ad ad

राजनीति


एमाले महाधिवेशनः विश्वका ६२ दललाई निम्ता, प्रतिनिधिको संख्या बढ्ने

एमाले महाधिवेशनः विश्वका ६२ दललाई निम्ता, प्रतिनिधिको संख्या बढ्ने

दुई वर्षअघि चीनका राष्ट्रपति सी चिनफिङलाई नेपालमा स्वागत गर्दै एमाले अध्यक्ष केपी ओली (फाइल फोटो)


सागर न्यौपाने
कात्तिक १०, २०७८ बुधबार २२:११, काठमाडौँ

नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विभिन्न मुलुकका ६२ दलका विशिष्ट अतिथिलाई निम्त्याएको छ। भव्य रुपमा महाधिवेशन गर्ने योजनामा रहेको एमालेले चीन, भियतनाम, उत्तर कोरिया, लाओस र क्युबा जस्ता कम्युनिस्ट मुलुकबाट उच्च तहका नेताहरु उपस्थित हुने अपेक्षा गरेको छ। 

भदौ १ गते एमालेले विभाजित भएपछि गर्न लागेको महाधिवेशनमा विदेशी पाहुनाहरु उल्लेख्य मात्रामा उपस्थित गराउने तयारी गरेको छ। त्यसका लागि चार दिनअघि नै एसिया, युरोप, ल्याटिन अमेरिका, अफ्रिकाका पार्टीलाई पत्राचार गरिएको छ। ती मुलुकबाट कम्तीमा २/२ जना अतिथि पठाउन सम्बन्धित पार्टीका विदेश विभागमार्फत पत्राचार गरिएको केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले बताए।

‘हामीले मित्रपार्टी, भाइचारा पार्टी र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका सबै राष्ट्रमा आतिथ्यका लागि पत्राचार गरेका छौँ,’ भट्टराईले नेपालखबरसँग भने, ‘उहाँहरुको जवाफ प्रतीक्षा गरिरहेका छौँ।’

भारत, बंगलादेश, श्रीलंका, पाकिस्तानका कम्युनिस्ट पार्टी र ती देशमा रहेका सत्तारुढ दललाई पनि महाधिवेशनमा निम्त्याइएको छ।भारतमा रहेका सबै कम्युनिस्ट पार्टीलाई महाधिवेशनमा अतिथि बन्न निम्तो पठाइएको एमालेको विदेश विभागले जनाएको छ। 

यस्तै बंगलादेश, श्रीलंका, जापान, ग्रिस, टर्की, पोर्चुगल, इटली, स्पेन, जर्मनी, साइप्रस, दक्षिण अफ्रिका, ब्राजिलका कम्युनिस्ट पार्टीलाई पनि पत्र पठाइएको छ। 

यसैगरी आइक्यापमा आवद्ध विभिन्न्न मुलुकका पार्टीहरुलाई पनि महाधिवेशनको अतिथि बन्न पत्राचार गरिएको छ। भारतको भारतीय जनता पार्टी, कांग्रेस आई, समाजवादी पार्टी, जनता दल युनाइटेड, कम्बोडिएन पिपुल्स पार्टी, अवामी लीग, श्रीलंका फ्रिडम पार्टी, अफ्रिकन नेसनल कंग्रेस, पाकिस्तान पिपुल्स पार्टी, मुस्लिम लिग अफ पाकिस्तान र पाकिस्तानको सत्तारुढ दल पीटीआईलाई पनि निम्तो पठाइएको छ।

यसैगरी अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, मलेसिया, थाइल्यान्ड, फिनल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, सिंगापुर, स्विडेन, नर्वे र बेल्जियममा पनि निम्तो पठाइएको एमाले विदेश विभागले जनाएको छ। त्यस आधारमा विभिन्न मुलुकका ६२ वटा दलहरुलाई पत्राचार भएको छ।

एमालेका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले पत्राचार गरिएका प्रत्येक पार्टीबाट २ जना प्रतिनिधि उपस्थित हुने विश्वास लिए। 

‘हामीले पत्राचार गरेका प्रत्येक पार्टीबाट २ जना प्रतिनिधिको भौतिक उपस्थिति हुने अपेक्षा छ,’ रिजालले भने, ‘कोभिडका कारण सबै उपस्थित नहुँदा पनि ती देशबाट प्राप्त हुने शुभकामना सन्देश नै हाम्रा लागि महत्वपूर्ण हुनेछ।’

महाधिवेशनमा सहभागी हुन आएका राष्ट्रका अतिथिलाई त्रिभुवन विमानस्थलबाट स्वागत गरेर चितवन लैजाने व्यवस्था मिलाइनेछ।

त्यसका लागि बिहीबार बस्ने स्थायी कमिटी बैठकले अतिथि सत्कार उपसमिति गठन गर्ने सम्भावना छ।

कति हुन्छन् प्रतिनिधि ?
नारायणी किनारमा मंसिर १० गते हुने खुला सत्रमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य राखेको एमालेले बन्द सत्र भने सौराहामा गर्दैछ।

बन्द सत्रमा सबै वर्ग, क्षेत्र, लिङ्गको आधारमा समानुपातिक प्रतिनिधित्व गराई प्रतिनिधि चयन गराइने केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

‘अहिलेसम्म ३ हजार प्रतिनिधि हुने अनुमान थियो तर त्यो संख्या बढ्छ,’ तामाङले नेपालखबरसँग भने।

अहिलेसम्म एमालेको सदस्य संख्या ६ लाख ३३ हजार पुगेको छ। यो संख्या बढाएर ७ लाख पुर्याउने तयारी छ।

प्रतिनिधि छनोट गर्ने विधि भने बिहीबार बस्ने स्थायी कमिटी बैठकले तय गर्ने र त्यसलाई कात्तिक १२ गते बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।

‘सदस्य संख्याका आधारमा प्रतिनिधि चयनको विधि बन्छ, भोलि ४ बजे बस्ने स्थायी कमिटी बैठकले कति सदस्य बराबर कति पठाउने भन्ने प्रस्ताव बनाउँछ, त्यसलाई पर्सि बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्छ,’ तामाङले भने।

एमालेले वडा र पालिका अधिवेशन सकिसकेको छ। प्रतिनिधि चयनकै लागि उसले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरे पनि जिल्ला अधिवेशन गरेको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .