नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचौं पटक प्रधानमन्त्री पद सम्हालेको सय दिन पूरा भइसकेको छ।
तर उनले सय दिने कार्यकाल पूरा गर्दा निजी सचिवालय गठन गर्नै सकेका छैनन्। गठन नै नभएको निजी सचिवालयमा बसेर देउवालाई सहयोग गरिरहेकाहरुको सूची भने लामो छ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेसनिकट पत्रकारको एक समूहले सञ्चारमाध्यमसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ। यो समूहको नेतृत्व पत्रकार गोविन्द परियारले गरिरहेका छन्। परियारको नेतृत्वमा आठ पत्रकारको समूह छ। समूहमा परियारसँगै विजय अधिकारी, यम विरही, सरिन घिमिरे, रोशन सापकोटालगायत छन्।
प्रधानमन्त्रीको अघोषित यो सचिवालयमा काम गर्दै आएका एक पत्रकारले आफूहरुको समूह सात जनाको रहेको पुष्टि गरे।
‘आवश्यक पर्दा मात्रै, बालुवाटार जाने हो। सहयोगका लागि मिडिया एक्सपर्टका रुपमा काम गरिरहेका छौं,’ ती पत्रकारले नेपालखबरसँग भने, ‘हामी फोटो, आइटी र भिडियो एक्सपर्टसहित सातजना छौं।’
बालुवाटारनिकट स्रोतका अनुसार पत्रकार परियार र फोटो पत्रकार सापकोटाले प्रधानमन्त्रीको सचिवालयमा काम गरिरहेका छन्। अर्कातिर पत्रकारद्वय अधिकारी र विरहीले कांग्रेस सभापतिको सचिवालय सम्हाल्दै आएका छन्।
सचिवालयमा कार्यरत एक पत्रकारका अनुसार अधिकारी र विरहीले कांग्रेस महाधिवेशनलक्षित ‘प्रेस म्याटर’ तयार गर्छन्। परियारले प्रधानमन्त्री देउवाका दैनिक क्रियाकलापमा सञ्चारमाध्यमसँग समन्वय गर्दै आएका छन्।
उनीहरुले देउवा प्रधानमन्त्री भए लगत्तैदेखि काम गर्दै आएपनि प्रधानमन्त्री देउवाले अहिलेसम्म आधिकारिक रुपमा कसैलाई नियुक्ति दिएका छैनन्। प्रधानमन्त्रीको सचिवालयमा प्रेस संयोजनको काम सम्हाल्दै आएका परियारबाहेक कसैले पनि सरकारी सेवा–सुविधा पाएका छैनन्।
‘हामी कसैले पनि तलब सुविधा लिएका छैनौं,’ उनले भने।
परियारले पनि सेतो नम्बर प्लेटको स्करपिओ प्रयोग गर्दै आए पनि मासिक पारिश्रमिक नलिएको बालुवाटार स्रोतको भनाइ छ।
फोटो पत्रकार सापकोटा राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन्। पत्रकारिता पृष्ठभूमिका घिमिरेले पनि प्रधानमन्त्रीको सचिवालयमा बसेर सघाइरहेका छन्। तर उनले पनि सेवा सुविधा लिएका छैनन्।
केही समय अगाडि घिमिरेले मूलधारका अनलाइनमा कांग्रेस बिटमा काम गर्दै आएका केही पत्रकारलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश देउवा र प्रेस संयोजन गरिरहेका परियारसँग अन्तरक्रिया गराएका थिए।
परियार यसअघि देउवा चौथो पटक प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए भने फोटो पत्रकार सापकोटालाई राससबाट काजमा बालुवाटार ल्याइएको थियो।
प्रधानमन्त्री देउवाले अहिलेसम्म प्रमुख स्वकीय सचिवमा भानु देउवा र प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाललाईमात्र नियुक्त गरेका छन्। उनले प्रधानमन्त्री नियुक्त भएको दुई महिनापछि पूर्व गृहसचिव नेपाललाई प्रशासनिक सल्लाहकार नियुक्त गरेका हुन्।
त्यसअघि प्रधानमन्त्री भएको एक महिनाभन्दा लामो समयपछि देउवाले भतिजा भानुलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा नियुक्त गरेका थिए। देउवा कांग्रेस सभापति रहँदा पनि भानुले नै उनको सचिवालय सम्हाल्दै आएका थिए।
देउवाले प्रधानमन्त्रीको बागडोर सम्हालेको ८८ औँ दिन अर्थात असोज २२ गते मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए। त्यसअघि मन्त्रिपरिषद् विस्तार लगत्तै औपचारिक रुपमा निजी सचिवालय गठन गरिने उनीनिकट नेताहरुले बताउँदै आएका थिए।
तर, मन्त्रिपरिषदलाई पूर्णता दिएको दुई साता पुग्दा पनि निजी सचिवालय गठन हुन सकेको छैन। निजी सचिवालयमा बस्न इच्छुकको संख्या धेरै देखिएकाले देउवालाई सचिवालय गठनमा सकस परेको धेरैको भनाइ छ।
प्रधानमन्त्री देउवानिकट कांग्रेसका एक केन्द्रीय सदस्यले एक साताभित्रै सचिवालय गठन हुने प्रतिक्रिया दिए।
‘आज र भोलि प्रधानमन्त्रीज्यू सुदूरपश्चिम मै हुनुहुन्छ। फर्केपछि बढीमा एक हप्ता जसो लाग्ला, सचिवालय बन्छ,’ ती नेताले नेपालखबरसँग भने।
सचिवालय गठन गर्न असफल प्रधानमन्त्री देउवाले अहिले महामन्त्री पूर्णबहादुर खड्कासँग राजनीतिक, सहमहामन्त्री डा. प्रकाशशरण महतसँग पराराष्ट्र र विनोद भट्टराईसँग आर्थिक सल्लाह लिँदै आएका ती नेताले जानकारी दिए।
उनका अनुसार देउवाले प्रमुख राजनीतिक सल्लाहकारबाहेक सचिवालयमा नियुक्त गर्ने मनस्थिति बनाएका छन्। यसअघि देउवाले सहमहामन्त्री डा. महत, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखकमध्ये एकलाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने तयारी गरेका थिए।
तर, नेताहरुले पार्टीको आसन्न महाधिवेशनमा प्रभाव पर्न सक्ने पूर्वानुमान गरेर अनिच्छा देखाएपछि प्रधानमन्त्री देउवाले प्रमुख राजनीतिक सल्लाहकार नराख्ने सोच बनाएको ती नेताको भनाइ छ।
Shares
प्रतिक्रिया