ad ad

राजनीति


आफूनिकट उम्मेदवार उठाउने पौडेलको दाउ, कास्की नै आएर बुझे अवस्था

 आफूनिकट उम्मेदवार उठाउने पौडेलको दाउ, कास्की नै आएर बुझे अवस्था

वाशुदेव मिश्र
कात्तिक १४, २०७६ बिहिबार १०:४६,

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि कांग्रेसले १६ जना आकांक्षी उम्मेदवारको नाम केन्द्रमा पठाएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार १६ जना आकांक्षीमध्ये कसलाई टिकट दिने भन्ने निर्णय आइतबार मात्रै गरिने भएको छ।

कास्कीको सो निर्वाचन क्षेत्रबाट यसअघि देवराज चालिसेले चुनाव लडेका थिए। प्राध्यापन छाडेर चुनावमा होमिएका चालिसे पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्। त्यसो त कास्की कांग्रेसका सभापति कृष्ण केसी पनि पौडेलसँगै नजिक मानिन्छन्। आफ्नै छिमेकी जिल्ला भएकोले पनि कास्कीप्रति पौडेलको बढी नै चासो छ।

कलेज जीवन यहीँ बिताएका पौडेल यो पटक पनि कास्कीबाट आफ्नै समर्थकले टिकट पाओस् भन्ने चाहन्छन्। यस मानेमा यो पटक पनि उम्मेदवारको सूचिमा परेका देवराज नै उनको रोजाई हुनसक्छन्। तर, कांग्रेस स्रोत भन्छ, ‘रामचन्द्र सबैका हुन्, कसैका पनि होइनन्, त्यसैले उनी अन्तिम समयमा जता पनि ढल्कन सक्छन्।’ उनको यही कमजोरी बुझेर अहिलेका सबै दावेदारहरुले पौडेलको खातिरदारी गरिरहेका छन्।

टिकट दिने पार्टी सभापति देउवाले नै हो भन्ने बुझे पनि पौडेलको भूमिकालाई कमजोर आँक्ने अवस्थामा उनीहरु छैनन्। किनकि, यहाँका सभापति र प्रभावशाली मानिएका शुक्रराज शर्मा पनि पौडल खेमाकै हुन्।

यो खातिरदारी बुधबार पनि देखियो। रामचन्द्र पौडेल बुधबार निन्तान्त पारिवारिक भ्रमण भन्दै पोखरा आए। हिमपहिरोमा परि मृत्यु भएका सञ्जय खनालको परिवारलाई समवेदना व्यक्त गर्न आएका उनी त्यसबाहेक पनि दुई ठाउँमा समवेदना व्यक्त गर्न पुगे। पस्र्याङका खनाल परिवार पौडेलका आफन्त हुन्। त्यसबाहेक उनी मातृशोकमा रहेका पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दीपक श्रेष्ठ र पूर्वकोषाध्यक्ष दिलिपराज श्रेष्ठको परिवारलाई समवेदना व्यक्त गर्न पुगे। श्रेष्ठको पुरानो घर लमजुङको हाँडेटार हो। यो गोविन्दराज जोशीको घर नजिकै पर्छ।

त्यसैगरी पौडेल मातृशोकमा रहेका डाक्टर वसन्त ताम्राकार कहाँ पनि पुगे। सबै ठाउँमा जाँदा उनीसँगै उम्मेदवारका आकांक्षी र शुभेच्छुकहरु थिए। पौडेललाई सबै ठाउँमा कास्की सभापति कृष्ण केसीले पु¥याएका थिए।

आफू निकट पार्टी सभापतिसँग गाडीमा रहँदा उनले कास्कीको आसन्न चुनाव र उम्मेदवारबारे गोप्य मन्त्रणा गरेको अड्कलबाजी गरिएको छ। केन्द्रमा १६ जना आकांक्षीको नाम गएको र पार्टी सभापति शेरबहादुर देउवाले जित्ने उम्मेदवारलाई मात्रै टिकट दिने घोषणा गरेको सन्दर्भमा उनले आफू पक्षीय उम्मेदवारको अवस्थाबारे चासो लिएको स्रोतले बतायो।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले चाहिँ शोक व्यक्त गर्न आएकाले वरिष्ठ नेतासँग चुनावी कुरा नभएको जिकिर गरे। ‘खासमा चुनावको कुरै भएन, उहाँसँग सामान्य कुरा भयो’, उनले भने। ‘कांग्रेसको अवस्थाबारे त सोध्नुभयो होला नि?’ भन्ने नेपालखबरको प्रश्नमा उनले हाँस्दै भने, ‘मैले त जो उम्मेदवार भए पनि हामीले जित्छौँ भनेको छु।’

