आज (आइतबार) बिहान पोखरा जान ठिक्क परिसकेका प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनअघि मात्र उद्योगमन्त्रीमा नियुक्त गजेन्द्र हमालको राजीनाका कारण केही बेर रोकिएका छन्।
अब उनकाे राजीनामा बुझेर मात्र प्रधानमन्त्री देउवा पोखरा प्रस्थान गर्ने उनका प्रमुख स्वकीय सचिव भानु देउवाले नेपालखबरलाई जानकारी दिए।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री हमालले आज प्रधानमन्त्री देउवासमक्ष राजीनामा बुझाएका हुन्।
त्यसैकारण आज बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम रहेका देउवा केही समय राेकिनुपर्ने अवस्था आएकाे हाे।
उनकाे सचिवालयका अनुसार यसअघि प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आज आयोजना हुने गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यतालिका थियाे।
यसैगरी दिउँसो ३ बजे उनी पोखरा–१७ मा चियापान एवं अन्य कार्यक्रममा सरिक हुने तय भएकाे छ।
लगत्तै प्रधानमन्त्री देउवाले अपराह्न ५ बजेपछि राष्ट्रबैंक गेस्ट हाउसमा कार्यकर्तासँग भेटघाट गर्नेछन्।
यसपछि प्रधानमन्त्री देउवाले भोलि सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ।
प्रधानन्यायाधीश राणाका जेठान हमालले विवादमा नफस्ने भन्दै मन्त्री बनेकाे ३ दिनमै राजीनामा दिएका हुन्। सांसद नरहेका उनी अस्ति २२ गते मात्र कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका थिए।
याे पनि : ‘श्रीमान’ राणाका जेठान– १९ नम्बर मन्त्री
Shares
प्रतिक्रिया