नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे निर्णय गर्न डिसेम्बर १४ सम्मको 'डेडलाइन' दिएका छन् ।
शुक्रबार दिउँसो प्रचण्डसँग माओवादी मुख्यालय पेरिस डाँडामा भेट गर्दै लुले एमसीसी परियोजनाबारे निर्णय गर्न सो डेडलाइन दिएको स्रोतले जनाएको छ।
त्यसको जवाफमा अध्यक्ष प्रचण्डले एमसीसीको सुरुको डकुमेन्ट परिवर्तन भएकोले शंका जन्माएको र त्यसले नेपालमै पनि विवाद सिर्जना गराउन भूमिका खेलेको बताएका थिए ।
‘एमसीसीबारेबारे तपाईंहरुले छिटो निर्णय गर्नुभएन भने हामी फिर्ता लैजान्छौं,’ लुले प्रचण्डलाई भने, ‘अरु देशले मागेका छन्, तपाईंहरुलाई धेरै कुर्न सक्दैनौँ, डिसेम्बर १४ सम्म यसबारे निर्णय भइसकोस्।’
जवाफमा प्रचण्डले एमसीसीको डकुमेन्टमा परिवर्तन गरिएको विषयलाई स्वीकार गर्न गाह्रो परेको बताउँदै राष्ट्रिय सहमति नबनी निर्णय गर्ने बताएको स्रोतले उल्लेख गरेको छ।
प्रचण्डले सम्झौताभन्दा पछाडि इन्डो प्यासिफिक सैन्य रणनीतिसँग जोडिएको विषयलाई संशोधन नगरेसम्म पास गर्न समस्या हुने बताएको स्रोतले जनाएको छ।
'एमसीसीको सुरुको जुन डकुमेन्ट छ, त्यसमा पछि परिमार्जन गरेर संसदबाट पास गर्ने लगायतका विषय राखिएको रहेछ यसले शंका जन्मायो,’ प्रचण्डले लुलाई भने, ‘त्यो विषयमा तपाईंहरुबाट प्रष्ट धारणा आउनुपर्छ। हामी राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र पत्रकार लगायतसँग छलफल गर्छौं र राष्ट्रिय सहमति बनाएर जानकारी दिन्छौं।’
प्रचण्डले वैदेशिक सहयोग लिने कुरामा नेपाल सधैँ तयार रहेपनि सर्तसहित सहयोग लिने कुरा भने गर्न नसकिने बताएको स्रोतले दाबी गर्यो ।
‘हामी सबै देशसँग सहयोग लिन्छौँ, हामीलाई जसले गरेको सहयोग पनि स्वीकार छ तर, सर्त राखिएपछि समस्या हुन्छ त्यसले राष्ट्रिय सहमति नजुटाइ अघि बढ्नु राम्रो होइन,’ प्रचण्डले लुलाई जवाफ दिए ।
उनले एमसीसीको विषयलाई सकारात्मक ढंगले जानुपर्ने भएकोले दलहरुबीच छलफल गरेर मात्रै साझा निष्कर्ष निकाल्ने पनि बताए ।
‘पार्लियामेन्टमा गयो भने भोटिङ हुन्छ, यस र नो भन्ने हुन्छ, हामी दलहरूसँग छलफल गरेर साझा निष्कर्ष निकाल्छौँ, प्रचण्डले भने ।
प्रचण्डको सचिवालयले पनि अमेरिकी सहायक विदेशमन्त्रीसँगको भेटमा दुईदेशीय सहकार्य, नेपालीलाई रोजगारी दिने विषय र एमसीसीको विषयमा छलफल भएको जानकारी दिएको छ।
'एमसीसीका विषयमा उहाँहरुको चासो थियो', प्रचण्डका स्वकीय रमेश मल्लले भने, 'दुई देशको हित, अमेरिकामा रहेका नेपालीको रोजगारीको अवस्थाबारे जिज्ञासा राख्नुभयो। उहाँहरुले नेपालीलाई अमेरिकामा रोजगारीमा कुनै समस्या नपार्ने जवाफ दिनुभयो।’
लु सहितको टोली बुधबार तीन दिने नेपाल भ्रमणको लागि नेपाल भ्रमणमा आएको हो। टोलीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको थियो। मन्त्रीसहितको टोली शुक्रबारै अमेरिका फर्किँदैछन्।
Shares
प्रतिक्रिया