नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अब आफू उम्मेदवारीबाट पछि नहट्ने बताएका छन्।
चाक्सीबारीस्थित निवासमा बिहीबार बिहान भएको भेटमा उनले नेता पौडेलसँग अब आफू उम्मेदवारीबाट पछि हट्न नमिल्ने बताएका हुन्।
‘आज बिहान रामचन्द्र दाइ आउनुभयो। लामो कुराकानी भयो,’ सम्पादकसँगको छलफलका क्रममा बिहीबार दिउँसो नेता सिंहले भने, ‘दाइ तपाईं अभिभावक भएर बस्नुस्। तपाईंको गाइडेन्समा हिँड्छौँ। मैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेँ। अब पछि हट्दिनँ।’
सिंहले १४ औँ महाधिवेशनबाट सभापतिमा विजयी भएपछि आगामी कार्यक्रम सार्वजनिक गर्ने बताएका छन्। उनले सभापतिमा विजयी भएपछि आगामी कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन्।
‘महाधिवेशन सकिएपछि बधाई दिँदै कार्यक्रम सार्वजनिक गर्छु,’ नेता सिंहले भने। उनले आफू सभापतिमा विजयी भएपछि तत्काल विभाग गठन गर्ने, ६ हजार ७ सय ४३ वडामा बैठक राखेर कार्यक्रम तय गर्ने पनि बताए।
‘सबै वडामा गण्यमान्य मान्छे राखी वर्कसप राखी सुझाव लिन्छु,’ सिंहले भने, ‘पालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ग्रास रुटबाट आएको सुझावबारे छलफल गर्छु।’
छलफलबाट आएको रिपोर्ट केन्द्रीय कार्यसमितिमा छलफल गरेर प्रतिज्ञा पत्र बनाउने र चुनाव अघि उक्त प्रतिज्ञा पत्र जारी गर्ने आफ्नो योजना रहेको सिंहले बताए।
‘फाइनल रिपोर्ट केन्द्रीय कार्यसमितिमा छलफल गराई प्रतिज्ञा पत्र बनाउँछु। चुनावअघि प्रतिज्ञा पत्र जारी गर्छु,’ उनले भने, ‘प्राप्त अधिकार संस्थागत गर्दै नयाँ उपलब्धिका लागि कार्यक्रम जारी गर्छु।’
Shares
प्रतिक्रिया