बुधबार बिहान साढे १० बजे पोखरा आएका उनले पोखरा एयरपोर्ट अगाडि गएर खाना खाए। खाना खाने ठाउँमा पौडेलसँग चुनावका सबै आकांक्षी थिए। देवराज चालिसेदेखि ऋषि काफ्लेसम्मका नेता भएको ठाउँमा रामचन्द्रले चुनावको कुरा गरेनन्। तर, स्रोतका अनुसार कास्कीमा आफ्नो उम्मेदवार उठाउने भित्री चाहनामा शेरबहादुरको आँखा पर्छ कि भन्नेमा उनी सचेत चाहिँ छन्। उनी आफैँले पोखरा आउँदा देउवा वा रामचन्द्र कांग्रेस नभन्न र एक भएर चुनावमा जान कार्यकर्तालाई निर्देशन दिँदै आएका छन्। अझ एक कार्यक्रममा त उनले देउवा नजिक तर अवसर नपाएका खेमराज पौडेललाई देखाउँदै ‘उहाँहरुको त्यागको पार्टीले मूल्याङ्कन गर्नुपर्ने’ भन्दै पुराना नेताहरुको सहानुभूति बटुल्ले प्रयास समेत गरेका थिए।

संयोग, यो पटक टिकटको दावेदारीमा उनै खेमराजको पनि नाम छ। खेमराजलाई रामचन्द्रले राम्रैसँग चिन्छन्। त्यतिमात्रै नभएर १६ जनाको नाम केन्द्रमा जाँदा देउवाले आफू निकट खेमराजलाई टिकट दिए भने रामचन्द्रले विरोध गर्न नसक्ने अवस्था समेत रहेको कांग्रेसीहरुको अनुमान छ। ‘त्यसैले बाहिर शान्त देखिए पनि रामचन्द्रमा भित्रभित्रै कास्कीमा आफ्नो उम्मेदवार उठाउने रणनीति छ’, स्रोतले भन्यो, ‘कथंकदाचित अर्को अनुहार आए पनि उनी आफूप्रति सफ्टकर्नर राख्ने व्यक्ति नै यहाँ उम्मेदवार बनोस् भन्ने चाहन्छन्, हिजोको यात्रा पनि यही सन्दर्भमा भएको हो।’

नेकपामा पनि रवीन्द्र पत्नी विद्यासहित ३ जना

कास्की क्षेत्र नम्बर २ तत्कालीन एमालेकोतर्फबाट रवीन्द्र अधिकारीले जितेको क्षेत्र हो। रवीन्द्र अहिले छैनन् । रवीन्द्र नभएपछि सो क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले उनकै पत्नी विद्या भट्टराईको नाम सिफारिस ग¥यो। सिफारिसँगै विद्या उम्मेदवार बन्ने पक्का भएको प्रचार भयो।

तर, जिल्लाबाट एउटा मात्रै नाम पठाइएकोमा प्रदेश कमिटिले त्यसमा पुराना नेता सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’को नाम समेत थपेर केन्द्रमा पठायो। गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रक्रिया पु¥याउन तीन जनाकै नाम केन्द्रमा पठाइएको बताइए पनि यो निर्णयले टिकट जसले पनि पाउन सक्ने सम्भावना जीवितै रह्यो।

साझा पार्टीले भने रजनी केसीलाई उम्मेदवार घोषणा गरी चुनावी अभियान थालिसकेको छ। पार्टी गण्डकी संयोजक महेश भण्डारीका अनुसार पार्टीले तिहारमा देउसी÷भैलो मार्फत मतदाता सचेतता अभियान चलाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .