काठमाडौँका विभिन्न ७ ठाउँमा डिस्प्ले राखेर नेकपा एमालेको विधान महाधिवेशनको प्रचार गरिने भएको छ।
असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरी सनराइज केन्द्रमा हुन लागेको सम्मेलनको प्रचारप्रसारका लागि सिनेमा हलको पर्दाजत्रै डिजिटल डिस्प्ले बोर्ड राखिने विधान सम्मेलन प्रचारप्रसार कमिटीका संयोजक खिमलाल भट्टराईले नेपालखबरलाई जानकारी दिए।
काठमाडौँका थापाथली, दरबारमार्ग, हात्तीसार, चाबहिल, कालीमाटी, चुच्चेपाटी र तीनकुनेमा रहेका डिजिटल बोर्डमा बिहान २ घण्टा र साँझ ३ घण्टा प्रसारप्रसारको व्यवस्था मिलाइएको भट्टराईले बताए।
विधान सम्मेलनको भिडिओ, महाधिवेशनको लोगो, अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुको तस्बिर डिजिटल डिस्प्लेमा देखाइनेछ।
‘विज्ञापनजस्तो बनाएर विधान महाधिवेशनको प्रचारको व्यवस्था मिलाइएको छ,’ भट्टराईले नेपालखबरसँग भने, ‘अडियो हुँदैन तर, भिडिओ रोल चाहिँ भइरहन्छ। सातै ठाउँमा एकैसाथ प्रसारण गर्न मिल्ने बनाइएको छ।’
उनका अनुसार असोज १४ गतेदेखि सम्मेलन समापन हुने १७ गतेसम्म सो डिजिटल डिस्प्ले राखिनेछ।
‘उद्घाटन सत्रको लाइभ प्रसारण गर्नेछौँ, अरु बेला विधान सम्मेलनका मुख्यमुख्य झलक रेकर्ड देखाउँछौँ। सम्मेलनमा पुग्न नपाएका साथीहरुलाई हेर्न सहज बनाउने प्रयास जारी राखेका छौँ,’ भट्टराईले थपे।
एमालेले पहिलोपटक गर्न लागेको विधान महाधिवेशन भएकोले देशभरबाट कति संख्यालाई सहभागी गराउने विषय टुंगो लागेको छैन।
‘हिजोसम्म ५ हजार भनिएकोमा आजबाट फेरि ६ हजार प्रतिनिधि पुग्ने भइसके,’ भट्टराईले प्रतिनिधि अटाउने जुक्तिबारे भने, ‘३ हजार हलमा अट्छ। त्यसको साइडमा रहेको दुईवटा प्यासेजमा कुर्सी राखेर १/१ हजार अट्ने व्यवस्था मिलाउन सकिने रहेछ। हलको पछाडिपट्टि बाल्कोनी पनि छ। मुख्य हलबाहिर रहेकालाई हलभित्रको गतिविधि प्रत्यक्ष देखाउन फ्ल्यास बोर्ड हुन्छ। ६ हजार संख्यालाई असुविधा नहुनेगरी डिजिटल फ्ल्यास बोर्ड राख्छौँ।’
सबैलाई बिहान ९ देखि ११ बजेसम्म खाना खुवाउने प्रबन्ध मिलाइएको छ।
खानाका लागि हलबाहिरको चौरमा क्याटरिङको व्यवस्था मिलाइएको उनको भनाइ छ।
‘सम्मेलनमा प्रतिनिधि सबैलाई बिहान ९ देखि ११ सम्म खाना, दिउँसो प्याकेटमा खाजा र ५ बजे कार्यक्रम समापन गरिन्छ, हरेक दिन बिहान ११ देखि ५ बजेसम्म कार्यक्रम हुन्छ।’
रुघा, ज्वरो देखिए सम्मेलनमा प्रवेश नपाइने
सम्मेलनमा ठूलो संख्यामा प्रतिनिधिको उपस्थिति हुने भएकोले थर्मल गनबाट ज्वरो नाप्ने र रुघा, खोकी वा कोरोनासँग मिल्दो लक्षण भएकालाई प्रवेश दिइने छैन।
स्यानिटाइजर, मास्क अनिवार्य गरिएको छ।
सातदोबाटो पु¥याएर छाडिदिने
