गएको साउन ७ गते गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सांसद डोबाटे विश्वकर्मालाई दौरा–सुरुवालमा सजिएर पोखरा आउन भने। मुख्यमन्त्री पोखरेलले साउन ८ गते मन्त्रिपरिषद् विस्तार गर्दै थिए।
डोबाटेलाई मन्त्री बनाउने पक्कापक्कीजस्तै भएको थियो। टेलिफोन आएपछि उनले दौरा–सुरुवालमा इस्त्री लगाए। तर, फोन आएको केही बेरमै उनको नाम काटिइसकेको थियो। सोझा डोबाटेले त्यो कुराको मेसो पाएनन्।
साउन ८ गते बिहानै दौरा–सुरुवाल–कोट झोलामा बोकेर दमौलीबाट पोखरातिर हान्निए। तनहुँ कटेर पोखराको तालचोक आइसकेपछि उनले आफ्नो नाम मन्त्री बन्ने लिस्टमा नभएको पत्तो पाए।
उनी त्यसपछि सरासर मुख्यमन्त्री कृष्णचन्द्र नेपालीकहाँ पुगे। किन यस्तो भयो? उनले प्रश्न गरे। कृष्णचन्द्र नेपालीले जवाफ दिएनन्। आफूले मन्त्री बनाउन नसकेको बताए।
इमानको राजनीति गरेका र जीवनभर कांग्रेसमा लागेका डोबाटे निराश भए तर हतोत्साही बनेनन्। आफूमाथि अन्याय भएकोमा असन्तुष्टि जनाए। मन्त्रीको शपथमा लगाउन तयार पारेको दौरा–सुरुवाल थन्क्याए।
डोबाटेले साउनमा थन्क्याएको दौरा–सुरुवालको एकाएक काम आयो। गण्डकी मन्त्रिपरिषद् १२ सदस्यीय बनाउन मिल्ने अवस्था थियो। एकजना मन्त्री थप्न सकिन्थ्यो। मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले त्यही पहल गरे।
लुम्बिनीमा १७ सदस्यीय मन्त्रिपरिषद बनाएको सेरोफेरोमै डोबाटेलाई मन्त्री बनाउने सहमति जुर्यो। कांग्रेसको तर्फबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलित नेताले सोमबार पद तथा गोपनीयताको शपथ लिए।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङसामु पद तथा गोपनीयताको शपथ लिएका उनको मन्त्रालय भने टुंगो लागेको छैन।
तर, दसैँको मुखमा उनी मन्त्रीको हैसियतले गाउँ जान पाउने भएका छन्।
Shares
प्रतिक्रिया