जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई अनमावीय व्यवहार गरेका सीके राउत नेतृत्वकाे जनमत पार्टीका १७ जना नेता/कार्यकर्ता धरौटीमा रिहा भएका छन्।
धनुषा जिल्ला अदालतले १० जनालाई ५०/५० हजार र ७ जनालाई १/१ लाख रुपैयाँ धरौटी राखेर रिहा गर्न दिएकाे आदेशबमाेजिम छाडिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले नेपालखबरलाई जानकारी दिए। पक्राउ परेको २६ दिनपछि मंगलबार साँझ उनीहरुलाई रिहा गरिएको हाे।
अदालतको आदेशअनुसार जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेशकुमार यादव, अमरनाथ साह र सुन्दर मण्डललाई रिहा गरिएकाे प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।
रिहा हुनासाथ उनीहरूले साँझ जनकपुरमा विजय जुलुस गरेका छन्।
यही कात्तिक ४ गते खानेपानी तथा ढलनिकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई उनीहरूले कार्यकक्षबाटै थुतेर अर्धनग्न बनाउँदै हिलाे दली जकपुर बजार घुमाएका थिए।
सोही क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट उनीहरूविरुद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको थियो।
जनमत पार्टीका अध्यक्ष सीके राउत बस्ने डेरा जनकपुरधाम उपमहानगरपालिका ८ बलबाटोलस्थित ढलनिकासको समस्याको विषयमा पटकपटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत बेवास्ता गरेको भन्दै उनीहरुले निमित्त प्रमुख कुशवाहालाई त्यसरी अमानवीय व्यवहार गरेका थिए।
याे पनि : मधेसमा किन मौलाउँदै छ सिके राउत शैली?
Shares
प्रतिक्रिया