वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको दाबी गरेका छन्।
बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका हुन्।
उनले नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको बताए।
उनले भने, ‘आज प्रधानन्यायाधीशको सिट खालि छ। प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ। कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो। तपाई र मैले खालि गरिसक्यौँ, कसरी खालि गर्यौँ, खालि भइसक्यो। खालि अर्को मनोनयन गरेका छैनन्। तपाई र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ। राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ।’
वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताए। केही न्यायाधीशहरु इजलास बस्न लागेको तर्फ इंकित गर्दै उनले न्यायाधीशहरूले मात्रै अदालत चलाउन नसक्ने बताए। प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलाशमा बस्ने न्यायाधीश दूषित भएको टिप्पणी उनले गरे। उनले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन सोध्नका लागि न्यायाधीशहरूलाई आग्रह पनि गरे।
उनले आफूहरु भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पारे। वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताए। उनले भने, ‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ। त्यो ऐतिहासिक हुन्छ। भ्रष्टाचार गरेका कुरासहित दर्ता गर्नुपर्छ। भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ। संसदमा पुरा पोइन्टसहित बुलेटमा, यिनका घरजग्गासहित।’
Shares
प्रतिक्रिया