्तरण गर्ने समेत निर्णय भएको प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए।
प्रदेशमा यसअघि मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम रहेकोमा त्यसको सट्टा मुख्यमन्त्री शैक्षिक विकास कार्यक्रम लागू गर्ने पनि लुम्बिनी सरकारले निर्णय गरेको छ।
मुख्यमन्त्री कुलप्रसाद केसीको जनसम्पर्क सल्लाहकारमा रोल्पाका रमेशकुमार वली क्षेत्री नियुक्त भएका छन्।
यस्तै, लुम्बिनी सरकारले ५७ जनालाई प्रदेश पदकबाट विभूषित गर्ने भएको छ। संविधान दिवसको दिन यही असोज ३ गते पदक पाउनेहरुको सूचना राजपत्रमा प्रकासित गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरको छ।
यस्तै, प्युठानको झिम्रुक गाउँपालिकाको केन्द्रको नाम भ्यागुतेको सट्टा मच्छी कायम गर्ने निर्णय लुम्बिनी सरकारले गरेको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका, रोल्पाको रोल्पा नगरपालिका र त्रिवेणी गाउँपालिकाका वडाहरुलाई थपघट तथा समायोजन गर्ने प्रस्ताव केन्द्रमा पठाउने निर्णय समेत गरेको लुम्बिनी सरकारका प्रवक्ता खड्काले जानकारी दिए।
Shares
प्रतिक्रिया