‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको भनी दिएको प्रतिक्रियाप्रति प्रदेश २ सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आपत्ति जनाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले सोमबार जनकपुरधाममा सञ्चारकर्मीलाई दिएको प्रतिक्रिया अपरिपक्व र भ्रामक भएको भन्दै उनले आपत्ति जनाएका हुन्।
साइकल खरिद प्रकरणको विषय अझै अनुसन्धानकै क्रममा रहेको अवस्थामा अख्तियारका एकाइ प्रमुखबाट यस्तो अभिव्यक्ति आउनु संवैधानिक निकायको गरिमा र परिपक्वतामाथि नै प्रश्नचिन्ह खडा गरेको प्रदेश सरकारका प्रवक्ता साहले बताए।
साइकल खरिद गरिएको विषयमा हालसम्म कसैसँग सोधपुछ समेत नगरिएको अवस्थामा भ्रष्टाचार भएकै हो भनी वक्तव्यबाजी गरिनुले सम्मानित न्यायालयका क्षेत्राधिकारलाई समेत प्रभावित पार्न खोजेको सरकारका अर्थमन्त्री समेत रहेको प्रवक्ता साहले टिप्पणी गरेका छन्।
आयोगका बर्दिवास प्रमुखको भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्षसम्बन्धी धारणाले सरकारको छवि धमिल्याउन खोजेको भन्दै उनले खेद समेत व्यक्त गरेका छन्।
अनुसन्धान पश्चात अभियोजन गर्ने वा नगर्ने अधिकार आयोग अर्थात् प्रमुख आयुक्तसहित आयुक्तहरूको हुने भएकोले बर्दिवास प्रमुखको अभिव्यक्ति आयोगको मान्यता विरुद्ध रहेको प्रवक्ता साहले प्रतिक्रिया जनाएका छन्।
अख्तियारले अभियोजन गर्ने मुद्दामा प्रारम्भिक भ्रष्टाचार भएको देखिएमा विशेष अदालतले थुनामा पठाउने वा धरौटी लिएर छाड्ने र त्यस्तो नदेखिए साधारण तारेखमा छाड्ने कानुनी व्यवस्था स्मरण गर्न समेत आग्रह गरेका छन्।
आयोगका बर्दिवास प्रमुखको अभिव्यक्तिको विषयमा मातहतका कार्यालयलाई निर्देशन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराइने अर्थमन्त्री समेत रहेका प्रवक्ता साहले प्रदेश सरकारको तर्फबाट धारणा सार्वजनिक गरेका छन्।
गत असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयबाट साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो।
यो पनि : मुख्यमन्त्री कार्यालयले गरेको साइकल खरिदमा भ्रष्टाचार देखियो : अख्तियार
Shares
प्रतिक्रिया