विधान महाधिवेशनमार्फत् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थप एक कार्यकालका लागि आफ्नो पद सुरक्षित गरिसकेका छन्। दसौँ महाधिवेशनमा कुनै पनि नेताले अध्यक्ष पदमा ओलीलाई चुनौती नदिने एमाले नेताहरु बताउँछन्।
त्यसैले मंसिर १०, ११ र १२ गते बुटवलमा गरिने महाधिवेशनमा अध्यक्ष को बन्ला भन्ने कौतुहलता बाँकी छैन। बरु, अध्यक्षपछिका महत्वपूर्ण पदहरु महासचिव र वरिष्ठ उपाध्यक्षको निर्वाचनमा सबैको ध्यान केन्द्रित हुनेछ।
उसोभए ५ लाख सक्रिय कार्यकर्ता रहेको भनिएको र संसदको सबैभन्दा ठूलो दल एमालेको शक्तिशाली महासचिव र वरिष्ठ उपाध्यक्ष को बन्लान् त?
एमाले सचिव पृथ्वीसुब्बा गुरुङ महासचिव बन्ने व्यक्ति वैचारिक र सांगठनिक रुपमा दक्ष हुनुपर्ने बताउँछन्।
एमाले नेताहरुको भनाइमा महासचिव पदका लागि विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ दाबेदार हुन्। तीमध्ये पनि पौडेल र पोखरेलको चर्चा बढी छ। विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दाको एक परिदृश्यले पनि यो चर्चालाई थप टेवा दियो।
असोज १५ मा ललितपुरको गोदावरीमा विधान महाधिवेशन उद्घाटनपछि राजनीतिक प्रतिवेदन पढ्दैगर्दा ओलीले आफुलाई कमजोर महसुस गरे र बाँकी प्रतिवेदन पढ्ने जिम्मा शंकर पोखरेललाई दिए।
विधान महाधिवेशनमा उपस्थित भएका ६ हजार ३ सय प्रतिनिधिका अघिल्तिर ओलीले पोखरेललाई राजनीतिक प्रतिवेदन पढ्न लगाएपछि धेरैले उनलाई सम्भावित महासचिवको रुपमासमेत चर्चा गरे।
किनभने ओलीले प्रतिवेदन पढ्न प्रदीप ज्ञवाली वा विष्णु रिमाललाई लगाउन सक्थे। अथवा मञ्चमा बसेका उपाध्यक्षसहितका अन्य नेताहरुले पनि पढेर सुनाउन सक्थे। तर, ओलीले नामै तोकेर शंकर पोखरेललाई यो जिम्मेवारी दिँदा विभिन्न अर्थ लगाउन थालियो।
विधान महाधिवेशनमा ओलीले उपलब्ध गराएको फोरम पोखरेललाई अघि बढ्न अत्यन्त महत्वपूर्ण रहेको नेताहरुको दाबी छ।
त्यसबाहेक पोखरेललाई महासचिव बनाउने केही आधार देखिएको उनी पक्षका नेताहरुको भनाइ छ। कतिपय नेताहरुको भनाइमा ओलीको राजनीतिक प्रतिवेदन तयार पार्न पोखरेलले सहयोग गरेका थिए भने अन्य नेताले चाहिँ बरु प्रदीप ज्ञवालीले सहयोग गरेको बताएका छन्।
त्यस्तै, २०५१ सालदेखि निरन्तर ओली क्याम्पमा रहेका नेता हुन् पोखरेल।
अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष भएर राजनीतिमा सक्रिय भएका पोखरेलले मदन भण्डारीसँग निकट रहेर काम गरेका थिए। त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति र अनेरास्ववियुको अध्यक्ष भएपछि उनको चर्चा चुलिएको थियो।
ओलीका विश्वासपात्र रहेकैले उनलाई मुख्यमन्त्री बनाउनेगरी लुम्बिनी प्रदेश सभामा चुनाव लडाइएको थियो। र, उनी मुख्यमन्त्री पनि भए।
मुख्यमन्त्री भएर बुटवलमा बस्दा पनि जब ओलीलाई कुनै राजनीतिक संकट पर्थ्यो, पोखरेल तुरुन्तै काठमाडौँमा हाजिर हुन्थे र ओलीको संकट पार लगाउन दौडधुप गर्थे।
तत्कालीन नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला पोखरेल निकै सक्रिय भए। विवाद मिलाउन पोखरेलले धेरैपटक अध्यक्ष प्रचण्डसँग खुमलटार निवासमै पुगेर भेटवार्ता गरेका थिए।
पोखरेल नवौँ महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका थिए। तर, ओलीसँगको निकटताकै कारण उनले कुनै न कुनै भूमिका पाइरहे, सक्रिय भइरहे। त्यसैले अब महासचिवमा पोखरेलकै सम्भावना ज्यादा रहेको एमाले नेताहरु बताउँछन्।
तर अन्य केही नेताहरु भने महासचिव को बन्छ भन्ने अहिले नै प्रष्ट तस्बिर आइनसकेको र अब महासचिव बन्ने नेता नै ओलीको उत्तराधिकारी हुन्छ भन्ने सुनिश्चित पनि नहुने बताउँछन्। उनीहरुका अनुसार पोखरेलको संभावना जति छ त्यत्तिकै बलियो दाबेदार विष्णु पौडेल हुन्।
‘वरिष्ठसहित पाँच जना उपाध्यक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्यहरू सायद पर्छन् होला, अनि महासचिवको स्वाभाविक दाबेदार विष्णु पौडेल र शंकर पोखरेल हुनसक्छन्’, एमालेका एक नेता संभावित परिदृश्यबारे भन्छन्, ‘अर्को कुरा फेरि महासचिव नै ओलीको खास उत्तराधिकार हुन सक्छन् भन्ने पनि छैन, उपाध्यक्षमध्येबाट पनि हुन सक्छन्।’
विष्णु पौडेलः महासचिव नभए वरिष्ठ उपाध्यक्ष?
