नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झण्डै चार सातादेखि न्यायालयमा देखिएको विवादमा नबोल्न नेताहरुलाई निर्देशन दिएका छन्।
आफ्नै निवास बूढानीलकण्ठमा आइतवार बसिरहेको बैठकमा नेताहरुले अदालतमा देखिएको विवादबारे कुरा उठाएपछि देउवाले यसबारे नबोल्न रुलिङ गरेका हुन्।
पदाधिकारी र पूर्वपदाधिकारी बैठकलगत्तै बसेको बैठकमा नेताहरु डा. रामशरण महत र गगन थापाले अदालतको विवादमा कांग्रेसले बोल्न ढिला गर्न नहुने मत राखेका थिए।
'केन्द्रीय समिति बैठकको सुरुमै डा. महतले अदालतबारे बोल्नुपर्ने कुरा उठाउनुभयो', सहभागी एक नेताले नेपालखबरसँग भने 'तर सभापति एवम् प्रधानमन्त्री देउवाले यसबारे अहिले नबोलौँ भन्दै नेताहरुलाई रोक्नु भयो।'
डा. महतले अदालतको विवादमा कांग्रेस बोल्नुपर्ने भनेपछि सभापति देउवा झर्किएका थिए। तर त्यसपछि अर्का नेता गगन थापाले पनि अदालतको विवादमा बोल्नै पर्ने अडान राखे।
गगनलाई पनि रोक्दै देउवाले झर्किँदै 'अहिले यो विषयमा नबोलौँ भनिसकेँ त', भन्दै रोकेका थिए। गगनले बैठकमा भनेका थिए, 'हामी यो विषयमा भाग्न मिल्दैन, कांग्रेसले यसबारेमा बोल्नै पर्छ।'
महत र थापालाई बीचमै रोकिसकेपछि अहिले अदालतको विषयमा नबोल्न नेताहरुलाई निर्देशन नै दिए। 'अदालतको विषयमा अहिले हामी नबोल्ने हो', देउवाले भने, 'सबैले सुन्नुहोला अहिले हामी बोल्ने पक्षमा छैनौँ।'
Shares
प्रतिक्रिया