राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी तीन वटा प्रतिवेदन पारित गर्दै नेकपा एमालेको विधान महाधिवेशन सकिएको छ।
ललितपुरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि भएको महाधिवेशले ४ सन्देश दिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपालखबरलाई बताए।
१. एमाले राजनीतिको केन्द्रमा
सर्वाेच्च अदालतको आदेशका कारण सरकारबाट विस्थापित भएको र लगत्तै एमाले विभाजन भएपछि कमजोर भएको चर्चा थियो। तर, महाधिवेशनमा उपस्थित विशाल संख्याले त्यसलाई चिरेको ज्ञवालीको दाबी छ।
‘एमाले एकताबद्ध, सुदृढ, आकर्षक र राष्ट्रिय राजनीतिको केन्द्रमा छ भन्ने सन्देश भव्य रुपमा उपस्थित संख्याले देखायो,’ ज्ञवालीले नेपालखबरसँग भने।
२. विचारमा एकमत
‘पार्टीभित्र वैचारिक एकमत रहेको सन्देश दिन महाधिवेशन सफल भएको छ, यो हाम्रो सफलता हो,’ उनले थपे।
कुनै पनि फरक मत, मत भिन्नता पेस नभई महाधिवेशन सकिएको छ। यसलाई पनि सफलता मान्छन् ज्ञवाली।
‘पार्टीभित्रको छलफलमा सधैँ विवाद, अन्र्तकलह, अन्तर्विरोध गर्नुपर्छ भन्ने छैन,’ ज्ञवाली भन्छन्, ‘सबैका कुरा सुनेर महाधिवेशनले केन्द्रीय र स्थायी कमिटीबाट पास भएका तीनवटै डकुमेन्टलाई पारित गरेको छ।’
३. ओलीलाई एकलौटी नेतृत्व चयनको बाटो खुला
महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई दसौँ महाधिवेशनको निर्विकल्प अध्यक्ष चयन गर्ने बाटो खोलिदिएको छ।
‘विधान महाधिवेशन लगत्तै आगामी मंसिरमा तय भएको राष्ट्रिय महाधिवेशनमा नेतृत्वको विषयलाई टुंगो लगाएको छ,’ ज्ञवालीले भने, ‘अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टीलाई सुदृढ बनाउने स्पस्ष्ट संकेत देखाएको छ। अब उहाँकै नेतृत्वमा पार्टी थप शक्तिशाली बन्नेछ।’
४. चुनाव जित्ने आधार प्रदान
एमालेले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेगरी पार्टी परिचालन गर्न महाधिवेशनले मार्ग खोलेको ज्ञवाली बताउँछन्।
वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका केही प्रभावशाली नेताहरुले एमाले विभाजन गरेर अर्काे पार्टी गठन गरेपछि त्यसको क्षतिपूर्ति गर्दै बहुमत ल्याएर तीनै तहको चुनाव जित्ने शक्ति महाधिवेशनले दिएको उनको भनाइ छ।
‘अब पार्टी निर्वाचनमा केन्द्रित हुन्छ। विभाजनबाट भएको क्षतिपूर्ति गर्दै तीनै तहमा बहुमत ल्याएर शक्तिशाली सरकार बनाउने मार्ग खोलेको छ,’ विधान महाधिवेशनले दिएको सन्देश यो पनि हो,’ ज्ञवालीले भने।
एमालेको आगामी दसौँ महाधिवेशनमा ओलीलाई शक्तिशाली अध्यक्ष बनाउने निर्णय पारित गरेको छ। तर, यसले पार्टीमा सामूहिक नेतृत्व प्रणालीमा भने क्षति गरेको नेताहरुको भनाइ छ।
Shares
प्रतिक्रिया