सम्मेलन स्थलमा निजी सवारीसाधन नभएकाहरुलाई लाने र ल्याउने बसको व्यवस्था पनि मिलाइएको छ।
‘ठूला तर सुविधा युक्त बसले ललितपुरको सातदोबाटोमै आएर लैजाने र छाड्नेछ, प्रतिनिधि जहाँका भएपनि सातदोबाटो भने पुग्नैपर्छ,’ प्रचार प्रसार समिति संयोजक भट्टराईले भने।
कहाँ बस्लान ६ हजार
६ हजारलाई बस्ने व्यवस्था भने प्रदेश कमिटीले नै गर्नुपर्नेछ।
सात वटै प्रदेशबाट आएका प्रतिनिधिहरुलाई सम्बन्धित प्रदेशले नै सम्पर्क मञ्चको सहयोगमा आवासको व्यवस्था मिलाउन परिपत्र नै गइसकेको छ।
‘आवासको जिम्मा प्रत्येक प्रदेश कमिटीले मिलाउनुपर्छ, सम्पर्क मञ्चले उहाँहरुलाई सहयोग गर्छ,’ भट्टराईले थपे।
तीन विषयमा छलफल गर्न ५० समूह
विधान सम्मेलनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेलको विधान प्रतिवेदन र महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि ५० समूह बनाएर छलफल हुनेछ।
‘सबै प्रतिनिधिलाई समेटेर ५० समूह बन्छ, प्रत्येक समूहका नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्नु हुनेछ,’ प्रचारमा खटिएका खिमलाल भट्टराईले भने, ‘समूहमा कति जना राख्ने भन्ने छलफलमै छौँ।’
बोल्ने नेताको टुंगो स्थायी कमिटीले
महाधिवेशनको उद्घाटन सत्रलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन्।
उद्घाटन सत्रको प्रत्यक्ष प्रसारण हुनेछ। अन्य नेताहरु क–कसलाई बोल्न दिने निर्णय भने अब बस्ने स्थायी कमिटीले तय गर्नेछ।
सातै प्रदेशका प्रतिनिधि उपस्थित हुने भएकोले एमालेका मुख्य ७ नेतालाई बोल्न दिने भन्ने छलफल भए पनि निर्णय भइसकेको छैन।
उमेर हद र युवाको विषय वडासम्म लैजाने
चुनाव छिट्टै हुन सक्ने दाबी गरिरहेका अध्यक्ष ओलीले सम्मेलनमा आएका प्रतिनिधिलाई चुनावी निर्देशनसँगै प्रशिक्षण पनि दिनेछन्।
एक नेताले दिएको जानकारी अनुसार एक कार्यकारी पदमा दुई पटक भन्दा बढी बस्न नपाइने व्यवस्था, उमेर हद (७० वर्ष) ले एमालेमा सबैको पालो आउँछ भन्ने सन्देश दिएर चुनावमा होमिन उर्जा दिने योजना बनाइएको छ।
‘उमेर हद र एक कार्यकारी पदमा २ पटकभन्दा बढी बस्न नपाउने निर्णयले वडा कमिटीसम्मका नेताको पालो आउने देखिन्छ,’ ती नेताले भने, ‘चुनावमा सबै खटिनको लागि यसले ठूलो भूमिका खेल्छ।’
ठूलो संख्यामा काठमाडौं बोलाइएका नेताहरुलाई एकैपटक सम्बोधन गरेर ओलीले चुनावकै लागि माहोल बनाउन खोजेको नेताहरु बताउँछन्।
२ सय स्वयंसेवक
सम्मेलनको सुरक्षाका लागि सुरक्षाकर्मी, प्रहरीसँगै २ सय स्वयंसेवक खटिनेछन्।
जिफन्ट, अनेरास्ववियु, युवा संघ र राष्ट्रिय खेलकुद महासंघमा आवद्ध रहेका युवाहरु सुरक्षामा हलभित्र र बाहिर खटिनेछन्।
Shares
प्रतिक्रिया