अबको महासचिव पौडेल नै हुने एक स्थायी कमिटी सदस्यले पनि दाबी गरे।
‘नेकपा हुँदा पनि उहाँ महासचिव हो, त्यसबेला उहाँले खेलेको भूमिका उल्लेखनीय थियो,’ ती नेताले नेपालखबरसँग भने, संगठन सुदृढीकरणमा उहाँको क्षमता धेरै राम्रो छ।’
स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पदाधिकारीका विषयमा अहिले नै अनुमान गर्न गाह्रो भए पनि संगठनमा बलियो पकड पौडेलकै भएको बताए।
‘अहिले नै यही व्यक्तिले फलानो जिम्मेवारी पाउला भनेर अनुमान गर्न गाह्रो छ,’ विश्वकर्माले भने, ‘संगठनमा उपमहासचिव विष्णु पौडेल बलियो देखिनुभएको छ। भूगोल र संगठनमा उहाँको राम्रो छ, लचकता, हरेक पार्टी सदस्यको हेक्का राख्न सक्ने उहाँको क्षमता एमालेलाई बलियो बनाउने आधार हो।’
तर, ओलीनिकट एक नेताले भने पोखरेलको सम्भावना ज्यादा रहेको बताए।
‘अध्यक्षको लिगेसी बोक्ने शंकर पोखरेल नै हो भन्ने देखियो,’ ती नेताले नेपालखबरसँग भने, ‘अध्यक्षले दिएको महत्व रणनीतिक छ।’
पोखरेल महासचिव बने पौडेल वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना उच्च रहेको उनीहरुको भनाइ छ।
वरिष्ठ उपाध्यक्ष पार्टीका प्रतिबद्ध र अध्यक्षको सबैभन्दा विश्वासिलो नेता हुनुपर्ने सचिव पृथ्वीसुब्बा गुरुङ बताउँछन्।
‘वरिष्ठ उपाध्यक्ष कार्यवाहक अध्यक्ष हुन्छ, अध्यक्षको अनुपस्थितिमा काम गर्नुपर्ने भएकोले यो पदमा नेतृत्व हस्तान्तरणको अवधारणाअनुसार नेताहरु चयन गरिनुपर्छ,’ गुरुङ भन्छन्।
सचिव गुरुङ पदाधिकारी चयनमा तीन कुरा ख्याल गरिने बताउँछन्। पहिलो, एकताको सन्देश दिनुपर्ने। यसका लागि माओवादी छाडेर आएका रामबहादुर थापा बादल लगायतको व्यवस्थापन गर्नुपर्ने हुन्छ।
दोस्रो, माधव नेपाल समूह छाडेका १० जना नेताको व्यवस्थापन।
‘युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य लगायतका १० नेतालाई व्यवस्थापन गर्नुपर्छ,’ गुरुङले भने।
तेस्रो, नवौँ महाधिवेशनबाट निर्वाचित नेताहरुको व्यवस्थापन। ०७१ मा काठमाडौँमा भएको महाधिवेशनबाट उपाध्यक्षमा वामदेव गौतम, युवराज ज्ञवाली, विद्या भण्डारी, अष्टलक्ष्मी शाक्य र भीम रावल निर्वाचित भएका थिए।
महासचिव ईश्वर पोखरेलले जित्दा उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल निर्वाचित भएका थिए। सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, भीम आचार्य र पृथ्वी सुब्बा गुरुङ निर्वाचित भएका थिए।
नवौँ महाधिवेशनबाट निर्वाचितहरुको जिम्मेवारी दसौँ महाधिवेशनबाट बढाउनुपर्ने तर्क गुरुङको छ।
‘उपाध्यक्ष पदको व्याख्या के हुन्छ, सचिवहरुको भूमिका कसरी दिइन्छ, यी कुराले पदाधिकारी चयनको बाटो निर्धारण गर्छ,’ गुरुङले भने।
एकताको सन्देश दिने हो भने बादललाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने उनीनिकट नेताहरुको भनाइ छ। तर, चुनाव लड्नुपर्ने स्थितिमा उनले जित्न कठिन रहेको बताउँछन् बादलनिकट केन्द्रीय सदस्य दावा तामाङ।
‘अध्यक्ष ओलीले सँगै लिएर हिंड्न खोजेको, एकताको सन्देश दिन खोजेको त देखिन्छ,’ तामाङले नेपालखबरसँग भने, ‘तर, अहिले नै जिम्मेवारीको विषयमा यसै हुन्छ भन्न सकिँदैन।’
त्यसैले ओलीले यसपटक सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गराउन चाहेका छन्।
तर, त्यो काम त्यति सजिलो भने छैन। १५ पदाधिकारीमा पर्न अहिले नै नेताहरुको दौडधुप सुरु भइसकेको छ। निर्वाचन मण्डल पनि बनिसकेको छ र कसैको उम्मेदवारी परेको खण्डमा निर्वाचनमा रोक्न ओलीले सक्ने छैनन्।
तर, निर्वाचन भए पनि १५ वटै पदमा ओलीले चाहेकै नेताहरु मात्र आउने सम्भावना उच्च रहेको नेताहरु बताउँछन्।
Shares
प्रतिक्रिया